१२ मंसिर, काठमाडौं । छैटौ संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा आर्मीलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लबले उपाधि जितेको छ ।
विभागीय डर्बीमा आर्मीलाई टाइब्रेकरमा पराजित गर्दै एपीएफले उपाधि रक्षा गरेको हो । काठमाडौंको भद्रकालीस्थित आर्मीको खेल मैदानमा भएको खेलमा एपीएफ पेनाल्टी सुटआउटमा ४–२ ले विजयी बन्यो ।
उपाधिसँगै एपीएफले तीन लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता बनेको आर्मीले १ लाख ५० हजार रुपैयाँ पायो ।
निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा एपीएफका साबित्रा भण्डारी, रेनुका नगरकोटी, अनु लामा र अनिता बस्नेतले गोल गरे । गीता रानाले पेनाल्टीमा गोल गर्न सकिनन् ।
आर्मीका अन्जना राना मगर र निशा बोहराले गोल गरे । तर, कृष्णा खत्री, अन्जली सुब्बा र इन्दिरा राईले गोल गर्न नसक्दा आर्मी उपाधिबाट बन्चित भयो ।
खेलमा १९ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । ६३ औं मिनेटमा आर्मीकी बिमला चौधरीले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् ।
प्रतियोगितामा आर्मीकी पुनम जर्गा मगर सर्वोकृष्ट खेलाडी घोषित भइन् । उनले एउटा स्कुटर पुरस्कार पाइन् ।
यस्तै उत्कृष्ट फरवार्ड एपीएफकी साबित्रा भण्डारी, मिडफिल्डरमा आर्मीकी बिमला चौधरी, डिफेन्डरमा आर्मीकी सुमित्रा चौधरी, गोलकिपरमा एपीएफकी एन्जिला सुब्बा र उत्कृष्ट प्रशिक्षक एपीएफका जनक सिंह घोषित भए । उत्कृष्ट हुने सबैले समान ५÷५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतिक्रिया 4