७ मंसिर, काठमाडौं । इंग्लिस क्लब चेल्सीका मिडफिल्डर एन्जोलो कान्टेले २०२३ को जुनसम्मका लागि क्लबसँग नयाँ सम्झौता गरेका छन् ।
२७ वर्षका कान्टेले चेल्सीसँग हप्ताको दुई लाख ९० हजार पाउण्ड लिने गरी सम्झौता गरेको बताइएको छ । जसले कान्टेलाई चेल्सीको इतिहासमै सबैभन्दा महँगो खेलाडी बनाएको छ ।
‘चेल्सीसँग समय थप गर्न पाउँदा मलाई खुशी लागेको छ । यहाँ दुई वर्ष रहँदा धेरै राम्रा यादहरु छन्, अझै राम्रा दिनहरु आउने छन् भन्ने विश्वास छ’ कान्टेले सम्झौता थप भएपछि भने, ‘म चेल्सी आएपछि एउटा पूर्ण खेलाडीको रुपमा विकास भएँ । आफैलाई चुनौती दिएर राम्रो गर्न लागिपरिरहेको छु ।’
कान्टे २०१६ मा ३० मिलियन पाउण्डमा लिसेस्टर सिटीमा चेल्सी आएका थिए । लिसेस्टरमा रहँदा उत्कृष्ट खेलले सबैलाई चकित पार्दै उनले २०१५–०१६ मा प्रिमियर लिग नै जितेका थिए । चेल्सी आएको पहिलो वर्ष २०१६–०१७ मा पनि उनी प्रिमियर लिग विजेता नै बने ।
त्यही वर्ष उनले प्रोफेसनल फुटबलर्स एशोसिएशन प्लेयर अफ दि एयरको उपाधि पनि जितेका थिए ।
२०१८ को विश्वकप फ्रान्सलाई जिताउन पनि कान्टेको भूमिका प्रमुख थियो । डिफेन्सिभ मिडफिल्डरको भूमिकामा मात्रै होइन पूरा खेल बुझेर खेल्ने कान्टेको क्षमता उत्कृष्ट छ ।
प्रतिक्रिया 4