Comments Add Comment

अस्ट्रेलियामा नेपाल फेस्टिबलः देश एक, कथा अनेक

सिड्नी । यो अस्ट्रेलिया हो, सिंगो पृथ्वीमा दक्षिण पूर्वमा जमेको देशमात्र नभई एक महादेश हो । यहाँ नेपाली पाइला टेकिएको पाँच दशक पुग्ने लाग्दा यो नेपालीहरुको पनि प्यारो महादेश हो । अब अस्ट्रेलिया एक लाख नेपालीको कर्तब्य थलो पनि हो । विश्वका धेरै संस्कृतिको संगम हो अस्ट्रेलिया । अहिले बहुसांस्कृतिक नेपालका धेरै संस्कृतिहरुको संगम पनि अस्ट्रेलिया भएको छ ।

अस्ट्रेलिया नेपालीको अब कर्म थलो मात्रै नभई जन्मथलो पनि हो । अस्ट्रेलिया जन्मिएका पहिलो नेपालीले यहि अगस्त १९ मा आफ्नो ४४ औं जन्मदिन मनाएका छन् । उनी १९७४ मा जन्मिएका थिए । अस्ट्रेलियामा पहिलो स्थायी बसोबास गर्ने नेपाली डा नारायण प्रधान र लिला प्रधानका पहिलो सन्तान संगम प्रधान अस्ट्रेलियाको माटोमा जन्मिएका पहिलो नेपाली मुलका अस्ट्रेलियन नागरिक हुन् । उनका भाइ निलम प्रधान दोश्रो र १९६९ अस्ट्रेलियामा पाइला टेक्ने पहिलो नेपाली अमृत तन्डुकारकी छोरी अनिता तन्डुकार तेस्रो नेपाली मूलका अस्ट्रेलियन हुन् ।

अनलाइनखबरले यो जानकारी डा. नारायण प्रधानको भनाइमा आधारित भएर दिएको छ , तर आधिकारिक अनुसन्धानको निष्कर्षमा भने हामी यो सूचना सच्याउने छौं ।

अष्ट्रेलियामा नेपालीको आवादी

अस्ट्रेलियामा नेपाली पाइलाका शुभनामहरु अमृत तन्डुकार, नारायणरलीला प्रधान र इन्द्रा वन नै हुन् । अस्ट्रेलियामा नेपाली पाइलाको झन्डै पचास वर्ष पुग्न लाग्दा र नेपाली नाभी गाडिएको ४४ औं बसन्त सुरु हुँदा अब यहाँ नेपालीका संघर्षका हजारौं कथा खोज्ने बेला भएको छ । अस्ट्रेलियामा जन्मिएका संगम प्रधान, निलम प्रधान र अमृता तन्डुकार सबै नेपाली संस्कृतिलाई निकै माया गर्छन् र सम्पूर्ण रुपमा नेपाली संस्कृति अपनाउँछन् । संगम र निलमले पहिलो पटक आफ्नो पितृ भूमि नेपालमा १९७९ मा पाइला टेकेका थिए र उनीहरुको १९८४ मा नेपालमै व्रतवन्ध भएको थियो । नेपाली भूमिमै भएको उनीहरुको व्रतवन्धको मण्डपमा भिक्षाटनबाटै सायद अस्ट्रेलियन नेपाली संस्कृतिको कथा लेखन सुरु हुन्छ । उनीहरुको पहिलो पुस्ताको संघर्षको कथा भने अब पुनर्लेखन मात्रै हो ।

अस्ट्रेलियामा नेपालीहरुको संस्थागत उपस्थिति भएको भने ४२ वर्ष भएको छ । तत्कालीन नेपाली विद्यार्थी श्री शाहको अगुवाईमा १९७६ मा सुरु भएको नेपलिज अस्ट्रेलियन एसोसिएशन पहिलो नेपाली संस्था हो । तर अहिले सयौंको संख्यामा नेपाली सामुदायिक संस्थाहरु छन् ।

नेपालीको संख्या अस्ट्रेलियामा एक लाख बढेको आधिकारिक तथ्यांक आउँन बाँकी छ तर अस्ट्रेलियामा नेपालीहरुको बसोबास र अवस्थाबारे अनुसन्धान गरिरहेका युनिभर्सिटी अफ न्यू साउथ वेल्सका असोसियट प्रोफेसर डा. कृष्ण कुमार श्रेष्ठको दाबी अनुसार अस्ट्रेलियामा नेपालीहरुको संख्या एक लाख बढेको छ । यहाँ भएका नेपालीको संख्या बढेसँगै उनीहरुको आर्थिक गतिविधि पनि बढेको छ । डा. श्रेष्ठको भनाइमा– नेपालीहरुको संख्या, आर्थिक तथा शैक्षिक गुणस्तर बढे पनि बहुसांस्कृतिक देश अस्ट्रेलियाको मूल प्रवाहमा उपस्थिति भने सन्तोषजनक छैन ।

शेष घलेः समाजसेवाको उच्चतम नमूना

गैरआवासीय नेपाली अभियान सुरु भएको १५ वर्ष अगाडि २००३ को अगस्तमा बेलायतको लन्डनस्थित एती रेस्टुरेन्टमा उपस्थित भएका दीपक खड्का सोही साल अस्ट्रेलिया आइपुगे र अस्ट्रेलियालाई आफ्नो कर्म थलो बनाए । उनको उपस्थितिलाई गैरआवासीय नेपाली संघको स्थापनामा अस्ट्रेलियाको योगदान भन्न सकिन्छ । त्यसपछि अस्ट्रेलियाले गैरआवासीय नेपाली संघको दुई कार्यकाल (२०१३–२०१५ र २०१५–२०१७) को लागि विश्व नेतृत्व गरिसकेको छ ।

अस्ट्रेलियाबाट गैरआवासीय नेपाली संघको विश्व समितिको प्रमुख नेतृत्व गरेका शेष घलेले प्रवासी नेपालीहरुले नेपालका लागि गर्ने आर्थिक तथा वौद्धिक लगानी र समाजसेवाको उच्चतम नमूना पेश गरिसकेका छन् । नेपालमा गएको महाभूकम्पमा उद्धार, राहत तथा नवनिर्माणमा उनको टिम सक्रिय भएको थियो । उनले नेपालीहरुको विश्वस्तरमा संयुक्त राष्ट्रसंघीय उचाइको सन्जाल बनाउने सपना पनि अगाडि सारेका छन् ।

पहिलो नेपाल महोत्सव

अस्ट्रेलियामा भने गैरआवासीय नेपाली संघको स्थापना २००५मा भएको थियो । गैरआवासीय नेपाली अभियन्ता गोवा कटवालको घरमा भएको एउटा बैठकमा नेपाल फेस्टिबलको अबधारणा अगाडि आयो र एनआरएन अस्ट्रेलियाका पहिलो अध्यक्ष मन केसीको नेतृत्वमा २००६मा अस्ट्रेलियामा पहिलो नेपाल महोत्सवको आयोजना भयो । सायद यो विश्वभरिका प्रवासी नेपालीको लागि आफ्नो संस्कृति, भेषभुषा, खाना र मातृभूमि सम्झाउने पहिलो सामुदायिक अवधारणा थियो । पहिलो नेपाल फेस्टिबल आयोजनामा सक्रिय भएका अस्ट्रेलियामा पहिलो नेपाली कानून व्वयसायी शमशेर सिंह थापा नेपाल फेस्टिबलको निरन्तरता निकै प्रशंसनीय कुरा भएको बताउँछन् । तर उनी निरन्तरतामा क्रमभंग होस् भन्ने चाहन्छन् । उनी भन्छन्, ‘उही तरिकाको नक्कलको निरन्तरतामा भने अब क्रम भंग हुनु पर्छ ।’

२००६ को पहिलो नेपाल फेस्टिबल आयोजना हुदा व्यवस्थापनमा झन्डै पाँच हजार अस्ट्रेलियन डलर घाटा हुने देखिएपछि शम्सेर सिंह थापाले फेस्टिबलको मन्चमा गएर अर्थ संकलनको नेतृत्व गरेको र घाटा तत्कालै नाफामा परिणत भएको हाल न्यू साउथ वेल्सका लागि नेपालका महावाणिज्य दूतसमेत रहेका दीपक खड्काले स्मरण गरे ।

आज नेपालमा सूर्योदय हुनुअघि अस्ट्रेलियाको सिड्नीको मुख्य केन्द्र टाउन हलमाथि चन्द्रसूर्य अंकित नेपाली राष्ट्रिय झण्डा र अस्ट्रेलियन राष्ट्रिय झण्डा बोकेका हजारौं नेपालीले परेड सुरु गरेका छन् । नेपाली संस्कृतिका विभिन्न पोशाक, बाजागाजा र रहन सहन सहितका नारी–पुरुषहरुको लोभलाग्दो समृद्ध सांस्कृतिक परेड यहाँको केही किलोमिटर शहरको परिक्रमा गर्दै नेपाल फेस्टिबल स्थलमा जम्मा भएको अर्को मानव सागरसँग मिसियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment