Comments Add Comment

नेपालको मागअनुसार लगानी र सहयोग गर्छौं : कोरियाली राजदूत

२६ कात्तिक, बुटवल । नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क योङ सिकले लगानीमैत्री वातावरण बने कोरियाको लगानी आउने बताएका छन् ।

सोमबार बुटवल उद्योग वाणिज्य संघमा आयोजित छलफल कार्यक्रममा उनले दक्षिण कोरियाले आफ्नो रुचिअनुसार नभई नेपाल सरकारको माग र आवश्यकताका क्षेत्रमा सहयोग र लगानी गर्ने स्पष्ट पारे ।

शिक्षा, स्वास्थ्य, कृषि र जनताको जीवनस्तर उकास्ने खालका क्षेत्रमा अहिले कोरिया सरकारले सहयोग गरिरहेको राजदूत सिकले बताए । उनले बौद्ध धर्म, लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन, जलविद्युत र उत्पादनमूलक क्षेत्रलाई पनि कोरियाले प्राथमिकतामा राखेको उनको भनाइ छ ।

नेपालमा पर्यटनमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने प्रचुर सम्भावना रहेको औंल्याउँदै राजदूत सिकले यो क्षेत्रमा एकपटक लगानी गरेपछि वर्षौंसम्म प्रतिफल लिन सकिने सुझाव दिए ।

सन् १९६० सम्म अत्यन्तै कमजोर आर्थिक अवस्था रहेको कोरियाले ५० वर्षमै विकासमा चमत्कार गरेको जानकारी गराउँदै राजदूत सिकले निर्यातजन्य उद्योग र उत्पादनका माध्यमबाट कोरियाले समृद्धि हासिल गरेको स्पष्ट पारे ।

सन् १९६० मा वार्षिक १०५ अमेरिकी डलर प्रतिव्यक्ति आय रहेकोमा हाल २७ हजार डलर पुगेको राजदूत सिकले स्मरण गरे । कोरियाले विदेशमा काम गर्न जाने आफ्ना नागरिकको आम्दानीलाई राष्ट्र निर्माण र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नीति लिएका कारण पनि अहिलेको विकास सम्भव भएको उनको भनाइ छ ।

हाल कोरियामा ईपीएस प्रणालीमार्फत ३५ हजार नेपाली कार्यरत रहेको बताउँदै राजदूत सिकले कामप्रति नेपालीहरुको लगनशीलताबाट कोरिया सरकार प्रभावित भएर नै हरेक वर्ष कामदारको कोटा बढाउँदै लगेको स्पष्ट पारे ।

औद्योगिक क्षेत्रमा लगानी गर्न कोरियालाई आग्रह

बुटवल उद्योग वाणिज्य संघले बुटवलमा बन्ने प्रदेशस्तरीय मोतिपुर औद्योगिक क्षेत्रमा लगानी गर्न राजदूत सिकमार्फत कोरिया सरकारलाई आग्रह गरेको छ । संघका अध्यक्ष खिमबहादुर हमालले राजदुत सिकलाई एक प्रस्तावपत्र हस्तान्तरण गर्दै रुपन्देही उद्योग, पर्यटन, कृषि र ब्यापारमा प्रचुर संभावना भएको जिल्ला भएकाले चारवटै क्षेमा लगानी गर्न सकिने राजदुतसंग आग्रह गरे ।

हमालले मोतिपुरमा ५२० हेक्टरमा बन्ने औद्योगिक क्षेत्रको डीपीआर तयार भई वातावरणीय प्रभाव मूल्यांकन ईआईए प्रतिवेदन अन्तिम चरणमा रहेको जानकारी गराउंदै यो औद्योगिक क्षेत्रको पुर्वाधार विकास र कोरियन लगानीमा नयाँ प्रविधिका साना तथा मझौला उद्योगमा लगानी गर्न, बुटवलमा स्थापना गरिने बिजनेस इनोभेसन सेन्टर स्थापनामा समेत सहयोग गर्न आग्रह गरे ।

यस्तै संघको पहलमा बुटवलको तामनगरमा स्थापित प्राविधिक कलेजलाई इन्जिनियरिङ कलेजमा स्तरोन्नति गर्न समेत संघले माग गरेको छ । छलफमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठ, महासंघका पुर्व केन्द्रीय सदस्य नवराज श्रेष्ठ लगायतले लुम्बिनीलाई शान्ति शहर बनाउन सहयोग गर्न आग्रह गरे ।

तिलोत्तमाको माग : दुग्ध प्रशोधन केन्द्र

यसैबीच कोरियन राजदूत सिकसंग तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिले भेटवार्ता गरेका छन् । नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण र भावी योजनाका बारेमा नगरपालिका र राजदुतबीच छलफल भएको हो ।

नगर प्रमुख घिमिरेले नेपालमा पुनः मिल्क होलिडे सुरु हुँदा किसानहरु मर्कामा परेको उल्लेख गर्दै दूधको बजारीकरणका लागि नगरपालिकाले थ्रीपी मोडलमा दुग्ध प्रशोधन केन्द्र स्थापना गर्न खोजेको बताउँदै यसमा सघाउन राजदूत सिकमार्फत् कोरिया सरकारलाई आग्रह गरे ।

प्राविधिक शिक्षालय, क्षेत्रीय स्तरको बसपार्क, फोहोरमैला प्रशोधन केन्द्र, एकीकृृत ढल निकास योजनालगायत नगरपालिकाले अघि सारेका ठूला आयोजनामा सहयोग गर्न र कोरियाली लगानी भित्राउने वातावरण निर्माणमा सजहीकरण गर्न समेत राजदुत सीकलाई नगर प्रमुख घिमिरेले आग्रह गरे ।

कार्यक्रममा राजदूत सिकले लुम्बिनी र व्यापारिक नाकाबाट नजिक रहेकाले तिलोत्तमा नगरपालिकामा विकासको प्रचुर संभावना रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment