+
+
Shares

एनपीएलको रौनक राजनीतिमा, शुभकामना दिन शीर्ष नेताहरूको होड

क्रिकेटको लोकप्रियता, राष्ट्रिय गौरव र युवा पुस्ताको आकर्षणले यसलाई राजनीतिक नेतृत्वका लागि पनि सार्वजनिक चासो व्यक्त गर्ने महत्वपूर्ण विषय बनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १० गते १४:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगको तेस्रो संस्करण सुरु भएसँगै प्रधानमन्त्री बालेन शाहदेखि शीर्ष नेतासम्मले सामाजिक सञ्जालमार्फत सफलताको शुभकामना दिएका छन्।
  • प्रधानमन्त्री बालेन शाहले सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा एनपीएलको उद्घाटन गर्दै नेपाली क्रिकेटलाई नेपालको सबैभन्दा ठूलो खेलकुद उत्सव भनेका छन्।
  • नेताहरूले एनपीएलले नेपाली क्रिकेटको विकास, युवा प्रतिभा पहिचान, खेल पर्यटन र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

१० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु भएसँगै राजनीतिक वृत्तमा क्रिकेटको चर्चा बढेको छ ।

प्रधानमन्त्री बालेन शाहदेखि प्रमुख राजनीतिक दलका शीर्ष नेतासम्मले सामाजिक सञ्जालमार्फत एनपीएलको सफलताको कामना गरेका छन् ।

सत्ताको नेतृत्व गरिरहेको दल रास्वपाका सभापति रवि लामिछानेदेखि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापासम्मले एनपीएलको सफलताका लागि शुभकामना दिएका छन् ।

शुभकामना दिनेमा पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईदेखि सभामुख डीपी अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमेत पर्छन् ।

कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेलले पनि क्रिकेट प्रतियोगितालाई लिएर सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

एनपीएलका अवसरमा नेताहरूबाट आएका सन्देशले खेलकुद अब खेल मैदानको प्रतिस्पर्धामा मात्र सीमित नरहेको देखाउँछ ।

क्रिकेटको लोकप्रियता, राष्ट्रिय गौरव र युवा पुस्ताको आकर्षणले यसलाई राजनीतिक नेतृत्वका लागि पनि सार्वजनिक चासो व्यक्त गर्ने महत्वपूर्ण विषय बनाएको छ ।

सामाजिक सञ्जालमा नेताहरूले सार्वजनिक सरोकारका विषयमा व्यक्त गर्ने धारणा उनीहरूको सार्वजनिक उपस्थितिको एउटा हिस्सा बनेको छ ।

एनपीएल : राष्ट्रिय उत्सव

नेताहरूको सन्देशमा खेलाडीको प्रदर्शन र प्रतियोगिताको सफलताको कामनासँगै नेपाली क्रिकेटको विकास, युवा प्रतिभाको पहिचान, खेल पर्यटन, राष्ट्रिय अर्थतन्त्र र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान विस्तार जस्ता विषयहरू समेटिएका छन् ।

प्रधानमन्त्री बालेनले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद उत्सवका रूपमा व्याख्या गर्दै छोटो समयमै यसले भव्य खेलकुद प्रतियोगिताको रूप लिएको बताएका छन् ।

क्रिकेटलाई शुभकामना दिँदै उनले फेसबुकमा लेखेका छन्, ‘नेपालको सबैभन्दा ठूलो खेलकुद उत्सव नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु हुँदैछ । छोटो समयमै एनपीएलले भव्य खेलकुद उत्सवको रूप लिन सफल भएको छ ।’

प्रधानमन्त्रीले प्रतियोगितामा सहभागी अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरलाई स्वागत गर्दै नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई शुभकामना दिएका थिए ।

‘लिगमा सहभागी हुन आएका सम्पूर्ण अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई हार्दिक स्वागत छ,’ उनले भनेका छन्, ‘साथै, यो सुन्दर खेलकुद उत्सवलाई सफल बनाउन जुटेका सम्पूर्ण नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई हार्दिक शुभकामना । नेपाली क्रिकेट अमर रहोस् ।’

प्रधानमन्त्री बालेनले सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुगेर प्रतियोगिताको उद्घाटन गरेका थिए । उनले खेलाडीहरूसँग परिचय गरी म्याच रेफ्रीलाई बल हस्तान्तरण गरेका थिए ।

प्रधानमन्त्रीले नेपाली क्रिकेटलाई अहिलेको उचाइसम्म पुर्‍याउन सहयोग गर्ने क्यानका पदाधिकारी तथा सदस्य, फ्रेन्चाइज टोली, प्रायोजक र व्यवस्थापनमा संलग्न सबैलाई धन्यवाद दिएका थिए ।

कांग्रेस सभापति थापाले नेपाली क्रिकेट यो उचाइसम्म आइपुग्न वर्षौंको संघर्ष, मिहिनेत र समर्पण जोडिएको उल्लेख गरेका छन् ।

‘नेपाली क्रिकेट आज जुन स्थानमा आइपुगेको छ, त्यसका पछाडि वर्षौंको संघर्ष, मिहिनेत र समर्पण जोडिएको छ,’ उनले खेलाडी, सहभागी टोली, क्यान र क्रिकेटप्रेमीहरूलाई शुभकामना दिँदै फेसबुकमा लेखेका छन् ।

सीमित स्रोतसाधन र अनेक कठिनाइका बीच क्रिकेटको विकासमा योगदान गर्ने खेलाडी, प्रशिक्षक तथा क्रिकेटप्रेमीलाई सम्झँदै सभापति थापाले नेपाली क्रिकेटले आगामी दिनमा थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।

रास्वपा सभापति लामिछानेले एनपीएललाई नेपाली खेलकुदको राष्ट्रिय महोत्सवका रूपमा चित्रण गर्दै प्रतियोगिताले नेपाली खेलकुदमा रहेको शक्ति र सम्भावना देखाएको उल्लेख गरेका छन् ।

‘नेपाली खेलकुदको राष्ट्रिय महोत्सव एनपीएलको तेस्रो संस्करण आज (सोमबार) देखि सुरु भएको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘यो सफलता नेपाली खेलकुदमा हाम्रो शक्ति र सम्भावनाको बलियो उदाहरण हो ।’

सभापति लामिछानेको सन्देशमा ‘हामी सक्छौं’ भन्ने आत्मविश्वासलाई विशेष जोड दिइएको छ । ‘यो सफलताले एउटै कुरा भन्छ कि ‘हामी सक्छौं’,’ उनले लेखेका छन्, ‘एनपीएल तेस्रो संस्करणको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु ।’

नेकपा संयोजक प्रचण्डले एनपीएलले नेपाली क्रिकेटको विकास, प्रतिभा पहिचान र अभिवृद्धिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

‘नेपाली क्रिकेटलाई आजको उचाइसम्म पुर्‍याउन योगदान गर्ने सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा क्रिकेटप्रेमीहरूलाई सम्मान गर्दै प्रतियोगिताले नेपाली क्रिकेटको विकास, प्रतिभा पहिचान र अभिवृद्धिमा थप योगदान पुर्‍याउने विश्वास लिएको छु,’ प्रतियोगिता सुरु हुनुअघि उनले फेसबुकमार्फत भनेका छन्, ‘सम्पूर्ण टोलीलाई उत्कृष्ट प्रदर्शनको शुभकामना ।’

पूर्वप्रधानमन्त्री भट्टराईले अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता र निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) जस्ता प्रविधिको प्रयोगले एनपीएललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन तथा नेपालमा खेल पर्यटनको विकास गर्न सघाउने अपेक्षा गरेका छन् ।

‘आईसीसी मान्यताप्राप्त एनपीएल क्रिकेटको तेस्रो सिजन अगुवा अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिता र अम्पायरको निर्णय रिभ्यु गर्ने ‘डीआरएस’ प्रविधिको प्रयोगसहित हुनु स्वागतयोग्य छ,’ उनले फेसबुकमार्फत शुकामना दिँदै भनेका छन्, ‘यसले नेपाललाई विश्वभर जनस्तरमा चिनाउन, नेपाललाई अन्तर्राष्ट्रिय खेलको नयाँ केन्द्रको रूपमा स्थापित गर्न र देशमा खेल पर्यटनको विकास गर्न उल्लेख्य भूमिका निर्वाह गर्नसक्छ ।’

भट्टराईले सोमबार उद्घाटन खेल सुरु हुनुभन्दा केही अघि प्रधानमन्त्री बालेनले लुम्बिनी लायन्सका खेलाडी शेर मल्लसँग हात मिलाइरहेको सहितका केही तस्वीरहरू राखेर फेसबुकमा लेखेका छन्, ‘एनपीएल–३ को पहिलो खेल रोचक रहोस् ! जसले जिते पनि असल खेल स्पिरिटले जितोस् ।’

यस्तै, सभामुख डीपी अर्यालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एक महिनासम्म सञ्चालन हुने एनपीएल नेपाली खेलकुद क्षेत्रको महत्वपूर्ण उत्सवका रूपमा स्थापित हुँदै गएको उल्लेख गरेका छन् ।

‘अघिल्ला दुई संस्करणको तुलनामा यस पटक थप चर्चित विदेशी खेलाडीहरूको सहभागिताले एनपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट जगतमा थप चर्चित बनाएको छ,’ सोमबार फेसबुकमा उनले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यताप्राप्त यस प्रतियोगिताले छोटो समयमै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान विस्तार गर्नु नेपाली क्रिकेटका लागि सुखद उपलब्धि हो । यसका लागि आयोजक क्यान धन्यवादको पात्र छ ।’

एनपीएलले नेपाली क्रिकेटको विकास, खेलकुद पर्यटन प्रवर्द्धन तथा राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने सभामुख अर्यालको विश्वास छ ।

‘प्रतियोगितामा सहभागी हुन नेपाल आउनुभएका सम्पूर्ण खेलाडी, कमेन्टेटर तथा क्रिकेटसँग आबद्ध सबैलाई हार्दिक स्वागत गर्दै सहभागी सम्पूर्ण टोलीको उत्कृष्ट प्रदर्शन र तेस्रो संस्करणको नेपाल प्रिमियर लिगको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु,’ उनले भनेका छन् ।

राष्ट्रिय सभा अध्यक्ष दाहालले पनि एनपीएलले व्यावसायिक क्रिकेटको विकास, खेलकुद पर्यटन र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउन सक्ने उल्लेख गरेका छन् ।

‘खेलकुदले राष्ट्रिय एकता, अनुशासन, सद्भाव र स्वस्थ प्रतिस्पर्धाको भावना सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ,’ उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘एनपीएलले नेपाली युवामा खेलकुदप्रतिको आकर्षण र आत्मविश्वास अभिवृद्धि गर्दै देशको गौरव र पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा थप उचाइमा पुर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ ।’

कांग्रेसका वरिष्ठ उपसभापति शर्माले काठमाडौंमा सुरु भएको एनपीएलसँगै अजरबैजानमा जारी १५ वर्ष मुनिको विश्वकपमा नेपालले ब्राजिलविरुद्ध गरेको गोलप्रति खुसी व्यक्त गरेक छन् ।

शर्माले एनपीएलले सबैको मन जोडिरहेको भन्दै प्रतिस्पर्धी ८ वटै टिमलाई शुभकामना दिएका छन् ।

‘नेपाल प्रिमियर लिग एनपीएलले हामी सबैको मन जोडिरहेको राष्ट्रिय उत्साहको यो बेला सबै प्रतिस्पर्धी टिमहरूलाई शुभकामना,’ उनले फेसबुकमा लेखेका छन्, ‘सँगैमा अजरबैजानमा जारी १५ वर्ष मुनिका युवाहरूको फिफा यु–१५ वर्ल्डकपको मैदानमा रहेका हाम्रा किशोरहरूलाई शुभकामना ।’

कांग्रेस महामन्त्री प्रदीप पौडेलले एनपीएलमा सहभागिता जनाउने सम्पूर्ण टिम तथा खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शनको शुभकामना दिएका छन् ।

उनले आजको समयमा खेलकुद मनोरञ्जनको माध्यमसँगै युवा प्रतिभाको प्रस्फुटन र समग्र राष्ट्रको गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा उचो बनाउने सशक्त माध्यम बनेको उल्लेख गरेका छन् ।

एनपीएल जस्ता ठूला प्रतियोगिताहरूले खेल संस्कृतिको विकास र युवाहरूका लागि नयाँ सम्भावनाको सिर्जनासँगै राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन, खेल पर्यटन विस्तार गर्न र देशको प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने महामन्त्री पौडेलको भनाइ छ ।

‘एनपीएलको तेस्रो संस्करणको पूर्णसफलताको हार्दिक शुभकामना व्यक्त गर्दै मैदानमा उत्रिने सम्पूर्ण खेलाडी, व्यवस्थापक, आयोजक तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण क्रिकेटप्रेमीहरूमा हार्दिक शुभकामना,’ उनले फेसबुकमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?