Comments Add Comment

नेकपा नेता भरतमोहन अधिकारीलाई नागरिक अभिनन्दन गरिने

२८ कात्तिक मोरङ । नेकपाका नेता एव पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई विराटनगरमा नागरिक अभिनन्दन गरिने भएको छ ।

विराटनगरलाई कार्यक्षेत्र बनाएर राजनीतिक आन्दोलन गरेका ८३ बर्षका अधिकारीलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर मंसिर १ गते अभिनन्दन गर्न लागिएको हो ।

दिवस मनाउन डा. भेषप्रसाद धमलाको अध्यक्षतामा ३०१ सदस्यीय अभिनन्दन मूल समारोह समिति गठन गरिएको छ ।

विस २०४६ सालको राजनीतिक आन्दोलन अघि विराटनगरमा ल फर्म चलाएर बसेका अधिकारी २०४६ सालपछि पूर्णकालीन राजनीतिमा लागेका थिए । एलिट क्लब विराटनगरको संस्थापकसमेत रहेका अधिकारीले २०४६ सालको आन्दोलन अघि विराटनगरमा राजनीतिक जागरण ल्याउन भूमिका खेलेको विराटनगरका अग्रज पत्रकार मोहन भण्डारी बताउँछन् ।

बहुदलीय आन्दोलनपछि मनमोहन अधिकारी नेतृत्वमा बनेको नौ महिने सरकारमा भरतमोहन अर्थमन्त्री थिए । ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने कार्यको प्रारम्भ गर्न अधिकारीको भूमिका थियो ।

अधिकारीको अभिनन्दन समारोहका लागि ३८ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको धमलाले पत्रकार सम्मेलन गरी जानकारी दिए ।

ज्येष्ठ नागरिक दिवस समारोहका लागि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई नेतृत्वमा सल्लाहकार समिति, डिल्ली पोखरेलको नेतृत्वमा प्रचारप्रसार उपसमिति, कविराज न्यौपानेको नेतृत्वमा अभिनन्दन तथा प्रकाशन उपसमिति गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment