Comments Add Comment

सामाजिक सुरक्षा योजना घोषणा गर्दा कति भयो सरकारको खर्च ?

१३ मंसिर, काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रमको खर्च विवरण सार्वजनिक गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उक्त कार्यक्रमको शुभारम्भ, प्रचारप्रसार र समारोह व्यवस्थापनका लागि ६७ लाख २३ हजार ७ सय ५० रुपैयाँ खर्च भएको जानकारी गराए । उक्त कार्यक्रमका लागि सरकारले अनावश्यक तामझाम र खर्च गरेको भन्दै आलोचना भएको थियो ।

सोमबारको मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको पोल्याण्ड भ्रमण स्वीकृत गरेको छ ।

संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४ औं सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्ने राष्ट्रपति भण्डारीको कार्यक्रमलाई स्वीकृत गरेको हो ।

राष्ट्रपति भण्डारीको सो भ्रमणले पोल्याण्डसँगको नेपालको सम्बन्ध झनै प्रगाढ हुने विश्वास सरकारले लिएको सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले जानकारी दिए । राष्ट्रपति भण्डारीको सो भ्रमणमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत र सांसदहरु समेत सहभागी हुनेछन् । राष्ट्रपति भण्डारीले मंसीर १८ र १९ गते सो सम्मेलनमा सहभागी भई स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

सरकारले नेपाल–भारत सुरक्षासम्बन्धी द्विपक्षीय परामर्श समूहको बैठक मंसिर २७ र २८ गते काठमाडौंमा गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद बैठकले ‘रेल वे ऐन २०२०’ खारेज गरी रेलवेसम्बन्धी विधेयक, २०७५ तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति पनि प्रदान गरेको छ । त्यसैगरी सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित राजनीतिक वार्ता टोलीलाई प्रतिवेदन तयारी पारी बुझाउन मंसिर २५ गतेसम्मको समय थप गर्ने निर्णय पनि सोमबार बसेको मन्त्रीपरिषद बैठकले गरेको छ ।

गत भदौ ८ गते बसेको मन्त्रीपरिषद बैठकले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायतका विभिन्न माग राखी आन्दोलनमा रहेका समूहको मागलाई सम्बोधन गर्ने गरी वार्ता गर्न पाण्डे नेतृत्वको राजनीतिक वार्ता समिति गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment