Comments Add Comment

जाडोमा हाडजोर्नीको दुखाईः गर्न सकिन्छ घरमै उपचार

जाडो मौसममा हाडजोर्नीको समस्याले धेरैलाई सताउने गर्छ । अझै विशेषगरि बुढापाका, गर्भवती, रोगी आदिलाई बढी दुख दिन्छ ।

जोर्नीको दुखाई सामान्य र गम्भिर दुवै खालको हुन्छ । सामान्य दुखाईलाई त खानपान र जीवनशैलीमा परिवर्तन गरेर ठिक गर्न सकिन्छ तर, गम्भिर दुखाईको लागि उपचारको आवश्यकता हुन्छ ।

एक अध्ययनका अनुसार हरेक ४ व्यक्तिमा १ जना जोर्नीको दुखाईबाट पिडित छन् । यो समस्या पुरुषहरुको तुलनामा महिलाहरुलाई धेरै हुन्छ ।

किन हुन्छ जोर्नीको दुखाई ?

जोर्नी दुख्ने विभिन्न कारणहरु हुन सक्छन् । जस्तैः बोन फ्लुइड वा मेम्बे्रेनमा परिवर्तन आउनु, चोट लाग्नु वा भित्रभित्रै कुनै रोगको संक्रमण बढ्नु, हड्डीको क्यान्सर, आर्थाइटिस, मोटोपना, ब्लड क्यान्सर आदि ।

यस्तै उमेर बढ्दै जाँदा जोर्नी बीचको कार्टिलेज कुसन लचिलो र चिल्लो बनाइराख्ने लुब्रिकेन्ट्स कम हुने, लिगामेन्टको लम्बाई र लचिलोपना कम हुने आदि समस्याले पनि जोर्नी दुख्छ ।

जोर्नीलाई कसरी स्वस्थ राख्ने ?

जोर्नीको दुखाई खासगरि आर्थाइटिसको कुनै उपचार छैन । तर, केही उपाय छन् जसलाई अपनाएर यसको चपेटामा आउनबाट बच्न सकिन्छ वा यसको चपेटामा आइहाले पनि यसको असरलाई कम गर्न सकिन्छ ।

आर्थाइटिसको कारण जोर्नीमा हुने कार्टिलेजको नोक्सान हुन्छ । यो ७० प्रतिशत पानीबाट बनेको हुन्छ, त्यसैले धेरै पानी पिएर यसलाई नोक्सान हुनबाट बँचाउन सकिन्छ ।

क्याल्सियमयुक्त खानेकुरा

क्याल्सियमयुक्त खाद्यपदार्थ जस्तै दूध, दूधबाट बनेका चीज, ब्रोकाउली, सालमन माछा, पालुंगो, राजमा, बदाम, तोफु आदिको सेवन गर्नुहोस् ।

भिटामिन सी र डी स्वस्थ जोर्नीको लागि उपयोगी हुन्छ । यसैले यसबाट भरपुर खाद्यपदार्थ जस्तै स्ट्रबेरी, सुन्तला, किवी, पाइनापल, काउली, ब्रोकाउली, बन्दा, दूध, दही माछा आदिको पर्याप्त सेवन गनुैहोस् ।

घाम ताप्नुपर्छ

दिनमा केही समय घाम ताप्नुहोस् । यसले शरीरलाई भिटामिन डि मिल्छ । आफ्नो तौललाई नियन्त्रणमा राख्नुहोस् । तौल धेरै हुनाले जोर्नीमा दबाब पर्छ ।

नियमित व्यायाम

नियमित एक्सरसाइज गर्नुहोस् जसले जोर्नी अरठ्ठ हुने समस्या कम गर्न सहायता गर्छ । तर, हेभी व्यायाम गर्नबाट बच्नुहोस् जसले जोर्नीमा धेरै दबाब पर्छ ।

रक्सी र चुरोट त्याग

मदिरा र धुम्रपानको सेवनले जोर्नीलाई नोक्सान पुग्छ । आर्थाइटिसबाट पिडित मानिसले यदि धुम्रपान र मदिरापान नगर्ने हो भने उनीहरुको जोर्नी र मांसपेसी मजबुत हुन्छ र दुखाईमा पनि कमी हुन्छ ।

फलफूल र घरेलु औषधी

फलफूल र सब्जीहरुको सेवन धेरै मात्रामा गर्नुहोस् । यसले ओस्टियो आर्थाइटिसबाट बच्न सकिन्छ ।  त्यस्तै जाडो महिनामा अदुवा र बेसारको सेवन गर्नुहोस् । यसले जोर्नी सुन्निने समस्यालाई कम गर्छ ।

सुन्निन बढाउने पदार्थहरु जस्तै नुन, चिनी, मदिरा, क्याफिन, तेल, ट्रान्स फ्याट र रातोमासुको सेवन कम गर्नुहोस् ।

सक्रिय शरीर

आरामदायी जिन्दगी नजिउनुहोस् । पैदल हिँड्ने, जगिङ गर्ने, डान्स गर्ने, जिम जाने, सिँढी चढ्ने वा हल्काफुल्का व्यायाम गरेर पनि हड्डीलाई मजबुत बनाउन सकिन्छ ।

जाडो मौसममा राख्नुहोस् विशेष ध्यान

– जाडो मौसममा जोर्नीको दुखाईले धेरै सताउँछ । किनभने यो मौसममा मानिसहरु आराम धेरै गर्छन् । यसले शारीरिक सक्रियता कम हुन्छ । दिन छोटो र रातो लामो हुने कारणले जीवनशैली परिवर्तन हुन्छ ।

– जाडोमा मानिसको खानपानको बानी पनि परिवर्तन हुन्छ । मानिसहरु व्यायाम गर्न खोज्दैनन जसले यो समस्या अझै बढ्छ ।

–जाडोमा आँटाको रोटी र मुगको दाल सेवन गर्नुहोस् । तातो तातो सुप पिउनुहोस् । हरियो सागसब्जीहरु लौका, फर्सी, काँक्रो, आदिको सेवन गर्नुहोस् ।

–नियमित व्यायाम गर्नुहोस्, शारीरिक रुपमा सक्रिय रहनुहोस् । यसले मांसपेसीलाई खुल्नमा मद्धत मिल्छ र जोर्नीलाई सजिलो बनाउँछ ।

–बाहिर तापक्रम अत्याधिक कम हुन्छ त्यसैले चिसोमा बाहिर धेरै नहिँड्नुहोस् । शरीरलाई सँधै तातो कपडाले ढाक्नुहोस् । पानी धेरै पिउनुहोस्, प्रतिदिन ८-१० गिलास पानी पिउनुहोस् । यदि औषधि सेवन गर्नुहुन्छ भने नियमित समयमा लिनुहोस् ।

–चिसोबाट आफूलाई बँचाउनुहोस् । जुन भागमा दुख्छ त्यस भागलाई न्यानो कपडाले बेर्नुहोस् ।

– जोर्नीको दुखाईसँगै अन्य समस्या जस्तै सुन्निने, रातो देखिने समस्या छ भने तुरुन्त डाक्टरलाई देखाउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment