२२ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँका नरेन्द्र कार्कीले व्यावसायिक रुपमा मौरीपालन गरेर आम्दानी लिँदै आएका छन् ।
मेलिफेरा जातको मौरीपालन गरेका कार्कीले वर्षमा पाँच क्विण्टल मह उत्पादन गर्दै आएका छन् । उत्पादित मह स्थानीय बजारमै सहजै बिक्री हुने भएकाले बजार खोजी गर्दै हिँड्नु नपरेको कार्कीले बताए ।
गत वर्ष मात्रै मह बिक्री गरेर चार लाख आम्दानी भएको उनले बताए । चालू आवको हालसम्म ५० हजारभन्दा बढीको मह बिक्री भएको उनले बताए ।
‘महमा गुणस्तर दिन खोजेका छौँ’, उनले भने, ‘महमा कुनै किसिमको मिसावट नहुँदा सहजै घरबाट मह बिक्री हुने गरेको छ ।’ महको माग अत्यधिक भएपनि मागअनुसार मह पुर्याउन नसकिएको कार्कीको भनाइ छ ।
चार वर्षदेखि मौरीपालन गर्दै आउनुभएका कार्कीले नगरपालिका कार्यालयबाट रु चार लाख ५० हजार अनुदान पाएपछि उत्साहित भएका हुन् । अनुदान रकमबाट आधुनिक घार र उपकरण खरीद गरिएको बताइएको छ ।
कार्कीले भने, ‘मौरीपालनलाई विगतमा लगानी नहुँदा समस्या थियो, अनुदान रकम पाएपछि आधुनिक तरिकाले मौरीपालन गरी उत्पादनसमेत बढी लिन सकिएको छ ।’
विगतको तुलनामा मौरीपालनको आधुनिक तरिका सिकेपछि उत्पादन बढ्दै गएको उनको भनाइ छ । कार्कीसँग ६० मौरीका घार छन् ।
कार्की कुस्तीका राष्ट्रिय खेलाडीसमेत हुन् । मौरीले मह सङ्कलन गर्न सहज बनाउन चिउरी लगायतका बोटबिरुवा खेर गएको जग्गामा रोपेर प्रयोगमा ल्याउने उहाँको योजना छ । मौरीपालनसँगै उनले डेरीको व्यवसायसमेत शुरु गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया

प्रतिक्रिया 4