Comments Add Comment

रोनाल्डो कि मेस्सी, यो सिजन को अघि ?

२७ कात्तिक, काठमाडौं । कुनै डर्बीलाई बिर्सिदिनुस्, क्लासिको बिर्सिदिनुस् या त्यस्तो कुनै प्रतिस्पर्धात्मक खेल बिर्सिदिनुस् । किनकी, आधुनिक फुटबलमा सबैभन्दा धेरै प्रतिस्पर्धात्मक तुलना कसैबीच भएको छ भने त्यो क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीबीच नै हो ।

रोनाल्डो रियल मड्रिड छाडेर युभेन्टस लागेपछि यो सिजन त्यस्तो प्रतिस्पर्धात्मक तुलना केही कम भएको छ । तर, सकिएको छैन । पछिल्लो १० वर्ष उनीहरुकै बीच घुमिरहेको बालोन डि’ओरले त्यसलाई झनै बढाएको छ ।

यसमा सबैभन्दा हेरिने कुरा हरेक खेलमा उनीहरुको व्यक्तिगत योगदान, टिमलाई कुनै उपाधि दिलाउँदा उनीहरुको भूमिका र अन्य तथ्यलाई हेरिने गरेको पाइन्छ । २०१७÷१८ को सिजन रोनाल्डो र मेस्सी दुवैले केही मेडल र उपाधि थपे । विश्वकपका लागि देशको प्रतिनिधित्व गरे ।

रोनाल्डो इटाली लागेपछि दुवैको मैदानमा हुने भेट अब मुस्किल बन्दै गएको छ । समर्थकहरु च्याम्पियन्स लिग या अन्य अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा रोनाल्डो र मेस्सीको भेट हुने आशमा छन् ।

गएको सिजन उनीहरुले एकअर्काविरुद्ध तीन पटक खेले । पहिलो सुपरकोपामा थियो, जहाँ पहिलो लेगमा दुवै खेलाडीले गोल गरे । समग्रमा ५–१ ले खेल जितेर रोनाल्डोले त्यो उपाधि जिते ।

दोस्रो भेट ला लिगाको सिजन सुरुवातमा नै सान्टियागो बर्नाबेउमा भयो । जहाँ मेस्सीको गोलसहित बार्सिलोना ३–० ले विजयी भयो । क्याम्प नाउमा ला लिगकै दोस्रो भेटमा रोनाल्डोको गोलसहित २–२ को बराबरी भएको थियो । समग्रमा ला लिगामा मेस्सी बलियो देखिए र बार्सिलोनाले उपाधि उचाल्यो ।

तर, च्याम्पियन्स लिगमा रोमासँग हारेर निराश बनेको बार्सिलोनाले युरोपमा ठूलो प्रभाव देखाउन सकेन । त्यसमा पाँच पटक च्याम्पियन्स लिग उपाधि जित्दै रोनाल्डो निकै बलिया देखिए । मड्रिडबाटै उनले चौथो र लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि जितेका थिए ।

२०१७/१८ को सिजनलाई हेर्दा रोनाल्डोले हरेकजस्तो खेलमा गोल गरे । उनको ४४ खेलमा ४४ गोल रह्यो । जसमा ला लिगाको २७ खेलमा उनले २६ गोल गरे ५ गोलका लागि अवसर बनाए । उनले क्लब विश्वकपमा दुई गोल गरे र उपाधि जिते ।

गएको सिजन रोनाल्डोको उत्कृष्ट खेलको मापक च्याम्पियन्स लिग नै बन्यो । च्याम्पियन्स लिगको १३ खेलमा उनले १५ गोल गरे । समूह चरणका ६ वटै खेलमा गोल गरेर उनले सबै खेलमा गोल गर्ने कीर्तिमान नै बनाए । नक आउटमा युभेन्टसविरुद्ध हानेको बाइसाइकल किक गोल त कसले पो बिर्सेको होला र ! उनी समग्रमा सातौं र लगातार छैठौं पटक च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता बने ।

ला लिगामा २६ गोल भएकाले उनले युरोपियन गोल्डेन सुज त पाएनन् । त्यसमा उनीभन्दा अघि मेस्सी नै रहे । ला लिगामा ३४ गोल गरेका मेस्सीले लिभरपुलका मोहम्मद सलाहलाई पछि पार्दै युरोपियन गोल्डेन सुज जिते । जहाँ उनले पाँच पटक युरोपियन गोल्डेन सुज जित्ने कीर्तिमान पनि बनाए । ला लिगामा गोलमा मात्रै होइन असिस्टमा पनि मेस्सी राम्रा देखिए । जसमा उनले १२ असिस्ट गरेका थिए । कोपा डेल रेमा पनि मेस्सीले ६ खेलमा ४ गोल र ४ असिस्ट गरे ।

च्याम्पियन्स लिगमा बार्सिलोना सोचेभन्दा पहिला नै बाहिरिए पनि मेस्सीको प्रदर्शन खराब थिएन । उनले १० खेलमा ६ गोल गरेर २ असिस्ट गरेका थिए । उनले सुपरकोपाको दुई खेलमा पनि एक गोल गरेका थिए ।

अनुशासनको विषय हेर्दा गएको सिजन रोनाल्डो अघि देखिए । समग्रमा मेस्सीले ७ पहेँलो कार्ड पाएका थिए भने रोनाल्डो तीन पहेँलो कार्ड पाएका थिए ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा रोनाल्डो र मेस्सी दुवैले आफ्नो देशलाई विश्वकपसम्म लगे । इक्वेडरविरुद्धको जित्नैपर्ने खेलमा मेस्सीले त ह्याट्रिक नै गरेका थिए । विश्वकपमा मेस्सीसहितको अर्जेन्टिना र रोनाल्डोको पोर्चुगल धेरै अघि नपुगे पनि उनीहरुको खेल चाखलाग्दो नै थियो ।

अहिलेसम्म क्लब र देशका लागि खेलको सबै खेललाई हेर्दा रोनाल्डोले ९ सय ३० खेलमा ६ सय ६७ गोल गरेका छन् भने २ सय १३ गोलमा अवसरमा बनाएका छन् । मेस्सीले खेलेका ७ सय ७८ खेलमा ६ सय ३१ गोल गरेका छन् भने २ सय ५८ गोलमा अवसर बनाएका छन् ।

जारी सिजनलाई हेर्दा रोनाल्डोले १५ खेलमा ९ गोल गरेका छन् भने ६ गोलका लागि अवसर बनाएका छन् । जसमा उनले सिरी एको १२ खेलमा ८ गोल र ६ असिस्ट गरेका छन् भने च्याम्पियन्स लिगमा १ गोल गरेका छन् ।

जारी सिजन मेस्सीले १३ खेलमा १४ गोल गरेका छन् भने ६ गोलका लागि अवसर बनाएका छन् । जसमा उनले ला लिगाका १० खेलमा ९ गोल र ५ असिस्ट, च्याम्पियन्स लिगका दुई खेलमा ५ गोल र सुपरकोपाको एक खेलमा १ असिस्ट गरेका छन् ।

यो सिजन रोनाल्डोले एउटा खेलमा रेड कार्ड पाएका छन् भने मेस्सीले एउटा खेलमा पहेँलो कार्ड पाएका छन् ।

गएको १० वर्षभन्दा बढी समय रोनाल्डो र मेस्सीमा घुमेको विश्व फुटबल यो सिजन पनि पर भने छैन । यसपटक बालोन डिओरमा कुनै नयाँ नाम आयो भने पनि उनीहरुको प्रदर्शन कमजोर आँक्न सकिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment