+
+

विप्लव समूहका १७ जना हिरासतमा (नामावलीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ५ गते २:४५
Photo Credit : अनलाइनखबर अर्काइभ । विप्लव समूहका नेता क्रमशः प्रकाण्ड, विप्लव र धर्मेन्द्र बास्तोला ।

४ चैत, काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै सुरक्षा संयन्त्र कडारुपमा उत्रिएको छ । नेपाल प्रहरीको विशेष ब्युरोले विभिन्न युनिटको सहयोगमा १७ जनालाई पक्राउ गरेर हिरासतमा लिएको हो ।

नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार पक्राउ पर्नेमध्ये अधिकांशलाई हाल काठमाडौं प्रहरी परिसर, टेकुको हिरासतमा राखिएको छ । ती अधिकारीका अनुसार पक्राउ पर्ने सबैभन्दा उच्च तहका नेता विप्लव समूहका पोलिब्युरो सदस्य जीवन्त भनिने मोहन कार्की छन् ।

पक्राउ पर्ने अन्यमा विप्लव समूहको जनवर्गीय संगठन किसान महासंघका अध्यक्ष राजु कार्की, विप्लवका पूर्वअंगरक्षक सूर्य भुजेल, नेता जयराम दंगाल, केदार खतिवडा, अर्जुन केसी र अर्जुन गोतामे छन् ।

त्यस्तै, रविन केसी, वीरेन्द्र नेपाली, विपीन लामा, नविन विष्ट, विमला भण्डारी, गौरी धामी, रुकमिणी पुडासैनी, उषा भुजेल, रामकुमार अधिकारी र ज्ञानेन्द्र बुढाथोकी छन् ।

पक्राउ परेका मध्ये विप्लवका पूर्वअंगरक्षक भुजेलको ११ फागुनमा एकजनाको मृत्यु र दुईजना घाइते हुने गरी नख्खुस्थित एनसेल मुख्यालयमा भएको शक्तिशाली विस्फोटमा प्रत्यक्ष संलग्नता रहेको देखिएको थियो । उनकै योजनामा ६ जना घटनास्थल पुगेर विष्फोटलाई कार्यान्वयनमा ल्याइएको अनुसन्धान अधिकारीहरुको निष्कर्ष थियो ।

त्यसैले उनीवरुद्ध प्रहरीले फौजदारी संहितामा रहेको व्यवस्था अनुरुप बम विस्फोट, हातहतियार तथा खरखजना र ज्यान मुद्दा चलाएको छ । प्रहरीका अनुसार एनसेलमा विष्फोट गराइएकै दिन कमलपोखरीस्थित आँगन रेस्टुरेन्टमा भेटिएको बमबारे अनुसन्धान गर्ने क्रममा किसान महासंघका कार्कीको संलग्नता देखिएको थियो ।

कार्कीले रेस्टुरेन्टका सञ्चालकलाई केही दिनअघिदेखि धम्की दिँदै आएको खुलेपछि कार्की अनुसन्धानका दायरामा तानिएका थिए । भुजेललाई प्रहरी परिसर, ललितपुरमा राखिएको छ ।

विप्लव समूहको निगरानीमा संयुक्त सुरक्षा टोली

विप्लव समूहले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा लगायतको नाम नै किटेर ‘ध्वस्त’ बनाउने योजना तयार पारेको दस्तावेज भेटेपछि सरकार झस्किएको थियो ।

गत २३ साउनमा पक्राउ परेका विप्लव समूहका दोस्रो वरियताका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको साथबाट बरामद डायरीमा ती विषय भेटिएका थिए ।

तर, ती विषयलाई सरकारले नजरअन्दाज गरेको थियो । जब २४ फागुनमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको बसुन्धारास्थित घरमा राखिएको कारमा विष्फोट भयो, कपिलवस्तुस्थित सिम्बरी डाँडामा रहेको विप्लवको गाउँमा सर्च अपरेशन चलाउने क्रममा ठूलो परिणाममा हतियार र गोली बरामद भयो र धरानमा समेत त्यहीअनुरुप अत्याधुनिक हतियार बरामद यो तब, सुरक्षा निकाय र सरकारले झड्का लागेको थियो ।

डायरीमा लेखिएका विषयहरु परिणाममा देखिएपछि बल्ल सुरक्षा अधिकारीहरु झस्किएका थिए ।

हाल समूहमाथि प्रतिबन्ध लागेसँगै नेपाल प्रहरीले विप्लव समूहका नेता, कार्यकर्तालाई जहाँ भेट्यो, त्यहीँ पक्राउ पर्ने नीति लिएको छ । पछिल्लो समय नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले संयुक्त टोली खटाएर विप्लव समूहमाथि निगरानी गरिरहेको छ ।

त्यसमा फ्रन्टलाइनमा भने नेपाल प्रहरी नै छ । नेपाली सेनाको टोली पनि विप्लव समूहको सूक्ष्म निगरानीमा खटिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?