Comments Add Comment

२६ वर्षको प्रयासपछि मुल्ला गाउँ झलमल्ल

२७ कात्तिक, दार्चुला । महाकाली नगरपालिका–२ मुल्लाका ७५ वर्षीय अमरसिंह साहुले आफ्नो गाउँमा विद्युतीकरणका लागि प्रयास थालेको २६ वर्षपछि विजुली बाल्न पाएका छन् । गाउँकै खोलाबाट महाकाली नगरपालिकाको डुङुरीमा ०४९ सालमा नै दुई सय किलोवाट विद्युत् उत्पादन भएको थियो ।

सो विद्युत्त सदरमुकामसहित पूरै महाकाली नगरपालिका झिलमिली हुँदा पनि १० किलोमिटर टाढाको मुल्ला गाउँका बासिन्दाले विजुली बाल्न पाएका थिएनन् । वरपरका गाउँमा यसअघि नै विजुली बलेको थियो । साहुले ०४९ सालमा विद्युतीकरणका लागि तीन पोल गाउँमा पुर्याएका थिए । गाउँमा पोल पुर्याए पनि विजुली बाल्न भने सकिएको थिएन ।

‘ठेक्का भयो, छिमेकी गाउँमा विजुली बल्यो, नजिकैको मूल्लामा विजुली बाल्न सकिएन,’ साहुले भने। छिमेकी गाउँका बासिन्दाले विजुली बालेको हेरेर चित्त बुझाउनुपर्ने अवस्था आयो । अहिले गाउँलेले नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रबाट आफैंले छ पोलमा साढे चार किलोमिटर लामो तार तानेर गाउँमा विजुली बालेका छन् ।

पूर्व वडाध्यक्ष प्रेमसिंह साहु सामान ढुवानी बापतको रकम आफैले तिरेको बताउँछन् ।

मैखौलीमा डेढ महीनाअघि विद्युत् पुग्यो । मूल्लाका ६० परिवारले बल्ल बत्ति बाल्न पाए । अझै घट्टेखोलाका ३० परिवार अन्धकारमा छन् । स्थानीय सरकार बनेपछि नगरपालिकाको समन्वयमा विद्युत् बाल्न पाएको स्थानीय बासिन्दा बताउँछन् ।

महाकाली नगरपालिका– २ का बासिन्दाले यसै वर्षदेखि टेलिफोन सेवा समेत पाएका छन् । जिल्लामा ०६४ सालमै अधिकांश क्षेत्रमा मोबाइल फोन सेवा विस्तार भएको थियो । नगर प्रमुख भट्टले छिट्टै सो बस्तीलाई सडक सञ्जालसँग जोड्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment