Comments Add Comment

विदेशी पेन्सन खानेलाई पनि वृद्धभत्ता, प्रहरी एकेडेमी हटाएर हेलिप्याड !

१ मंसिर, काठमाडौं । शनिबार काठमाडौंबाट प्रकाशित पत्रिकाहरुले फरक फरक समाचारलाई प्रमुख स्थान दिएका छन् । नागरिक दैनिकले विदेशी पेन्सन खानेलाई वृद्धभत्ता दिने निर्णय गर्दा राज्यमाथि अर्बौं व्ययभार परेको विषयलाई मुख्य समाचार बनाएर छापेको छ ।

विदेशबाट पेन्सन प्राप्त गर्दै आएका व्यक्तिलाई वृद्धभत्ता रोक्न गर्ने निर्णयलाई केपी ओली नेतृत्वको वर्तमान सरकारले उल्टाउँदा राज्यमाथि तीन अर्ब रुपैयाँको व्ययभार थपिएको समाचारमा उल्लेख छ ।

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५ मा कुन पनि प्रकारको पेन्सन प्राप्त गर्ने व्यक्तिले वृद्धभत्ता नपाउने उल्लेख थियो तर मन्त्रिपरिषदको असोज २१ को बैठकले उक्त व्यवस्था उल्टाएर विदेशी पेन्सनवालालाई पनि वृद्धभत्ता दिने निर्णय गरेको छ । ‘विदेशी पेन्सन बुझ्नेले वृद्धभत्ता नपाउँदा भोट बैंक घट्ने निष्कर्ष साथ ओली सरकारले सस्तो लोकपि्रयताका लागि कार्यविधि उल्ट्याएर राज्यमाथि व्ययभार थप्ने निर्णय गरेको हो,’ समाचारमा लेखिएको छ ।

नागरिकले कम्बोडियामा पोलपोट नेतृत्वको खमेर रुज शासनकालका दुई जना उच्च नेता जातीय नरसंहारमा दोषी ठहरिएको समाचारलाई पनि पहिलो पृष्ठमा प्राथमिकताका साथ छापेको छ ।
साथै कोलम्बो प्रोसेस बैठकले २७ बुँदे काठमाडौं घोषणा पत्र जारी गरेको र यो कामदारको पक्षमा रहेको विषयलाई पनि नागरिकले स्थान दिएको छ ।

प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई हटाएर हेलिप्याड

कान्तिपुर दैनिकमा राष्ट्रपति कार्यालय शितल निवास सँगै रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई हटाएर हेलिप्याड बनाउने तयारी गरिएको मुख्य समाचार छापिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको दबावमा सरकारले राष्ट्रपति कार्यालय र निवास विस्तार गर्न महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेको पनौतीमा सार्ने निर्णय गरेको समाचारमा उल्लेख छ ।

प्रहरी तालिमको क्रममा हुने होहल्ला र फायरिङले दिनहुँजसो ‘डिस्टर्ब’ हुने गरेको र राष्ट्रपतिलाई हेलिकोप्टरबाट उपत्यकाबाहिर जान आउन निवासभित्रै ‘स्थायी हेलिप्याड’ बनाउनका लागि फराकिलो ठाउँ चाहिएकाले सरकारले प्रहरी प्रतिष्ठान सार्ने निर्णय पनि गरेको समाचारमा उल्लेख छ ।

काभ्रेको पनौतीमा भारत सरकारको सहयोगमा प्रहरी प्रशिक्षण बनाउने भनिए पनि शिलान्यास भएको पाँच वर्ष बितिसक्दा पनि अझै काम सुरु हुन सकेको छैन ।

कान्तिपुर दैनिकले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ रामजानकी विवाहपञ्चमीमा जन्ती बनेर जनकपुर आउने समाचारलाई पनि पहिलो पृष्ठमा स्थान दिएको छ । यस वर्षको विवाहपञ्चमी यही मंसिर २६ गते परेको छ । योगीसहित आउने जन्तीलाई स्वागत गर्ने तयारी प्रदेश २ सरकारले थालिसकेको छ ।

विवाहपञ्चमीकै अवसरमा जनकपुर-जयनगर रेलको पनि उदघाटन गरिने समाचारमा उल्लेख छ ।

सूचनामा सरकार संकीर्ण

अन्नपूर्ण पोष्ट दैनिकले मन्त्रिपरिषद बैठकका निर्णय एक सातासम्म गोप्य राख्नुलाई सरकार संकीर्ण बनेको निष्कर्षसहित मुख्य समाचार छापेको छ । अन्नपूर्ण समाचारमा लेख्छ, ‘संसार सूचना प्रविधिको युगमा छ । सूचना सम्प्रेषणको तीव्रताले समाज विकासको गति पनि बढाउँछ । गणतन्त्रपछिको सरकार भने सूचना लुकाउनुलाई नै आफ्नो शक्ति ठान्न थालेको छ ।’

मन्त्रिपरिषदका निर्णय हरेक विहीबार पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गर्ने सरकारले गरेको छ । एक सातासम्म सार्वजनिक नगर्ने नयाँ अभ्यासले सरकारलाई स्वेच्छाचारी बाटोतिर लैजाने समाचारमा उल्लेख छ ।

प्रधानमन्त्री केपी ओलीले पछिल्लो मन्त्रिपरिषद बैठकमा सरकार सूचना बाहिर नलैजान मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

अन्नपूर्ण पोष्टमा सरकारले तीन दिनभित्र समाजकल्याण परिषदको भवन खालि गराउन निर्देशन दिएको समाचार प्राथमिकताका साथ छापिएको छ । परिषदको भवन र जग्गा उपराष्ट्रपति कार्यालयलाई सरकारले उपलब्ध गराएको छ ।

सामाजिक कामका लागि दानबाट प्राप्त भएको परिषदको जग्गा ०३७ सालमा सरकारको स्वामित्वमा आएको थियो ।

राजधानी दैनिकले जनमतका माध्यमबाट निर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिदेखि जनप्रतिनिधिसम्मले विलासी र सुखमय जीवन बढी रुचाउन थालेको समाचार प्राथमिकताका साथ छापेको छ । साथै प्रदेशभित्रका कर्मचारी, प्रहरी, संगठित संस्था र स्थानीय सेवामा कार्यरत कर्मचारीको भर्ना अब प्रदेश लोकसेवा आयोगले गर्ने समाचार पनि राजधानी दैनिकमा छ ।

अधिकांश मन्त्रालयले विदेश भ्रमणको खर्च लुकाएको, कोलम्बो प्रोसेस बैठक काठमाडौं घाेषणापत्र जारी गर्दै सकिएको समाचार पनि राजधानीको पहिलो पृष्ठमा छन् ।

नयाँ पत्रिका दैनिकले सरकारी अस्पतालहरुको अवस्थाबारे पहिलो समाचार छापेको छ । बीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, परोपकार प्रसूति गृह, सिभिल अस्पताल, शहिद गंगालाल मुटुरोग अस्पताल र कान्ति बाल अस्पतालको अवस्थाबारे समाचारमा समेटिएको छ ।

यसैगरी पूर्व-पश्चिम राजमार्ग चार लेनको बन्ने र माइक्रो बस चालक र सहचालकलाई आजबाट पोशाक अनिवार्य गरिएको समाचार पनि नयाँ पत्रिका दैनिकमा छ ।

गोरखापत्र दैनिकले कोलम्बो प्रोसस बैठकको निर्णयबारे पहिलो प्राथमिकताका साथ समाचार छापेको छ । बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गरिने समाचारको सार छ ।

क्यान्सरको प्रमुख कारण सुर्तीजन्य पदार्थ रहेको, तत्कालीन एमाले र माओवादी एकता भएको ६ महिनापछि नेकपाको एउटै संसदीय कार्यालय रहने भएको, बक्स अफिस कार्यान्वयनमा अझै अलमल रहेको लगायतका समाचारलाई पनि गोरखापत्रले पहिलो पृष्ठमा स्थान दिएको छ ।

हेर्नुहोस् आजका पत्रिकाको फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment