Comments Add Comment

होलीमा होशियारीः बालबालिकालाई हानी होला है

होली पर्व विधिवत् रुपमा सुरु भएको छ । काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा चीर ठड्याएसँगै होली सुरु भएको मानिन्छ ।

यद्यपी रंगहरुको यो उत्सवको उत्कर्ष भने बाँकी नै छ । साता दिनपछि रंगहरुको उत्सवले राजधानी लगायतका गाउँ-शहरलाई रंगीन बनाउनेछ । होली सप्तरंगी पर्व हो, जसले जीवनमा बेग्लै उत्साह, उमंग संचार गराउँछ ।

आफन्त, चिनेजानेका, साथीभाई, नातेदारवीच रंग दलेर खुसीयाली साट्ने मेलो हो यो । तर, अहिले होली भड्किलो बन्दैछ । साथै यसको वास्तविक मर्म र महत्वलाई पन्छाएर जथाभावी भद्दा मनोरञ्जन गर्न थालिएको छ । त्यसैले त होलीको बेला प्रहरी-प

शासनले उच्छृंखलता बढ्न नदिन थप सर्तकता अपनाउने गर्छ ।

होलीका क्रममा निकै दुःखदायी घटना पनि घट्ने गरेका छन् । होला खेल्ने क्रममा छतबाट लडेर कतिले ज्यान गुमाएका छन् । त्यसैगरी होलीमा प्रयोग गरिने रसायनयुक्त रंगहरुको प्रयोगले कतिको अंगभंग भएको छ । होलीमा हानिकारक रसायन प्रयोग गर्दा त्यसले मिर्गौला लगायत शारीरिक अंगमा हानी पुग्ने पनि बताइन्छ ।

तर, कति अभिभावक, बालबच्चा, तन्नेरीलाई यी कुरामा ख्याल हुन्न । यही कारण उनीहरुको लागि होली एक जोखिम बनेर आउनसक्छ ।

होलीमा होशियारी

होलीका लागि भनेर बालबालिकामा रङ र पिचकारीलाई लिएर विशेष किसिमको उत्साह देखिन थालेको छ । कयौ गल्लीहरुमा त बालबालिकाको हात रङ र लोलाले भरिन थालिसकेको छ ।

होली बालबालिकाको लागि जति रोमाञ्चक छ , उति नै जोखिम पूर्ण पनि  । किनकी रङकै मामलामा भएको सानो असावधानीले पनि बालबालिकाको जीवनमा ठूलै समस्या निम्त्याउन सक्छ । त्यसैले, बालबालिकाको साथमा होलीको तयारी गर्दा उनीहरुलाई सुरक्षाबारे पनि विशेष ध्यान दिनु पर्छ ।  त्यसको लागि यी उपाय अपनाउनु पर्छ ।

अर्गानिक रङ्ग प्रयोग गर्ने

होलीको नाममा बजारमा विभिन्न किसिमको सिन्थेथिक रङ बेच्न राखिएको हुन्छ, जुन केमिकल्सयुक्त हुन्छ । छालाको सम्पर्कमा आउनासाथ यसले छालालाई विभिन्न किसिमलेे हानी गर्छ । त्यसैले, होलीमा प्राकृतिक र हर्वल रङ्गको प्रयोग गर्नु पर्छ । यस्ता रङ्ग चाँडै हट्नुका साथै यसले शरीरलाई कुनै किसिमको हानी नोक्सानी गर्दैन ।

लोला प्रयोग नगर्ने

पानी भरिएको लोला खेल्न त निकै रमाइलो हुन्छ । बालक देखि युवा सम्म लोला भनेपछि मख्ख पर्ने गर्छन् । तर जोरले लोला हान्नाले चोट पटक लाग्न सक्छ । आँखा, छाला तथा कानमा क्षति पुग्न सक्छ । त्यसैले, होली खेल्नु अघि बालबालिकालाई लोला खेल्नुको बेफाइदाबारे राम्ररी अवगत गराउनु पर्छ । पिचकारीले होेली खेल्न सल्लाह दिनु पर्छ ।

आँखालाई सुरक्षा प्रदान गर्न गगल्स दिने

केमिकल्सयुक्त रङले बालबालिकाको आँखालाई हानी पुर्‍याउन सक्छ । त्यसैले , बालबालिकालाई रङ दिदा साथमा गगल्स पनि लगाउन भन्नु पर्छ । गगलसमा बच्चा स्टाइलिस्ट त देखिन्छन् नै, उनीहरुको आँखा पनि सुरक्षित हुन्छ ।

शरीर ढाक्ने लुगाको प्रयोग

बालबालिकालाई होली खेल्नु अघि शरीर ढाक्ने लुगा लगाइदिनु पर्छ । यस्ता लुगाले शरीर ढाक्नुका साथै हानीकारक रङको सम्पर्कमा आउनबाट जोगाउँछ ।

छालाको सुरक्षा गर्ने

केमिकल्स प्रयोग गरिएको रङले छालालाई हानी नपुर्‍याओस् भन्नका लागि बालबालिकाको अनुहार तथा छालामा पेट्रोलियम जेली वा नरिवलको तेल लगाइदिनु पर्छ । साथै, कपालमा पनि तेलले राम्ररी मालिस गरिदिनु पर्छ । यसले छालालाई सुरक्षा प्रदान गर्दछ ।

अर्गानिक रङ प्रयोग गर्दा पनि सावधानी अपनाउने

अर्गानिक रङ केमिकल्सको प्रयोग हुँदैन । यद्यपी, होली खेल्ने समयमा यस्ता रङ मुख भित्र छिरेमा यो स्वास्थ्यका लागि हानीकारक हुनसक्छ । यस्ता रङले फुड प्वाइजनिङ लगायतका विभिन्न समस्या निम्त्याउँछ । विभिन्न किसिमको संक्रमण गराउन सक्छ । त्यसैले, बालबालिकालाई होली खेल्नु अघि यस्ता रङ्गको दुष्प्रभावबारे बताउन जरुरी छ । ताकी यस्ता रङ आँखा तथा मुखमा छिरिहाले बालबालिकाले तुरुन्तै मुख धोउन् ।

बालबालिकालाई निगरानीमा राख्ने

दशै, तिहार, महाशिवरात्री जस्तै होली पनि आफैमा उल्लासमय पर्व हो । यस्तो उल्लासमय पर्व रमाउने सबैको तिव्र चाहना हुन्छ । यद्यपी, होली खेल्ने भन्दैमा बच्चाहरुलाई छोडेर आफै होली खेल्नतिर मात्र लाग्नु हुँदैन । बालबालिकाको पनि ध्यान राख्नु पर्दछ । उनीहरुको निगरानी गर्नु पर्दछ । ताकी, कुनै आकस्मिक घटना भइहाले तुरुन्तै उद्वार गर्न सकियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment