+
+
Shares

बेलायतमा फैलिएको डढेलो नियन्त्रणका लागि गोर्खा परिचालन

बेलायत यतिखेर अत्यधिक गर्मीको लहर (हिटवेभ), खडेरी र डढेलोबाट आक्रान्त बनेको छ । प्रधानमन्त्री एण्डी बर्नह्यामले आवश्यक परे अन्यत्र थप सैनिक तैनाथ गरिने वाचा समेत गरेको बीबीसीले जनाएको छ ।

नवीन पोखरेल नवीन पोखरेल
२०८३ साउन ३० गते १४:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेलायतमा अत्यधिक गर्मी र खडेरीका कारण फैलिएको डढेलो नियन्त्रण गर्न सरकारले दुई सय सैनिक परिचालन गरेको छ ।
  • डढेलोको जोखिम बढेपछि सरकारले डिस्पोजेबल बारबेक्यूको बिक्रीमा रोक लगाउँदै खुला आगो नबाल्न सर्वसाधारणलाई चेतावनी दिएको छ ।
  • सरकारले सुख्खा जुलाईको असरसँग जुध्न इङ्गल्याण्डका किसानलाई ६ करोड ५० लाख पाउण्डको आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।

३० साउन, लन्डन (बेलायत) । बेलायतमा अत्यधिक गर्मीसँगै परेको खडेरीबीच विभिन्न क्षेत्रमा डढेलो फैलिएपछि नियन्त्रणका लागि सैनिक परिचालन भएका छन् ।

देशभरि डढेलो नियन्त्रण गर्ने आपतकालीन टोलीलाई मद्दत गर्न करिब २ सय सैनिक तैनाथ गरिएको सरकारले जनाएको छ ।

साउथ वेल्समा उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउन ‘क्वीन्स वन गोर्खा लजिस्टिक रेजिमेन्ट’ का करिब एक सय जना सैनिकलाई ‘२२ इन्जिनियर रेजिमेन्ट’ को सहयोगमा परिचालन गरिएको हो ।

साथै, २० हजार लिटर पानी भण्डारण र ओसारपसार गर्न सक्ने क्षमता भएका चारवटा पानी बोक्ने ट्यांकरहरू पनि परिचालन गरिएको छ ।

प्रधानमन्त्री एण्डी बर्नह्यामले आवश्यक परे अन्यत्र थप सैनिक तैनाथ गरिने वाचा समेत गरेको बीबीसीले जनाएको छ ।

बेलायत यतिखेर अत्यधिक गर्मीको लहर (हिटवेभ), खडेरी र डढेलोबाट आक्रान्त बनेको छ ।

सरकारले शुक्रबार इङ्गल्याण्ड र वेल्सका लाखौं बासिन्दालाई फोनमा आपतकालीन चेतावनी सन्देश पठाएर डिस्पोजेबल बारबेक्यू, फायरपिट, आतिसबाजी, बगैंचामा घांस जलाउने उपकरण जस्ता आगो निम्त्याउन सक्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ ।

जनतालाई खुला आगो नबाल्न र चुरोट सावधानीपूर्वक फाल्न आग्रह गरिएको छ ।

गर्मीयाममा देशभर भएका गम्भीर डढेलोका लागि बार्बेक्यूहरू मुख्य जिम्मेवार रहेका सरकारको बुझाइ छ ।

निरन्तर गर्मीसंगै संयुक्त अधिराज्यका विभिन्न क्षेत्रमा डढेलो फैलिएपछि सरकारले डिस्पोजेबल (एकपटक प्रयोग गरेर फालिने) बार्बेक्यूहरूको बिक्रीमा अस्थायी रोक लगाएको छ ।

यस हप्ताको सुरुमा सरकारको आपतकालीन कोब्रा बैठकमा सम्भावित प्रतिबन्धबारे पहिलोपटक छलफल गरिएको थियो ।

सरकारले इङ्गल्याण्डका किसानहरूलाई खडेरीको सामना गर्न सघाउन ६ करोड ५० लाख पाउण्ड थप सहयोग गर्ने घोषणा गरेको छ ।

इङ्गल्याण्डमा हालै रेकर्ड गरिएको सबैभन्दा सुख्खा जुलाई महिनाको असरसँग जुध्न किसानहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले सरकारले उक्त आर्थिक सहयोग घोषणा गरेको हो ।

उक्त ६ करोड ५० लाख पाउण्डमध्ये ५ करोड पाउण्ड ’दिगो कृषि प्रोत्साहन २०२६’ कार्यक्रमका लागि र १ करोड ५० लाख पाउण्डसम्मको रकम खेतबारीमा पानी सञ्चय गर्ने पोखरी (रिजर्भवायर) निर्माणका लागि छुट्याइनेछ ।

साथै, सरकारले अनावश्यक अवरोध हटाउने र योजनासम्बन्धी निर्देशिका अद्यावधिक गर्ने लगायतका कदमहरू चालेर पानी सञ्चय गर्ने पोखरी निर्माण कार्यलाई सहज बनाउने भएको छ ।

नेशनल फायर चीफ्स काउन्सिलको तथ्याङ्क अनुसार यस वर्ष इङ्गल्याण्ड र वेल्समा कुल एकहजार १७ डढेलो रेकर्ड गरिएको छ, जुन गत वर्षको तथ्यांकसँग मेल खान्छ । इङ्गल्याण्ड र वेल्सका अग्नी नियन्त्रणहरूले शुक्रबार कयौं ठाउंमा आगलागी नियन्त्रण गर्न सास्ती खेपे ।

आगलागीका कारण वेस्ट मिडल्याण्ड्समा दर्जनौं घर ध्वस्त भएका छन् । वेल्सस्थित कार्मार्थेनसायरको ल्यान्डोभरी नजिकै विनाशकारी आगलागीपछि दर्जनौं घर खाली गरि सडकहरू बन्द गरेर अग्नि नियन्त्रक काममा खटिएका छन् ।

ह्याम्पसायरमा अग्नि नियन्त्रकहरूले आइतबार सुरु भएको वनमा लागेको डढेलो नियन्त्रण गर्न छैटौं दिन बिताए ।

उता, नोर्फोक फायर एण्ड रेस्क्यू सर्भिसले बिहीबार दिउँसो माउसहोल्ड हीथमा लागेको आगोसहित १६ आपतकालीन अवस्थासंग जुध्न संघर्ष गर्नुपरेको थियो ।

राजकुमार विलियमद्वारा धन्यवाद

बेलायती राजकुमार विलियमले बेलायतभर फैलिएको डढेलो नियन्त्रणमा खटिएका आपतकालीन सेवाकर्मीहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।

विलियमले एक विज्ञप्तिमा भनेका छन्, ‘बेलायतभरि डढेलोविरुद्ध लडिरहनुभएका अग्नि नियन्त्रकहरू, आपतकालीन सेवाकर्मीहरू र स्वयंसेवकहरूलाई धन्यवाद छ ।’

उनले डढेलोबाट प्रभावित सबै, विशेष गरी आफ्नो घर गुमाएका तथा समुदाय, घर र ग्रामीण क्षेत्रको सुरक्षाका लागि अथक प्रयास गरिरहेकाहरूप्रति सहानुभूति पनि प्रकट गरेका छन् ।

लेखक
नवीन पोखरेल

नवीन पोखरेल अनलाइनखबरका लागि बेलायतका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?