Comments Add Comment

चिनियाँ पर्यटनमन्त्री काठमाडौंमा, तीन महिनाभित्र चीनमा थप हवाइ उडान

२७ कात्तिक, काठमाडौं । चीनका संस्कृति तथा पर्यटन मन्त्री लुओ सुगाङ काठमाडौं आएका छन् ।

मन्त्री सुगाङसहितको प्रतिनिधिमण्डललाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले मंगलबार मन्त्रालयमा भेटवार्ता गरेका छन् ।

भेटका क्रममा नेपाल र चीनबीच थप हवाई उडान गर्ने सहमति भएको छ । आउँदो फेब्रुअरी महिनासम्म हवाइ उडान सुभारम्भ हुने गरी सहमति भएको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले जानकारी दिए ।

दुई मन्त्रीहरुबीच नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न नेपाल र चीनका प्रधानमन्त्रीबीच भएको सहमतिअनुसार चीनले सहयोग गर्ने सहमति पनि भएको छ ।

त्यस्तै नुवाकोटको दरबारको पुनर्निर्माणमा पनि चीन सरकारले सहयोग गर्ने सहमति भएको मन्त्री अधिकारीले जानकारी दिए । भेटका क्रममा चिनियाँ मन्त्रीले भूकम्पबाट क्षतिग्रस्त भएका पाँचवटा सम्पदा क्षेत्र पुनर्निर्माण सकिएर खुला भएकोमा खुशी व्यक्त गरेका छन् ।

ग्रेट हिमालयन ट्रेल प्रवर्द्धन कार्यक्रममार्फत २०२० मा सगरमाथा, ल्होत्से, मकालु र चोयुको संयुक्त प्रबद्र्धन गर्ने पनि दुई मन्त्रीहरुबीच सहमति भएको छ । यस अनुसार यी हिमालहरु एउटा देशबाट आरोहण गरी अर्कोतिर ओर्लिने व्यवस्था मिलाउने पनि सहमति भएको छ ।

मन्त्री अधिकारीले चिनियाँ समकक्षीसँगको भेटबाट पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment