Comments Add Comment

वीरगञ्ज बसपार्क निर्माणले गति लियो, मंसिरमै सञ्चालनमा ल्याउने तयारी

१० मंसिर, वीरगञ्ज । वीरगञ्जमा निर्माणाधीन अवस्थामा रहेको सुविधा सम्पन्न अत्याधुनिक बस टर्मिनलको कामले गति लिएको छ । विविध बहानामा ढिलासुस्ती भएको कामले चाडपर्व सकिएपछि गति लिएको हो ।

अहिले धमाधम भुइँमा कालोपत्रे, मुख्य भवन र पेटी निर्माणको काम चलिरहेको छ ।

जर्मन विकास बैंकको ऋण सहयोगमा वीरगञ्ज नगर विकास कोषमार्फत झण्डै १८ करोडको लागतमा वीरगञ्जमा अत्याधुनिक बसपार्क निर्माण भइरहेको छ ।

साढे ४ विगाहा क्षेत्रमा निर्माणाधीन अत्याधुनिक वर्षपार्क पटक-पटकको विवाद र मुद्दा मामिलापछि १५ महिनाको कार्यअवधिसहित २०७१ फागुनमा ठेक्का सम्झौता भएको थियो ।

निर्माणको जिम्मा पाएको आशिष-पप्पु-रोशन जेभीले विभिन्न समस्या देखाउँदै निर्माणमा ढिलासुस्ती गर्दै आएको थियो ।

वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी निर्वाचित भएलगत्तै वीरगञ्ज बसपार्कको निर्माणले गति लिन नसक्नुको कारणबारे बुझ्न पुगेका थिए । उनले त्यसवेलै अवरोध हटाउन पहल गर्ने आश्वासनसमेत दिएका थिए ।

वीरगञ्ज महानगरपालिकाले ताकेता गरेर अवरोध हटाएपछि अहिले बसपार्कको कामले गति लिएको हो । ठेकेदार पक्षले बसपार्कमा ८५ प्रतिशत काम सम्पन्न भएको दावी गरेको छ ।

पटक-पटक म्याद थपेर पनि काम सम्पन्न नभएको आलोचना खेपिरहेको निर्माण कम्पनीले बसपार्कमा तदारुकताका साथ काम अघि बढाएको छ । जसले गर्दा निर्माणको प्रगति पनि देखिन थालेको छ ।

बसपार्क निर्माणले गति लिएसँगै १५ वर्षदेखि भोग्दै आएको सास्तीबाट मुक्ति मिलेको होटल सञ्चालक रमेश चौधरीले बताए । ‘झण्डै १५ वर्ष धुलो र हिलोको कष्ट सहृयौं, अहिले नाला बनेको छ, सरसफाइ पनि बढेको छ,’ उनले भने, ‘अब बसपार्क पूर्णरुपमा बनेर चलेपछि व्यापार पनि बढ्छ भन्ने आशा लागेको छ ।’

विगतमा विभिन्न अवरोध विद्यमान भएकोले कामले गति लिन नसकेको स्वीकार गर्दै कन्सल्टेन्ट कम्पनी सितारा कन्सल्ट प्रालिका कन्स्ट्रक्सन म्यानेजमेन्ट ईन्जिनियर अमित श्रीवास्तवले अब खासै समस्या नरहेकोले काम धमाधम अघि बढिरहेको बताए । ‘डेढ वर्षसम्म बिजुलीको तार हटाइएन, साइड क्लियरेन्स नभएकै कारण काम गर्न समस्या भयो, अहिले समस्या समाधान भएपछि कामले गति लिइसकेको छ,’ उनले भने, ‘४/५ दिनमा भुइँमा पिचको काम सकिन्छ, मंसिरभित्र मुख्य भवनलगायत संरचना निर्माणको काम सक्ने लक्ष्यका साथ काम भइरहेको छ ।’

ठेकदार कम्पनी रोशन कन्स्ट्रक्सन कम्पनीको कन्स्ट्रक्सन म्यानेजमेन्ट ईन्जिनियर शैलेन्द्र चौधरीले ८५ प्रतिशत काम सम्पन्न भइसकेको दावी गरेका छन् । ‘विगतमा धेरै समस्या आयो, उत्तर साइडको बाउन्डरी वाल अदालतको स्टे अर्डर आएका कारण शुरुमै बन्नुपर्ने अझै बन्न सकेको छैन, डिजाइन समयमा आएन,’ चौधरीले अगाडि भने, ‘अहिले लगभग ८५ प्रतिशत काम सकाइसकेका छौ, भुइँ कालोपत्रे गर्ने काम धमाधम चलिरहेको छ, फुटपाथ, पेन्ट र भवन फिनिसिङको काम समेत मंसिर भित्र सकाएर निर्माण सम्पन्नको कागज लिने तयारीमा हामी छौं । त्यसपछि नगरपालिकाले आफ्नो हिसाबले सञ्चालनमा ल्याउँछ ।’

तर, अझैपनि बसपार्कको जमीनमा सञ्चालनमा रहेका डेढ दर्जन पसलहरु हटाउन बाँकी रहेको ईन्जिनियर चौधरी बताउँछन् । सँगै निर्माण सम्पन्न भइसकेका कामको पनि भुक्तानी नपाएकोले समेत समस्या भएको उनको भनाइ छ ।

अब निर्माणमा ढिलाइ गर्नुपर्ने कुनै कारण नरहेकोले एक महिनाभित्रै सञ्चालनमा ल्याउने गरी काम सम्पन्न गर्न निर्देशन दिइसकिएको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगी बताउँछन् ।

उनले अब बसपार्क निर्माणको लागि भनेर म्याद थप्ने काम नहुने बताए । ‘सानोतिनो काम बाँकी रहृयो भने ठेकेदारले म्याद थप नगरी नै गर्नुपर्छ, अब म्याद थप्ने काम हुन्न, सञ्चालनमा ल्याउने मात्रै काम हुन्छ ।’ नगर प्रमुख सरावगीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment