Comments Add Comment

ओली र प्रचण्डलाई २२ नेताको पत्र : पक्षपातको सीमा नाघ्यो

५ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २२ केन्द्रीय सदस्यले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड समक्ष ज्ञापनपत्र बुझाएका छन् ।

अध्यक्षद्वयले भेट्न समय नदिएपछि उनीहरुले महासचिव विष्णु पौडेलमार्फत ज्ञापनपत्र बुझाएका हुन् । बुधबार नेकपाको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा महासचिव पौडेललाई भेटेर बुझाइएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

ज्ञापनपत्रमा नेकपा राजनीतिक र सांगठानिक रुपमा शिथिल भएको भन्दै तत्काल बैठक बोलाउन माग गरिएको छ । तत्काल पोलिटव्यूरो गठन गर्नुपर्ने, सचिवालयलाई सर्वेसर्वा बनाउन नहुने, स्थायी कमिटीलाई कार्यकारी बनाउनुपर्ने र पार्टीका सबै कमिटीको एकीकरण निश्चित मापदण्डका आधारमा टुंग्याउन उनीहरुले माग गरेका छन् ।

पार्टीमा पक्षपातले सीमा नाघेको ज्ञापन पत्र बुझाउने २२ केन्द्रीय सदस्यको साझा निष्कर्ष छ । जिम्मेवारी वितरणमा हैदसम्म पक्षपात पूर्ण व्यवहार गरिएको भन्दै भनिएको छ, कसैलाई काममाथि कामको तथा अवसरमाथि अवसरको बोझ थपिएको छ भने मन नपरेका मानिसहरुलाई जिम्मेवारीविहीन बनाइएको तितो अनुभव हामीसँग ताजै छ ।’

‘हालै सचिवालयका नाममा गरिएको प्रादेशिकस्तरको कार्य विभाजनले त पक्षपातको सीमा नै नाघेको छ’ उनीहरुले भनेका छन्, ‘विधि हेरेर होइन, व्यक्ति हेरेर दोहोरो चरित्र देखिने गरी मुख्यमन्त्री तथा सांसदहरुलाई प्रदेशको पार्टी कामको कार्यकारी जिम्मेवारी प्रदान गरिएको छ । अन्य पदमा पनि मनलाग्दी गरिएको छ ।’

पार्टी एकतापछि केन्द्रीय सदस्यदेखि स्थायी कमिटी सदस्यहरुलाई कामविहीन बनाएनु पार्टी कामप्रतिको हदैसम्मको लापरवाही र असफलता भएको नेताहरुले बताएका छन् ।

मन्त्री चयनदेखि राजनीतिक नियुक्तिहरुमा कुने विधि र पद्दती पालना नभएको तथा संसदीय दल बैठकलाई केही नेताको भाषण सुनाउने थलो बनाएको भन्दै उनीहरुले विरोध गरेका छन् । कुनै छलफल समीक्षा वा आलोचना नै हुन नदिएपछि कसरी गल्ती कमजोरी पत्ता लाग्छन् ? कसरी सुधार हुन्छन् ? उनीहरुले अध्यक्षद्वयलाई प्रश्न गरेका छन् ।

सरकारले मुलुकको दीर्घकालीन हितका लागि पूर्वाधार विकासमा केही राम्रा काम थालेको तर, सुशासनको क्षेत्रमा सरकार सर्वत्र आलोचित भएको नेकपाका २२ केन्द्रीय सदस्यको ठहर छ । भ्रष्टाचार, महंगी, कालोबजारी नियन्त्रण, शान्ति सुरक्षा कायम जस्ता विषयमा सरकार कामजोर भएको भन्दै नेताहरुले सरकारमाथि सबैको भरोसा टुट्ने त होइन भन्ने आशंका व्यक्त गरेका छन् ।

‘सरकारले गरेका प्रयासहरु भन्दा उनीका क्रियाकलापका कारण आलोचनाको चाङ धेरै अग्लो बनेको छ’ २२ नेताले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘सरकार मात्र होइन, राष्ट्रप्रमुख र उपप्रमुख पनि सुविधाभोगको लपेटामा वेरिदै गरेको दुःखदायी स्थिति प्रकट भइरहेको छ ।’

ज्ञापनपत्र बुझाउने २२ केन्द्रीय सदस्यहरु तत्कालिन नेकपा एमालेभित्र माधव नेपाल समूहमा आवद्ध युवा हुन् । ज्ञापनपत्र बुझाउनेमा डा. विजयकुमार पौडेल, जगन्नाथ खतिवडा, ठाकुर गैरे, सत्रुघन महतो, जयन्ती राई, ममता गिरी, रामकुमारी झाँक्री, निरज आचार्य, तुलबहादुर गुरुङ, माधव अर्याल, विजय गुरुङ, लगायत छन् ।

हेर्नुहोस् ज्ञापनपत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment