Comments Add Comment

कोलम्बो प्रोसेसको छैटाैं बैठक काठमाडौंमा हुने

२६ कात्तिक, काठमाडौं । वैदेशिक रोजगारीका लागि कामदार पठाउने राष्ट्रहरुको साझा मञ्च कोलम्बो प्रोसेसको छैटाैं बैठक काठमाडौंमा हुने भएको छ । नेपालको अध्यक्षतामा हुन लागेको कोलम्बो प्रोसेसको बैठक कात्तिक २९ र ३० मा काठमाडौंमा हुने भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी बैठकका लागि १२ देशका मन्त्री र उच्च अधिकारी सहभागी हुने जानकारी दिएको छ ।  मन्त्रालयका अनुसार २९ कात्तिकमा सचिव स्तरीय वैठक हुनेछ भने मन्त्रिस्तरीय बैठक कात्तिक ३० गते हुनेछ ।

३० कात्तिकमा हुने १२ देशका मन्त्रिस्तरीय बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको श्रम सचिव महेश दाहालले जानकारी दिए ।  उनका अनुसार बैठकको अध्यक्षता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले गर्नेछन् ।

उच्च अधिकारी स्तरीय बैठकको अध्यक्षता श्रम सचिव दाहालले गर्ने जनाइएको छ ।  मञ्चमा नेपालसहित भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, कम्बोडिया, चीन, इन्डोनेशिया, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र भियतनाम गरी १२ देश आवद्ध छन् ।

नेपाल २९ मार्च २०१७ देखि कोलम्बो प्रोसेसको अध्यक्ष राष्ट्रका रुपमा रह्रदै आएको छ ।  सन् २००३ मा श्रीलंकामा आयोजना भएको वैदेशिक रोजगारीका लागि कामदार पठाउने एसियाका स्रोत मुलुकका श्रम आप्रवासन मन्त्रालय स्तरीय परामर्श कार्यक्रम पश्चात यो संगठनको स्थापना भएको हो ।

कोलम्बो प्रोसेस बैठकमा अन्तर्राष्ट्रिय आप्रवासन र सम्झौतामा आधारित श्रमका विषयमा सम्बन्धित मुलुकबीच छलफल हुँदै आएको छ । कोलम्बो प्रोसेसको मन्त्री स्तरीय बैठक प्रत्येक दुई/दुई वर्षमा र श्रम सचिव स्तरीय बैठक हरेक वर्ष हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment