Comments Add Comment

ट्यूटरको अन्तर्राष्ट्रिय ग्ल्यामर : करोडौं कमाई, अर्बपतिको सत्कार

पढाउने पेशालाई कतिपयले हेय दृष्टिले हेर्छन् । यसमा दुख धेरै र पैसा थोरै हुन्छ भन्ने मान्यता उनीहरुमा पाइन्छ । तर उनीहरुलाई के थाहा, पढाएरै करोडौं कमाउनेहरुको बारेमा ।

जस्तै मेलिसा लेहानको कुरा गरौं । उनले प्राइभेट ट्युसन पढाएरै अचाक्ली कमाइसकेकी छन् । प्रशस्त सम्पत्ति जोडेकी छन् । देश–विदेश घुमेकी छन् ।

मेलिसाले केही वर्ष बरमुडामा काम गरिन् । फेरि क्यानडा गइन् । केही समय दक्षिणी फ्रान्स, बहामास र इटालीको टस्कनीमा पनि बसिन् । हाल उनी लक्जमबर्गको ग्रामिण क्षेत्रमा काम गर्दै आएकी छन्, जहाँ उनको वार्षिक कमाइ ६ अंकमा हुन्छ ।

अक्सफोर्डबाट स्नातक गरेकी ३६ वर्षीया मेलिसा एक दक्ष शिक्षिका हुन् । उनी बालबालिकाहरुलाई घरमै स्कुलमा जसरी पढाउँछिन् । यो काम उनले १० वर्षदेखि गर्दै आएकी छन् । मेलिसा आफ्नो कामबाट खुसी छिन् ।

उनका ग्राहक धनाड्य अभिभावक हुन् जो बिभिन्न कारणले स्थानीय स्कुलबाट सन्तुष्ट हुँदैनन्, र आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिलाउने उपायको खोजीमा हुन्छन् ।
मेलिसा सबै विषयलाई एकसाथ जोडेर विद्यार्थीलाई प्रभावकारी तरिकाले पढाउने स्वतन्त्रताको कुरा पनि गर्छिन् । उनी भन्छिन्, ‘कुनै विद्यार्थीले के जान्न चाहान्छ र उसलाई कसरी सहयोग गर्न सकिन्छ, यो राम्रोसँग बुझेर सहायता गर्नु मेरो कर्तव्य हो ।’

विश्वभर प्राइभेट ट्युसनको पेशा फस्टाइरहेको छ । एक अनुमान अनुसार सन् २०२२ सम्म प्राइभेट ट्यूसनको अर्थतन्त्र २२७ अर्ब डलरसम्म पुग्ने छ । अनलाइन ट्युसनले यसलाई झन् अगाडि बढाएको छ । कम्पनीहरुले इन्टरनेटको माध्यमबाट विद्यार्थीलाई अध्यापकहरुसँग जोडिरहेका छन् ।

यसमा सबै प्रकारका सेवा प्रदायकहरु छन् । उदाहरणको रुपमा फ्रिलान्सर, क्रेम स्कुल, ठूला कम्पनी, अनलाइन सेवा, बिस्पोक एजेन्सीहरु आदि । सबैभन्दा माथि ति व्यक्ति छन् जो ‘सुपर ट्युटर’ कहलिन्छन् र अत्यधिक पैसा पाउँछन् । विश्वको फरक–फरक स्थानमा यसको अर्थ पनि फरक–फरक हुन्छ ।

उनीहरु मेलिसा लेहानजस्तै पूर्णकालिन प्राइभेट ट्युटर हुन् । आफ्ना छोराछोरीलाई अमेरिका या बेलायतका ठूला स्कुल वा विश्वविद्यालयमा भर्ना गर्न चाहने धनाढ्य अभिभावकहरुले उनीहरुको सेवा लिन्छन् ।

पूर्वी एशियामा ‘सुपर ट्युटर’ ति विशेषज्ञहरुलाई भनिन्छ जसले विद्यार्थीहरुलाई कुनै एक विषय पढाउँछन् । एक हाईप्रोफाइल उदाहरण हङकङका लाम यत–यन हुन् । उनी चिनियाँ भाषा पढाउँछन् । उनलाई सन् २०१५ मा प्रतिस्पर्धी ट्युटर ग्रुपले १.१ करोड डलर अफर गरेको थियो, तर उनले त्यसलाई अस्वीकार गरे ।

अमेरिकामा सन् २०१७ मा ३७ लाखभन्दा बढी विद्यार्थीहरुले विश्वविद्यालयमा भर्नाका लागि SAT या CAT टेस्ट परीक्षा दिएका थिए । उनीहरुलाई यी परीक्षाको तयारी गराउने विशेषज्ञहरु सुपर ट्युटर हुन् । उनीहरुले हरेक घण्टा पत्याउनै नसकिने पैसा लिन्थे ।

मोटो रकमको अलावा अरु के आकर्षण छ ? सुपर ट्युटरहरु कुन कुरामा पारंगत छन् ? उनीहरु यो काम किन गर्छन् र यो लक्ष्यसम्म पुग्नका लागि उनीहरु कति काम गर्छन् होला ?

तयारी र लगाव असीमित

मेलिसा लेहान ‘सुपर ट्युटर’ को रुपमा चिनिन त्यति रुचाउँदिनन् । उनी भन्छिन्– त्यसले त्यो भूमिकालाई ग्ल्यामराइज गर्दछ, जसलाई राम्रोसँग बुझिएको छैन । म एक शिक्षक हुँ र कडा मेहनत गर्छु ।

माध्यमिक बिद्यालयका धेरै शिक्षक एक वा दुई विषयमा पारंगत हुन्छन्, तर मेलिसा लेहान बच्चाहरुलाई GCSE का सबै विषय पढाउँछिन् । ब्रिटेनमा १६ वर्षका विद्यार्थीहरुले यो परीक्षा दिनुपर्दछ ।

मेलिसा भाषामा स्नातक हुन् । उनलाई गणितमा लगाव छ । शुरुमा विज्ञान विषयमा पारंगत हुन ठूलो चुनौति थियो । पहिलो जागिरमा उनले दिन–रात मेहनत गरिन् ताकि पाठ्क्रमका सबै विषय पढाउन सकियोस् ।

उनी भन्छिन्– मलाई रसायनशास्त्रमा धेरै मेहनत गर्नुपर्‍यो ।  पुराना सबै प्रश्नपत्रहरुलाई समय दिनुपर्‍यो, नम्बर दिने तरिका जान्नुपर्‍यो, सानोभन्दा सानो तरिका थाहा पाउनुपर्‍यो ।

त्यसका लागि योजना बनाउन र तयारी गर्न पनि समय लाग्ने उनी बताउँछिन् । उनी भन्छिन्, ‘तपाईंले यस्तो योजना बनाउनुपर्छ जुन तपाईंका विद्यार्थीहरुलाई प्रभावकारी होस् । एकपटक योजना बनेपछि त्यसले कसरी काम गरिरहेको छ भनेर समीक्षा गर्नुपर्छ । र, विद्यार्थीहरुलाई रुचि लाग्ने किसिमको बनाउनुपर्छ ।’

एन्थोनी फकलाई काम गर्नका लागि परिवार र साथीभाइसँग बिताउने समय कटौति गर्नुपर्छ । उनी सिंगापुरमा ट्युटर छन्, जहाँ ७० प्रतिशत आमा–बुवाले आफ्ना बालबालिकाहरुलाई अतिरिक्त कक्षामा पठाउँछन् ।

३५ वर्षका फक अर्थशास्त्रमा ए–लेभलको परीक्षाको तयारी गर्नेहरुलाई पढाउँछन् । यो परीक्षा स्थानीय र विदेशी विश्वविद्यालयमा भर्ना हुनका लागि दिनुपर्छ ।

फकले साँझ र सप्ताहन्त (शनिबार र आइतबार) मात्र काम गर्दछन् । उनी सिंगापुरको सानो तर बढ्दो सुपर ट्युटर समूहको हिस्सा हुन् । उनको वर्षेनी कमाई १० लाख सिंगापुर डलर (७.२६ लाख अमेरिकी डलर) भन्दा बढी छ ।

फक ९०–९० मिनेटको चार वटा क्लास लिन्छन् र त्यसबाफत् प्रतिविद्यार्थी ४२० सिंगापुर डलर पाउँछन् । फकका अनुसार यो रकम अरु ट्युटरसँग समान वा ‘सायद अलिकति बढी’ हो ।

उनको कक्षा भरिभराउ हुन्छ । उनीसँग पढाउन अभिभावकहरुले आफ्ना छोराछोरीका लागि तीन वर्ष पहिले नै बुक गराउँछन् या एकैपटक दुई वर्षको फी तिर्न तयार हुन्छन् ।

एकपटक एक अभिभावकले आफ्नो बच्चाको ए–ग्रेड परीक्षाभन्दा एक महिनाअगाडि २० हजार डलर दिने प्रस्ताव राखे तर फकले त्यसलाई अस्वीकार गरे । यसको कारणबारे उनी भन्छन्, ‘अन्तिम समयमा जादू गर्न असम्भव छ । अभिभावकहरुले पैसा तिरेपछि सबै समस्या समाधान हुन्छ भन्ने ठान्छन्, तर यो सम्भव छैन ।’

प्रतिस्पर्धी बजारमा फकले आफ्नो विशेषज्ञतामा ध्यान दिँदै आफ्नो छुट्टै पहिचान बनाएका छन् । उनले पहिले विश्वविद्यालयमा पढाउन सुरु गरेका थिए । सन् २०१२ मा आफ्नो ट्युसन पेशा शुरु गर्नुभन्दा अगाडि उनले स्कुल शिक्षकको रुपमा पाँच वर्ष बिताए ।

उनले ए–लेभलमा पढाइ हुने अर्थशास्त्रको धेरै किताब लेखेका छन् । उनी पछिल्ला प्रश्नपत्र र नयाँ ट्रेन्डबारे अपडेट भइरहन्छन् । उनका विद्यार्थीहरुले कुनै पनि समयमा आफ्ना प्रश्न म्यासेजमार्फत उनलाई सोध्न सक्छन् ।

फक आफ्नो पढाइको गुणस्तरमा कहिल्यै सम्झौता गर्दैनन् । उनी केबल पैसाका लागि यस क्षेत्रमा आउन खोज्नेहरुलाई सावधान गर्दछन् । उनी भन्छन्, ‘शिक्षकहरुमा पढाइप्रति असाध्यै लगाव चाहिन्छ र शतप्रतिशत कोशिश गर्नुपर्छ । यस्तो नहोस् कि कुरा ठूलाठूला गर्ने तर त्यसमा खरो उत्रन नसक्ने । मेहनत, मेहनन र केबल कडा मेहनत गर्नुपर्छ ।’

क्यालिफोर्नियामा म्याथ्यू लेरिवा SAT र CAT परीक्षाको लागि एक घण्टा वान–टु–वन कोचिङ पढाउँछन् र ६०० डलर लिन्छन् । यो परीक्षा अमेरिकी विश्वविद्यालयमा भर्ना हुनका लागि लिइन्छ ।

लेरिवा आईवी लीगमा स्नातक हुन् । उनले सन् २०११ मा पढ्न शुरु गरेका थिए । पछि परीक्षाको तयारीका लागि आफ्नै एजेन्सी खोले ।

लेरिवाले महसुस गरे कि शिक्षण पेशामा एक उच्च मानक जरुरी छ । अहिले उनी प्रतिघण्टा २५० डलर लिने ट्युटर परिवारको सदस्य हुन् । उनी किताब लेख्छन्, प्रिजेन्टेसन दिन्छन् र एक समयमा केबल एक वा दुई जना विद्यार्थीलाई मात्र पढाउँछन् । उनी भन्छन्, ‘म जे दिन्छु र जसका लागि मानिसहरु मलाई पैसा दिन तयार हुन्छन्, त्यही हो परीक्षाको नतिजा ।’

अनुभवी शिक्षकहरुले विद्यार्थीहरुलाई सही परीक्षा चुन्ने, समयसीमा र लक्षित अंक ल्याउन सहयोग गर्न सक्छन् । योग्यताको बिभिन्नस्तरमा पढाइलाई अनुकूल गराउन सक्छन् । लेरिवा भन्छन्, ‘केही मानिसहरु हिसाब गरेर हेर्छन्, यो वर्ष उसले दस लाख डलरभन्दा बढी कमायो भनेर । तर उनीहरु त्यस पछाडिको मेहनत र समय देख्दैनन् ।’

‘एक घण्टामा ६०० डलर लिनका लागि लगातार तयारी, यात्रा र मार्केटिङ जरुरी छ । त्यो लक्ष्यसम्म पुग्नुभयो भने रातिमा, सप्ताहन्तमा र विदाको दिनमा पनि कडा मेहनत गर्नुपर्छ,’ उनले थपे ।

उनको अनुमानमा यस क्षेत्रमा करिब १०० मानिसहरु एक घण्टामा ६०० सय डलर कमाइरहेका छन् । केही ट्युटरहरुले योभन्दा पनि बढी कमाइरहेका छन् । उनको ठूलो चिन्ता यो छ कि अमेरिकामा ट्युटर बन्नका लागि आवश्यक योग्यताको कुनै मापदण्ड छैन ।

पेशागत मापदण्ड आवश्यक

एडम कलर लण्डनको कम्पनी ट्युटर्स इन्टरनेशनलका संस्थापक हुन् जो धनाड्य व्यक्तिहरुलाई फुल टाइम ट्युटर (मेलिसा लेहानसमेत) उपलब्ध गराउँछन् ।

उनी आजभोलि अमेरिका, बरमुडा, लक्जमबर्ग र हङकङमा ६ अंकको तलबको प्रचार गरिरहेका छन् । कलर भन्छन्, ‘यो तलबले विद्यार्थीहरुको नतिजासँग धेरै अर्थ राख्छ ।’

उनी केबल योग्य शिक्षकलाई राख्छन् । अतिरिक्त भाषा, संगीत या खेल, असामान्य बच्चाका साथ अनुभव जस्ता विशेष आवश्यकताको आधारमा उनीहरुको भूमिका तय हुन्छ ।

कलरका अनुसार ट्युटरको विशेषज्ञतालाई मान्यता दिने खालको निकाय आवश्यक छ । उनी भन्छन्, ‘त्यस्तो कुनै निकाय होस्, जहाँ अन्य पेशाजस्तै ट्युटरको व्यवसायिकता, उनीहरुको ज्ञान र व्यवसायीक विकास मापन गन सकियोस् ।’

म्याथ्यू लेरिवा भन्छन्, ‘कहिलेकाहीँ यो पेशा ग्ल्यामरस लाग्नसक्छ । अरबपतिले तपाईंको लागि कफी बनाउँछ र संसद सदस्यले तपाईंलाई पारिवारिक डिनरमा बोलाउँछ । तर यो ग्ल्यामरसभन्दा बढी आकर्षण हो, त्यो विशेष अधिकार जसबाट तपाईं कसैको जीवनमा प्रवेश गर्नुहुन्छ, परिवारलाई बुझ्नु हुन्छ, उनको विश्वास जित्नु हुन्छ र, उनीहरुको बच्चाको भविष्य धेरै हदसम्म तपाईंमा निर्भर हुन्छ ।’

– बीबीसी हिन्दीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment