Comments Add Comment

नेपाली विद्यार्थी नेपालीमै कमजोर, औषत नतिजा ल्याउनसमेत मुस्किल

२५ कात्तिक, काठमाडौं । तिहारमा केही दिन बन्द राष्ट्रिय दैनिक पत्रिकाहरु आजबाट नियमित प्रकाशनमा आएका छन् । प्रकाशित पत्रपत्रिकाको प्राथमिकतामा आज विविध विषय परेका छन् । केहीले वीरको शृंखलाबद्ध अनियमितता केलाएका छन् भने कुनैले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सुटुक्क अमेरिका पुगेकोबारे लेखेका छन् ।

पत्रपत्रिकाहरुको पहिलो पृष्ठमै नेपाली विद्यार्थी नेपालीमै कमजोर देखिएको, सरकारले साढे ३ अर्बको हिसाब लुकाएको, नेपाल र अमेरिकाले पर्यटक भिसाको अवधि समान गराउने तयारी गरेको, जुवाडे समूह र प्रहरीबीच दैलेखमा झडप भएकोलगायत सामग्री छापिएको छ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवार आजदेखि अनिश्चितकालीन हड्तालमा बस्न लागेकोलाई पनि आजका पत्रपत्रिकाहरुले कभरेज गरेका छन् ।

मुख्यमन्त्री राई सुटुक्क अमेरिका

कान्तिपुर दैनिकले आज प्रतिनिधिसभामा सांसद्हरुको उपस्थितिबारे मुख्य समाचार लेखेको छ । समाचार अनुसार ९० महिला सांसद् मध्ये ७१ जना ७५ प्रतिशत बैठकमा सहभागी भएका छन् । १८४ पुरुष सांसद् रहेकोमा ११२ जना ७५ प्रतिशत बैठकमा सहभागी भएका छन् । डडेल्धुराकी निरादेवी जैर, ललितपुरका कृष्णलाल महर्जन, बझाङका भैरवबहादुर सिंह र दैलेखका राजबहादुर बुढाक्षेत्री शत प्रतिशत संसद् बैठकमा उपस्थित हुने सांसद् हुन् ।

कान्तिपुरका अनुसार ८ महिनामा ८२ दिन बैठक चल्दा प्रमुख सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्ड २२ दिन उपस्थित भएका छन् भने प्रमुख प्रतिपक्ष कांग्रेसका सभापति शेरबहादुर देउवा २० दिन ।

कान्तिपुरमै उपचारका लागि थाइल्यान्ड जान्छु भनेर हिँडेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सुटुक्क अमेरिका पुगेको खबर छ । संघीय सरकारसँग अनुमति लिनुपर्ने भए पनि उनी त्यसो नगरी अमेरिका पुगेको समाचारमा उल्लेख छ ।
उपचार गर्न एकातिर जान्छु भनी मन्त्रिपरिषद्को अनुमतिबिना अर्कैतिर गएकामा मुख्यमन्त्री राईको कूटनीतिक वृत्तबाट आलोचना भएको छ । यसबारे समाचार लेख्दा पत्रकार लोकमणि राई अमेरिकामै कुटिएका छन् ।

नेपाली विद्यार्थी नेपालीमै कमजोर

नेपाली विद्यार्थी नेपालीमै कमजोर देखिएको नयाँ पत्रिकाले जनाएको छ । निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमाथि गरिएको एक अनुसन्धानले उनीहरु नेपालीमै कमजोर देखिएका हुन् ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले यसै वर्ष गरेको अध्ययनअनुसार नेपाली विषयमा अधिकांश प्रदेशका विद्यार्थीले औसत अंक बल्लतल्ल कटाएका छन् । अध्ययनअनुसार गणितभन्दा पनि नेपालीमा विद्यार्थी कमजोर देखिएका छन् ।

वीरको शृंखलाबद्ध अनियमिततामाथि समेत वीरले केलाएको छ । सतर्कता केन्द्रको प्रतिवेदनमा टेकेर लेखिएको समाचारमा उपकरण र औषधि खरिददेखि कर्मचारी भर्नासम्म अनियमितता भएको उल्लेख छ । समाचार अनुसार १६ करोडको प्रस्तावलाई अस्वीकृत गरेर साढे २० करोडको टेन्डर सदर गरिएको छ ।

पर्यटक भिसाको अवधि समान गराउँदै नेपाल–अमेरिका

नेपाल र अमेरिकाले एक–अर्का देशका नागरिकलाई जारी गर्ने भिसाको अवधि समान गराउने तयारी थालेकोलाई पनि नयाँ पत्रिकाले पहिलो पृष्ठमा कभरेज गरेको छ । समाचार अनुसार अमेरिकाकै प्रस्तावमा भिसामा पारस्परिकता हुन थालेको हो ।

गृह मन्त्रालयले तयार गरेको प्रस्तावअनुसार अब नेपाल आउने अमेरिकी नागरिकले १ वर्षमा १ सय ८० दिनको भिसा पाउनेछन् । पर्यटक भिसामा अमेरिका जाने नेपालीले यसअघि नै १ सय ८० दिनको भिसा पाउँदै आएका छन् । तर अहिलेको अध्यागमन कानूनअनुसार एकपटकको भिसामा कुनै पनि विदेशी वर्षमा बढीमा १ सय ५० दिनसम्म मात्र नेपाल बस्न पाउँछ ।

सरकारले देखाएन साढे ३ अर्बको हिसाब

डेनमार्कले राष्ट्रिय मानअधिकार आयोगका लागि सहयोग गरेको साढे ३ अर्ब रुपैयाँभन्दा बढी रकमको हिसाब सरकारले नै लुकाएको छ ।

नयाँ पत्रिकाका अनुसार तीन वर्षको अवधिमा शान्ति, मानव अधिकार तथा सुशासन कार्यक्रमका लागि आएको रकम नदिएको र हिसाब पनि नदेखाएको मानव अधिकार आयोगको आरोप छ ।

यूएईको नेपाली फार्ममा कार्यरत नेपालीबारे एक सामग्री छापेको अन्नपूर्णले श्रीलंकामा संसद् भंग भएको तराईमा छठको रमझम शुरु भएकोदेखि दशरथ रंगशाला मर्मत सुस्त भएकोसम्मका खबर छापेको छ ।

सरकारी सेवामा आकर्षण चुलिएको राजधानीले लेखेको छ । ५ हजार ९ सय जनशक्ति माग हुँदा ५ लाख ७१ हजार ३ सय २२ को आवेदन परेकोलाई राजधानीले बढ्दो आकर्षणको रुपमा विश्लेषण गरकेो छ । समाचार अनुसार महिलाको आवेदन पुरुषभन्दा बढी पर्ने गरेको छ ।

गोरखापत्रले सिरहाको सीमावर्ती क्षेत्र दरुवाको अखडा बनेकोलाई एंकर बनाएको छ भने नेपाल समाचारपत्रले नेकपाभित्र थप कचिंगल देखापरेको लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment