Comments Add Comment

नयाँ नायिका भित्राउने होडबाजी

नेपाली चलचित्रको निर्माण बढ्दो छ तर व्यापार खुम्चदो छ । कलाकारको आगमन बग्रेल्ती छ । सफलता पाउनेको त कुरै नगरौ, साह्रै न्यून मात्र देखिन्छ । एउटा चलचित्र खेलेर रहर पुरा गर्ने अनी हराउनेहरुको संख्या झन् कती हो कती छ । एक बर्ष अगाडि कुन–कुन कलाकार चलचित्रमा आएका थिए भनेर संझनै नै मुश्किल पर्छ । कारण, अर्को बर्ष लाग्दासम्म तीमध्ये अधिकांश कता हराइसकेका हुन्छन् ।

यसैले पनि आफूलाई परिपक्क बनाएर चलचित्र क्षेत्रमा नभित्रदासम्म यहाँ सुरुमा एउटा काम त पाइएला, त्यसपछि काम पाउन फलामको चिउरा चपाएजस्तै हो । तर, पनि नेपाली चलचित्रमा हरेक बर्ष नयाँ कलाकार भित्राउने होडबाजी नै चल्छ । नाम चलेका २–४ जना कलाकारसँग काम गर्न नसक्दा धेरै निर्देशकहरुले नयाँ अनुहारलाई भित्राउँछन् ।

रिलिजको तयारीमा रहेको चलचित्र ‘ड्रिम गर्ल’बाट वेव सिरिजमा चर्चित बनिरहेकी आश्मा गिरीलाई निर्देशक ऋषिराज आचार्यले भित्राएका छन् । यो चलचित्र रिलिज हुन एकसाता मात्र बाँकी छ । आश्मालाई चलचित्र करिअरको चिन्ताले भने सताउन थालेको पाइन्छ । चलचित्र रिलिज भएपछि आश्माले कस्तो उचाई पाउलिन्, त्यो प्रतिक्षा गर्नुपर्छ ।

नायक अनमोल केसीको जोडी बनेर यो बर्ष ३ नायिका चलचित्र क्षेत्रमा भित्रदैछन् । चलचित्र ‘क्याप्टेन’बाट अनमोलले नायिकाद्धय उपासना सिंह ठकुरी र प्रियंका एमभीलाई भित्राउँदैछन् । यी दुबैलाई अनमोल केसीको जोडी भएकै कारण संभावना बोकेका नायिका भनेर हेरिहाल्न सकिदैन । किनकी, अनमोलसँग जोडी बाधेका रिस्ता बस्नेत, आना शर्मा, अदिती वुढाथोकीको हातमा अहिले खासै काम छैन ।

यस्तै, अनमोल केसीकै जोडी बनेर नायिका सुहाना थापा पनि यो बर्ष चलचित्र क्षेत्रमा आउँदैछिन् । निर्देशक झरना थापाकी छोरी सुहानाको कामबाट अनमोल भने खुशी छन् । सुहाना चलचित्र क्षेत्रमा भित्रदै गर्दा धेरैले झरनाले छोरीलाई अनमोलको जोडी बनाएर सुखद डेब्यू गराउने सोच बनाएको चर्चा पनि गरेका थिए ।

नयाँ नायिका भित्राउने होडमा निर्देशक हेमराज वीसी पनि छन् । नायिका शिल्पा मास्केलाई ‘दि ब्रेकअप’बाट उनले चलचित्र क्षेत्रमा भित्राएका छन् । शिल्पाले हलिउड चलचित्रमा समेत काम गरेको चर्चा भएको हो ।

चैत्र १५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘शुभलभ’बाट क्रिस्टिन पौडेल चलचित्र क्षेत्रमा भित्रिदैछिन् । क्रिस्टिनले केही सौन्दर्य प्रतियोगीतामा भाग लिएकी थिइन् । ज्योतिष हरिहर अधिकारीको जोडी बनेर भित्रन लागेकी क्रिस्टिनले पनि चलचित्र क्षेत्रलाई नै भाग्य बदल्ने माध्यम मानेकी छिन् ।

नेपाली चलचित्रले हरेक बर्ष दर्जनौ नायक–नायिका भित्राउँछ । धेरै निर्माता–निर्देशकमा त नयाँ अनुहार भित्राउने होडबाजी नै चलेको छ । तर, चलचित्र रिलिज भैसकेपछि उनीहरुको नाम कतै सुनिदैन । घट्दो व्यापारमा बढ्दो उत्पादनले नयाँ नायिकाहरुको माग धान्न मुश्किल नै पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment