+
+
Shares

बेलायतस्थित अमेरिकी सैन्य शिविर नजिकैबाट ५ जना संदिग्ध व्यक्ति पक्राउ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती संदिग्धहरू पहिलेदेखि नै अनुसन्धानको घेरामा रहेको खुलासा गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १५:५७

बेलायती प्रहरीले इरानविरुद्धको अमेरिकी सैन्य कारबाहीका लागि प्रयोग हुँदै आएको बेलायती वायुसेनाको अखाडानजिकैबाट आइतबार पाँच जना संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती संदिग्धहरू पहिलेदेखि नै अनुसन्धानको घेरामा रहेको खुलासा गरेका छन् ।

‘बेलायतसँगको सहकार्यमा निकै उत्कृष्ट काम भएको छ । हामीले उनीहरूलाई निगरानी र अनुसन्धानमा राखेका थियौँ,’ पत्रकारसँग कुराकानी गर्दै ट्रम्पले भनेका छन्, ‘उनीहरू हाम्रो सैन्य अखडालाई ठूलो क्षति पुर्याउने योजनामा थिए । तर बेलायती पक्षसँगको संयुक्त प्रयास सफल भयो र हामीले उनीहरूलाई नियन्त्रणमा लियौँ ।’

इङ्गल्यान्डको दक्षिण–पश्चिममा रहेको ग्लोस्टरसायरस्थित ‘आरएएफ फेयरफोर्ड’ वायुसेना अखाडानजिकै तीनवटा संदिग्ध सवारी साधनहरू बेसतातर्फ गइरहेको सूचना प्रहरीले पाएको थियो ।

सशस्त्र प्रहरी टोलीले वेलफोर्ड गाउँनजिकै ती पुरुषहरूलाई नियन्त्रणमा लिएको हो । सुरुमा ‘एक्सप्लोसिव एक्ट’ अन्तर्गत पक्राउ गरिएका उनीहरूमाथि पछि ‘आतङ्कवाद ऐन’ को धारा ५ बमोजिम आतङ्ककारी कार्यको तयारी गरेको आशङ्कामा मुद्दा चलाइएको छ ।

बेलायती आतङ्कवाद विरोधी अधिकृत भिकी इभान्सका अनुसार सेनाको एक्सप्लोसिभ अर्डिनेन्स डिस्पोजल (ईओडी) ले जाँच गरिरहँदा सवारी साधन वरपर ४ सय मिटरको घेरा सिल गरिएको थियो । सुरक्षा सतर्कता अपनाउँदै सो क्षेत्रका करिब ८५ घरधुरीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

आरएएफ फेयरफोर्ड युरोपमा अमेरिकी वायुसेनाको मुख्य फर्वार्ड अपरेटिङ लोकेसन  हो । जहाँ अमेरिकी ५०१ औँ कम्ब्याट सपोर्ट विङ र ४२० औँ एयर बेस स्क्वाड्रन तैनाथ छन् ।

यसअघि गत जुलाईमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले आरएएफ फेयरफोर्डबाट उडान भर्ने अमेरिकी बी–१ बमवर्षक विमानहरूलाई औंल्याउँदै इरानी भूभागमा आक्रमण गर्न प्रयोग हुने जुनसुकै सैन्य बेसलाई आफ्नो ‘वैध निशाना’ बनाउने चेतावनी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?