+
+
Shares

विपत्तिमा मातृभूमिको पीडासँगै बेलायतका नेपाली, राहत जुटाउँदै

नवीन पोखरेल नवीन पोखरेल
२०८३ भदौ १९ गते ८:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेलायतस्थित नेपाली संस्थाहरूले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा करोडौँ रुपैयाँ सहयोग गर्ने र जम्मा गर्ने निर्णय गरेका छन्।
  • तमुधिं यूकेले १ करोड १ हजार रुपैयाँ, एनआरएनए यूकेले झन्डै ५२ लाख रुपैयाँ र साउथ वेस्ट नेपाली समाज यूकेले १० लाख ३५ हजार रुपैयाँ जम्मा गरेको छ।
  • बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले नेपालमा राहत र उद्धार कार्यमा सहयोग गर्न ५ मिलियन पाउन्ड उपलब्ध गराउने घोषणा गरेका छन्।

लन्डन । दशकअघिको महाभूकम्प होस् वा कोभिड महामारी र अहिलेको भोटेकोशी बाढीको वितण्डा । मातृभूमिले विपद् सामना गरिरहँदा बेलायतस्थित नेपाली डायसपोरा समेत त्यो पीडाबाट अलग रहन सक्दैन् भन्ने उदाहरण यसपटक पनि प्रमाणित भएको छ ।

२६ अगस्ट बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍यायो । बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र आसपासका नदी किनारका क्षेत्रहरू गम्भीर रूपमा प्रभावित भएका छन्।

नेपाल सरकार र छिमेकी राष्ट्रहरू खोज, उद्धार, सुरक्षित स्थानान्तरण तथा आपतकालीन राहतका लागि जुटिरहेका बेला बाढी पीडितका लागि बेलायतका नेपालीले समेत मन खोलेर आर्थिक सहयोग प्रदान गरेका छन् । चन्दा संकलन कार्य जारी छ । व्यक्ति र संस्थापिच्छे चन्दा संकलन थालिएकाले कति रकम नेपाल ट्रान्सभर भयो वा उठ्दैछ यकिन गर्न असहज छ ।

बेलायतको प्रभावशाली नेपाली संस्था तमुधिं यूकेले बाढीपीडितका लागि एक करोड रुपैयाँ बढीको आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

संस्थाका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा मंगलबार साँझ बसेको कार्यसमितिको आकस्मिक बैठकले १ करोड १ हजार राहत सहयोग गर्ने निर्णय गरेको हो ।

सहयोग रकम अब चाँडै नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

गत आइतबार सम्पन्न नेपाली मेलाबाट भएको बचत र यही सेप्टेम्बर ११ देखि १३ तारिखसम्म तय च्यारिटी ट्रेल वाकर इभेन्टबाट संकलन हुने कोष समेत बाढीपीडित सहयोगका लागि जम्मा गरिने भएको छ ।

बेलायतमा क्रियाशील दुईवटा एनआरएनए यूकेले आ-आफ्नै ढंगले चन्दा संकलन गरिरहेका छन् ।

राजेन्द्र पुडासैनी नेतृत्वको एनआरएनए यूकेले गोफण्डमीमार्फत झन्डै ५२ लाख रुपैयाँ संकलन गरिसकेको छ । बढीमा एक करोड रुपैयाँसम्म नेपाल प्रधानमन्त्री राहत कोषमा पठाउने संघको योजना छ ।

प्रेम गाहामगर अध्यक्ष रहेको एनआरएनए यूकेले पनि गोफण्डमीमार्फत र छुट्टै चन्दा संकलन गरिरहेको छ । गाहामगरले बेलायतमा आफू खुशी संकलित रकम दुरुपयोग रोक्न ‘वाचडग’ को काम गरिरहेको जिकिर गर्दै संघले प्रभावित क्षेत्रमै गएर राहत तथा पुनर्स्थापनामा सघाउन लागेको बताए ।

साउथ वेस्ट नेपाली समाज यूकेले बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा १० लाख ३५ हजार रुपैयाँ जम्मा गरेको छ ।

प्राकृतिक विपत्तिमा मातृभूमिप्रति आफ्नो सामाजिक दायित्व निर्वाह गर्दै उक्त रकम प्रधानमन्त्री राहत कोषमा पठाइएको समाजका अध्यक्ष किसान जीसीले बताए ।

बेलायतस्थित नेपाली चिकित्सकहरूको संस्था ‘नेप्लिज डक्टर्स एसोसिएसन यूके’ (एनडीए यूके) ले पनि पीडितहरूको सहयोगका लागि ११ लाख नेपाली रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ ।

उता, गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष कुल आचार्यले आफ्नो व्यक्तिगत तथा होली काउ कम्पनीको तर्फबाट ११ लाख ११ हजार एकसय ११ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गरेका छन् ।

ब्रिज

इन्टरनेशनल एजुकेसनल कन्सल्टेन्सीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

लन्डनस्थित रेमिट्यान्स कम्पनी आइएमई लन्डनले १० लाख रुपैयां प्रदान गरेको छ । यो सहयोगबाहेक बेलायतबाट प्रधानमन्त्री राहत कोषमा रकम पठाउँदा कुनै शुल्क नलिने आईएमई लन्डनका निर्देशक कमल पौडेलले बताए ।

उनले आफू आवद्ध संस्था नेप्लिज ब्रिटिस कम्युनिटी युकेले १० लाख रुपैयाँ सहयोग गरिसकेको र थप १० लाख रुपैयाँ सहयोग संकलन गरिरहेको समेत जानकारी दिए ।

बेलायतको लेष्टर शहरमा अवस्थित ओजी इटालियन रेष्टुरेन्टले भोटेकोशी बाढी पीडितका लागि पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरेको छ ।

ओजी लिमिटेड अन्तर्गतका तीनवटै शाखा (ओजी सिम्पली इटालियन, बिस्ट्रो ओजी, र ओजी किबवर्थ) को म्यानेजमेन्ट टिम, कर्मचारीहरू र निर्देशक दयानिधि सापकोटाबाट उक्त रकम विपद्‌ व्यवस्थापन र पीडितहरूको तत्काल उद्धार तथा राहत कार्यका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो ।

त्यसमा निर्देशक दयानिधि सापकोटाले दुई लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेका थिए ।

‘विगतमा पनि हरेक दैवी प्रकोप तथा कठिन परिस्थितिहरूमा हातेमालो गर्दै आएको ओजी लिमिटेडले देशप्रतिको यो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिएको छ । यस अभियानमा ऐक्यबद्धता जनाई योगदान पुर्‍याउने व्यवस्थापन टिमका सदस्यहरू तथा सम्पूर्ण कर्मचारीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ’, निर्देशक सापकोटाले भने ।

चितवन एड ट्रस्ट (क्याट) यूकेले प्राकृतिक विपद् पीडितहरुको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

‘यो केवल आर्थिक सहयोग मात्र नभई विपद्मा परेका नेपाली दाजुभाई–दिदीबहिनीहरूप्रतिको हाम्रो ऐक्यवद्धता, जिम्मेवारी र मानवीय संवेदनाको प्रतीक हो,’ क्याट यूके अध्यक्ष राजु आचार्यले भने ।

उता, बाढीबाट ज्यान गुमाएकाहरूको सम्झनामा लन्डन बेक्सलीमा दीप प्रज्वलन तथा बाढीपीडितको सहयोगार्थ कोष संकलन गरिएको छ।

बेक्सली नेपाली समाजले बुधबार सांझ स्थानीय बरोका मेयर, काउन्सिलरलगायत १ सय ६० भन्दा बढीको सहभागितामा कार्यक्रम गरेको थियो ।

समाजले चन्दा अभियानबाट हालसम्म संकलित ६५ सय पाउण्ड (१३ लाख बढी) रकम तत्काल प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिने जनाएको छ ।

गल्कोट समाज यूकेले पाँच लाख रुपैयाँ बढीको सहयोग गरेको छ ।

समाजको आपतकालीन कोषबाट ५ लाख १५ हजार ७ सय ५८ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिसकिएको अध्यक्ष विष्णु चालिसेले जानकारी दिए ।

बेलायतस्थित हाम्रो गुठी यूकेले विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ४ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

संस्थाका संयोजक सुमन कुमार कुँवरको पहलमा संकलित रकम राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखास्थित राहत कोषको आधिकारिक खातामा जम्मा गरिएको हो ।

उता, ग्लोबल पर्वत समाजले भोटेकोशी बाढी पीडितका लागि तीन लाख पच्चीस हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ ।

समाजका अध्यक्ष लन्डनस्थित समाजसेवी दधि आचार्यले मातृभूमिमा प्राकृतिक विपत्ति पर्दा सामाजिक उत्तरदायित्व आत्मसाथ गर्दै सहयोग गरिएको बताए ।

पोखरेली मञ्च यूकेले पीडितहरूको राहत तथा पुनस्र्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले पाँच लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा प्रदान गरेको छ।

नेपालमा बाढीबाट प्रभावितहरुको उद्धार तथा राहतका लागि नेपाली समाज नटिङहमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ सय पाउन्ड (५ लाख रुपैयाँ बढी) सहयोग गरेको छ ।

समाजले पहिलो चरणमा संस्थागत कोषबाट सहयोग पठाएसंगै अब दोस्रो चरणमा समुदायको सहभागितामा थप सहयोग जुटाएर पठाइने जनाएको छ।

बेलायतमा एउटै समूहअन्तर्गत सञ्चालित म्याट्रिक्स ट्यालेन्ट्स र मिलानोयर इभेन्ट्सले नेपालका बाढी प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि संयुक्त रूपमा २ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

म्याट्रिक्स ट्यालेन्ट्सले १ लाख ५० हजार र मिलानोयर इभेन्ट्सले ५० हजार रुपैयाँ सहयोग गरेका हुन्।

बेलायतको लेष्टरस्थित श्रृजनशील लेष्टर नेपाल यूकेले बाढीपीडितका लागि २ लाख रुपैयाँ सहयोग गरेको छ। समाजका तर्फबाट सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा भइसकेको अध्यक्ष शिव पराजुलीले जानकारी दिए ।

शान्ति नेपाली समाज बेलायतले पनि रसुवा बाढी पीडितका लागि तत्काल दुई लाख पचास हजार रुपैयाँ पठाएको छ ।

चार भन्ज्याङ तमु समाज यूकेले विनाशकारी बाढीबाट प्रभावितहरुको राहत तथा उद्धारका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

समाजका अध्यक्ष दुर्गा गुरुङको अध्यक्षतामा मंगलबार बेलुका बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

समाजले बाढीपीडितका लागि तत्काल राहतका रूपमा पाँच लाख रुपैयाँ चार भन्ज्याङ तमु समाजकी चेली तथा सोही क्षेत्रकी जनप्रतिनिधि बिना गुरुङमार्फत नेपाल पठाइसकेको छ ।

बाँकी १० लाख रुपैयाँ चार भञ्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष क्याप्टेन देउबहादुर गुरुङको संयोजनमा नेपाल, बेलायत, हङकङ, युरोप, जापानलगायत सातवटा एकाइसँग समन्वय गरी स्वयंसेवी योगदानमार्फत संकलन गरिनेछ। उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने संस्थाले जनाएको छ ।

पासा पुचः गुथि यूकेले पनि १० लाख रुपैयाँ प्रधानमन्त्री कोषमा पठाउने निर्णय गरेको छ ।

सपोर्ट नेपाल यूकेले बाढी पीडितहरुका लागि १ हजार ५०० पाउण्ड सहयोग गरेको छ । ए-स्टार फाइनान्सियल सलुसन्सले राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले एक लाख रुपैयाँ सहयोग गरेको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

नेप्लिज लेडिज कम्युनिटी हन्स्लो (एनएलसीएच), लन्डनले यस वर्षको तीज मनोरञ्जनको सट्टा च्यारिटीमा परिणत गरेर मनाएको छ ।

संस्थाले यसपटक नेपालमा आएको प्राकृतिक विपद्‍बाट प्रभावित नागरिकहरूको सहयोगका लागि कार्यक्रम 
‘च्यारिटी तीज’का रुपमा आयोजना गरेको हो ।

लन्डनस्थित नेपाली दूतावासले विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका लागि स्वेच्छिक आर्थिक सहयोग प्रदान गर्न सबैमा अपिल गरेको छ।

दूतावासले आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको अपिलमा विपद्प्रति ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्न आह्वान गरिएको हो।

रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिले देश विदेशबाट अर्बौ रकम जम्मा भइसकेको छ ।

५ मिलियन पाउन्ड सहयोग गर्ने बेलायतको घोषणा

बाढी लगत्तै बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले नेपालमा राहत तथा उद्धार कार्यलाई सहयोग गर्न ५ मिलियन पाउन्ड उपलब्ध गराउने घोषणा गरेका थिए ।

नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्ध तथा कठिन समयमा एकअर्कालाई गरेको सहयोग प्रधानमन्त्री बर्नहमले स्मरण गरेका छन्।

उनले विगतमा बेलायतलाई आवश्यकता परेको बेला नेपालले सहयोग गरेको भन्दै अहिले नेपाललाई आवश्यक परेको बेला सहयोगका लागि बेलायत तयार रहेको जनाएका छन् ।

लेखक
नवीन पोखरेल

नवीन पोखरेल अनलाइनखबरका लागि बेलायतका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?