News Summary
Generated by OK AI. Editorially reviewed.- पोर्चुगलबाट बेलायत सरेका करिब ३ हजार नेपालीले करियर, शिक्षा र सुरक्षित भविष्यका लागि लन्डनसहित विभिन्न सहर रोजेका छन्।
- एनआरएनए पोर्चुगलका पूर्वअध्यक्ष कुबेर कार्कीले बच्चाहरूको भविष्यका लागि सन् २०२० अक्टोबरमा लन्डन बसाइ सरेको बताए।
- ‘नेपलिज पोर्चुगिज इन यूके’ले अगस्ट पहिलो साता उल्भरह्याम्प्टनमा चौथो वार्षिक भेला आयोजना गरी नेपाली पहिचान र सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गरेको थियो।
१० भदौ, लन्डन । एनआरएनए पोर्चुगलका पूर्वअध्यक्ष हुन् कुबेर कार्की । उनको पोर्चुगल बसाइ राम्रै थियो । व्यवसाय पनि राम्रैसँग चलिरहेको थियो । संघसंस्थामा पनि उत्तिकै सक्रिय थिए । तर, बेलायत युरोपेली युनियन (ईयू) बाट बहिगर्मन (ब्रेक्जिट) हुनै लाग्दा सन् २०२० अक्टोबरमा लन्डन सोझिए उनी ।
‘पोर्चुगलमा हावापानी र व्यवसाय गर्ने वातावरण पनि राम्रो थियो । त्यहाँ एकताबद्ध नेपाली समाज र सोसल सेक्युरिटी पनि थियो । तर बच्चाहरूको भविष्यका लागि अंग्रेजी बोलिने देश बेलायत आउने निर्णय गर्यौं,’ कार्कीले अनलाइनखबरसँग भने ।
एनआरएनए युगाण्डाका संस्थापक अध्यक्ष समेत रहेका कार्की नेपालदेखि नै हस्पिटालिटी क्षेत्रमा आवद्ध थिए । उनी कतार, कुबेत, इराकदेखि अफ्रिकामा समेत लामो समय बसे । तर, बेलायत अन्तिम गन्तव्य बन्यो ।
हाल म्यारियट क्यानरी वार्फ, लन्डनमा ‘फुड एन्ड बेभरेज म्यानेजर’ उनले इन्टर कन्टिनेन्टलमा समेत काम गरे ।
‘बेलायतमा सिप हुनेलाई उल्लेख्य अवसर छ’, लन्डन वेलिङ बस्ने कार्कीले भने, ‘पोर्चुगलबाट धेरै साथीहरू बेलायत बसाइ सर्नु भएको छ । यता आउनेहरूको जागिर र केही न केही उद्यम छ ।’
कोभेन्ट्री नेपाली समाजका ट्रष्टी एवं निवर्तमान महासचिव बाबुराम भुसाल पनि पोर्चुगलबाटै बेलायत आए सन् २०१८ मा ।
‘मौसम र लाइफ स्टाइल पोर्चुगलमै राम्रो थियो तर छोराछोरीको उच्च शिक्षाका लागि अंग्रेजी माध्यम रहेको बेलायत रोज्यौं’, भुसालले भने ।
गायकको परिचय समेत बनाएका भुसाल कोभेन्ट्रीमा सव-परिवार बस्छन् । भुसाल जस्तै पोर्चुगलबाट आएका धेरैजसो नेपाली इङ्गल्याण्डको वेष्ट मिडल्याण्ड्समा अवस्थित ऐतिहासिक शहर कोभेन्ट्रीमा बसोबास गरेका छन् । भुसालका अनुसार, कोभेन्ट्रीमा करिब दुई सय परिवारको बसोबास छ जो पोर्चुगलबाट बसाइ सरेका हुन् ।

उक्त शहर अटोमोटिभ (मोटरगाडीसम्बन्धी) विरासत तथा आकर्षक आधुनिक र भग्नावशेषमा परिणत क्याथेड्रलका लागि प्रसिद्ध मानिन्छ ।
ब्रेक्जिट अघि नै पोर्चुगलबाट बेलायत बसाइ सरेका नेपाली जनसंख्या झन्डै ३ हजार रहेको बेलायतवासी एनआरएनए आईसीसी प्रवक्ता तथा पर्यटन प्रवर्द्धन समिति संयोजक सोमनाथ सापकोटाले जानकारी दिए ।
करियरका लागि राम्रा अवसर, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच, विविधतापूर्ण समुदाय तथा आफ्नो परिवारका लागि सुरक्षित भविष्य निर्माण गर्ने उपयुक्त ठाउँ सोचेर ति नेपाली बेलायत बसाइ सरेका देखिन्छ ।
३१ डिसेम्बर २०२० अघि बेलायतमा बसोबास गरिरहेका युरोपेली संघका नागरिकहरूले ‘ईयू सेटलमेन्ट स्किम’ मार्फत आफ्नो बसोबासको अधिकार सुनिश्चित गर्ने अवसर पाएका थिए । यस स्किममा आवद्ध हुन बेलायत सरकारले अन्तिम समयसीमा जुन ३०, २०२१ तोकेको थियो जुन अहिले सकिइसकेको छ ।
बेलायतमा लगातार ५ वर्षसम्म बसोबास गरेका ईयू नागरिकहरूलाई ‘सेटल्ड स्टाटस’ प्रदान गरिएको छ जसले बेलायतमा स्थायी रूपमा बस्ने र काम गर्ने अधिकार प्रदान गर्छ ।
‘पोर्चुगिज नागरिकता प्राप्त गरेपछि धेरै नेपाली अन्य युरोपेली देशमा बसाइँ सरेका छन्। त्यसमध्ये हाल संयुक्त अधिराज्य आएका पोर्चुगीज नेपालीको संख्या झन्डै ३ हजार रहेको अनुमान गरिएको छ’, सापकोटा भन्छन्, ‘बेलायतबाहेक डेनमार्क, नर्वे, बेल्जियम, जर्मनी र अन्य युरोपेली देशमा बसाइ सर्ने पनि छन्।’
सन् १९९९ मा आफू पोर्चुगल छँदा करिब १० जना नेपाली रहेको स्मरण गर्दै सापकोटाले अहिले त्यहाँ नेपालीको जनसंख्या करिब ७० हजार रहेको बताए । ती नेपाली विशेष गरी, कृषि र होटल व्यवसायमा आवद्ध छन् ।
सन् २००८ सम्म पोर्चुगल बसेपछि डेनमार्क हुँदै अन्तिममा बेलायत आएका सापकोटा पोर्चुगलमा रहेको नेपाली समुदायको यात्राले युरोपभरि नै एक बृहत् नेपाली–पोर्चुगीज डायस्पोरा निर्माण गरेको बताउँछन् ।
‘विभिन्न देशमा बसोबास गरेपनि नेपाली–पोर्चुगिज समुदायले नेपाल र पोर्चुगल दुवैसँग बलियो सांस्कृतिक, भावनात्मक र सामाजिक सम्बन्ध कायम राखेको छ’, उनले भने ।

संगठित हुँदै नेपाली
आफ्नो साझा पहिचान संरक्षण गर्न र सामुदायिक सम्बन्धलाई अझ सुदृढ पार्न ‘नेपलिज पोर्चुगिज इन यूके’ का सदस्यहरूले युरोपभरि छरिएर रहेका परिवार र साथीभाइलाई एकै ठाउँमा ल्याउने उद्देश्यले वार्षिक भेला आयोजना गर्दै आएका छन्।
यस समुदायले अगस्ट पहिलो साता संयुक्त अधिराज्यको वेष्ट मिडल्यान्ड्सस्थित उल्भरह्याम्प्टनमा चौंथो वार्षिक ‘नेपलिज पोर्चुगिज भेला’ आयोजना गरेको थियो ।
उक्त भेलामा संयुक्त अधिराज्य, पोर्चुगल, डेनमार्क, नर्वे सहित अन्य युरोपेली देशबाट सहभागी भेला भएका थिए । भेलाले युरोपभरि रहेको नेपाली डायस्पोराको एकता, मित्रता र बढ्दो सुदृढतालाई प्रतिविम्बित गर्ने सापकोटाको धारणा छ ।
सो कार्यक्रमले परम्परागत नेपाली खाना, सांस्कृतिक प्रस्तुति, खेलकुद गतिविधि, पारिवारिक मनोरञ्जन र सामुदायिक अन्तरक्रियामार्फत नेपाली पहिचान तथा युवा पुस्तामाझ नेपाली भाषा, परम्परा र मूल्य मान्यताको प्रवर्द्धन पनि गरेको समूहको दाबी छ ।
प्रतिक्रिया 4