Comments Add Comment

विश्वकपमा नछानिएको इटालीमा फुटबल क्रान्ति !

३० कात्तिक, काठमाडौं । रसिया विश्वकपमा छनोट हुन नसक्नु र फिफा वरियतामा तल झर्दै जानुले कमजोर बनिरहेको इटालीको फुटबलमा अहिले नयाँपन देखिन थालेको छ ।

इंग्लिस क्लब म्यानचेस्टर सिटीका पूर्व प्रशिक्षक रोबर्टो म्यानसिनीले इटाली फुटबलको गुमेको साख फर्काउने र पुरानै जितका दिनहरुमा लैजाने जिम्मेवारी पाएका छन् । उनले इटालियन फुटबलमा नयाँ क्रान्तिको सुरुवात नै गरेका छन् ।

सन् १९३० को पहिलो विश्वकप खेल्न अस्वीकार गरेको इटाली १९५८ बाहेकका सबै संस्करणमा छनौट हुँदै आएको थियो । सन् १९३४, १९३८, १९८२ र २००६ को विश्वकप विजेता इटाली १९७० र १९९४ मा उपविजेता बनेको थियो ।

रसिया विश्वकप छनोटका लागि भएको युरोपियन क्षेत्रको प्ले–अफअन्तर्गत स्वीडेनसँगको पहिलो लेगमा १–० ले पराजित भएको इटाली दोश्रो लेगमा बराबरीमा रोकिएर ६० वर्षमा पहिलोपटक विश्वकपमा जानबाटै रोकिएको थियो ।

यस्तो अवस्थामा म्यानसिनी त्यो पुरानो लय फर्काउने जिम्मामा दत्तचित्त भएर लागिरहेका छन् । उनले त्यसका लागि इटालीको पुरानो बलियो डिफेन्सिभ फुटबललाई प्रयोग गरिरहेका छन् । त्यसका लागि नयाँ अनुहारलाई परिचित गराउन परे पनि म्यानसिनी पछि हटेका छैनन् ।

खेलाडी जीवनमा अट्याकिङ मिडफिल्डर रहेका म्यानसिनीले १९८१ मा १६ वर्षको उमेरमा नै बोलोग्नाबाट सिरी ए डेब्यू गरेका थिए । त्यसपछि १९८२ मा साम्पडोरिया गएका म्यानसिनीले आफ्नो खेल जीवनको लामो समय त्यहीँ बिताए ।

साम्पडोरियामा ४ सय २४ खेल खेल्दा १ सय ३२ गोल गरेका म्यानसिनि १९९७ मा लाजियो गएका थिए । २००१ मा इंग्लिस क्लब लिसेस्टरमा गए पनि उनले त्यहाँ धेरै खेल खेलेनन् ।

लिसेस्टर गएसँगै प्रशिक्षण सुरु गरेर उनले इटालियन क्लब फिरोनटेनियामा २००१ मा नै प्रशिक्षकको रुपमा काम गरे । त्यसपछि लाजियो, इन्टर मिलान, म्यानचेस्टर सिटी, गालातासरे, जेन्ट सेन्ट पिटर्सवर्ग जस्ता क्लब सम्हालेको अनुभव म्यानसिनिसँग छ ।

१९८४ देखि १९९४ सम्म इटालीको राष्ट्रिय टिमबाट खेलेको अनुभवसमेत रहेका म्यानसिनी अप्ठेरो परिस्थितिमा गएको मे महिनामा इटालीको प्रशिक्षक नियुक्त भएका हुन् । उनले इटालियन फुटबललाई नयाँ दिशा दिनसक्ने विश्वास देखिएको छ ।

‘इटालीका लागि म्यानसिनी नौलो नाम होइन । नयाँ प्रतिभालाई अवसर दिन उनी कहिल्यै हिचकिचाउँदैनन् । किनभने उनी आफै १६ वर्षको उमेरमा उत्कृष्ट फुटबलर थिए र अवसर पनि पाएका थिए’ इटालियन फुटबलका ज्ञाता जेम्स हर्नकास्टल बीबीसीसँग भन्छन्, ‘इन्टर मिलानमा हुँदा म्यानसिनिले मारियो बालाटोलीलाई अवसर दिएका थिए । तर, अहिले उनी सकेसम्म नयाँ खेलाडीलाई नै माथि उठाउन चाहन्छन् । स्वभावले पनि उनी लागेको कुरा भनिहाल्छन्, अहिले युवा खेलाडीको अवसरबारे पनि उनी खुलेर बोल्छन् ।’

हर्नकास्टलले भनेकै कुरालाई पुष्टि गर्न गएको सेप्टेम्बरमा म्यानसिनिले गरेको कामलाई हेर्दा हुन्छ । ‘सिरी ए’ मा समेत नखेलेका निकोलो ज्यानिलोलाई उनले अवसर दिएका थिए ।

इटालीमा यसमा केही वादविवादहरु पनि भइरहेका छन् । केही जानकारहरु ‘सिरी ए’ मा ३०/४० खेल पनि नखेलेको र च्याम्पियन्स लिगको अनुभव नभएको खेलाडीलाई इटालीको जर्सी दिन नहुने तर्क गरिरहेका छन् ।

इटालीमा केही फुटबलमा जानकारहरु भने कसले कति खेल खेल्यो भन्दा पनि उसको क्षमता के छ र उसले कति मेहनत गर्छ भन्ने कुरालाई विचार गरिनुपर्ने बताउँछन् । उनीहरु म्यानसिनिमा विश्वास गर्ने हो भने उनलाई आफ्नो ढंगले काम गर्न दिनुपर्ने पनि बताउँछन् ।

म्यानसिनीले १९ वर्षका ज्यानिलोलाई इटाली राष्ट्रिय टिममा बोलाएपछि नै उनले रोमाबाट रियल मड्रिडविरुद्धको खेलमा डेब्यू गर्न पाए । त्यसपछि नै उनले फिरोनटिनाविरुद्ध सिरी एमा पनि डेब्यू गरे । म्यानसिनी यसअर्थमा आफूले चाहेको काममा सफल देखिन थालेका छन् ।

अहिले युईएफए नेसन्स लिगमा क्षमता परीक्षण गरिरहेको इटाली आउँदो आइतबार राति पोर्चुगलविरुद्ध खेल्दै छ । तीन खेलमा एक जित, एक बराबरी र एक हार व्यहोरेको इटालीले नयाँ प्रयोगमा नै समय लगाइरहेको देखिन्छ ।

म्यानसिनि प्रशिक्षक भएर आएपछि इटालीले खेलेका सात खेलमा दुई खेल मात्रै जितेको छ । तर पनि आइतबार पोर्चुगललाई हराउन सक्ने हो भने इटाली नेसन्स लिगमा समूहको शीर्षमा रहने छ ।

फिफा वरियतामा शीर्षमा समेत पुगेको इटाली गएको अगस्टमा इतिहासकै सबैभन्दा कमजोर बनेर २१ औं स्थानमा पुगेको थियो । त्यसपछि दुई स्थान चढेर अहिले १९ औं स्थानमा पुगेको छ ।

अहिले म्यानसिनिले ज्यानिलोलाई मात्रै होइन सान्ड्रो टोनालीलाई पनि राष्ट्रिय टिममा बोलाएर सबैलाई चकित पारेका छन् । बेरसिकाबाट खेल्ने टोनालीलाई मानिसहरु इटालीका लिजेण्ड खेलाडी आन्द्रे पिर्लोसँग तुलना गरिरहेका छन् । एउटै पोजिसनबाट उही शैलीमा खेल्ने त छँदै छ, टोनालीको कपाल पनि पिर्लोको जस्तै देखिन्छ ।

‘म्यानसिनिले यी खेलाडीलाई अवसर दिनुको उद्देश्य उनीहरुले बढी भन्दा बढी समय पाउन् र आफूलाई निखार्दै लगुन् भन्ने नै हो । वर्तमानलाई मात्रै होइन भविष्यलाई हेर्ने हो भने उनको काम सही देखिन्छ’ हर्नकास्टलले भने ।

भविष्यमा राम्रो होला जस्तो देखिएका खेलाडीलाई क्लबमा अवसर पाउलान् र बोलाउँला वा यु १७, यु १९ मा राम्रो गरेर नाम सुनिएला भन्दै पर्खने बानी म्यानसिनीको छैन ।

‘जस्तो कि उनी लुगा पसलमा लुगा किन्न जाँदा राम्ररी छान्छन्, मिले नमिलेको हेर्छन र सबै कुरा ठीक छ भने किन्छन् । ठीक त्यस्तै नै सबै कुरा ठीक छ भने खेलाडीलाई उमेर होला र खेलाउँला भनेर किन कुर्ने ?’ हर्नकास्टलले म्यानसिनिको व्यवहारबारे बताए ।

म्यानसिनीले कसरी नयाँ प्रयोग गरिरहेका छन् भन्ने नेसन्स लिगलाई नै हेर्दा पनि थाहा हुन्छ । नेसन्स लिगमा उनले पोल्याण्डविरुद्ध नयाँ प्रयोग गरे जसमा खेल १–१ को बराबरी भएको थियो । त्यसपछि पोर्चुगलसँगको खेलमा पनि उनले नयाँ खेलाडी र नयाँ शैली नै अपनाए जसमा इटाली १–० ले पराजित भयो ।

सबैबाट म्यानसिनीले एउटा उपयुक्त तरिकाको खोजी गरिरहेका छन् । त्यसमा फुटबलमा केही गर्न चाहने युवा खेलाडीको सहायताले उनलाई थप बल पनि मिलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment