+
+
Shares

युक्रेनी ड्रोन आक्रमणपछि मस्कोको तेल प्रशोधन केन्द्र कम्तीमा ६ महिना बन्द हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ११ गते ७:०४

११ असार, काठमाडौं । युक्रेनले लगातार गरेका ड्रोन आक्रमणहरूका कारण मस्कोको दक्षिणमा अवस्थित एउटा ठूलो तेल प्रशोधन केन्द्र कम्तीमा ६ महिनाका लागि बन्द हुने भएको छ।

गाजप्रोम नेफ्टद्वारा सञ्चालित यस प्रशोधन केन्द्रमा पहिलो पटक जुन १६ मा आक्रमण भएको थियो । जसबाट रिफाइनरीको ५३ प्रतिशत क्षमता ओगट्ने एउटा डिस्टिलेसन युनिटमा क्षति पुगेको थियो।

त्यसपछि जुन १८ मा भएको दोस्रो आक्रमणले बाँकी ४७ प्रतिशत क्षमता ओगट्ने आधुनिक ‘युरो प्लस’ युनिटमा पनि क्षति पुर्‍याएको बताइन्छ ।

यससँग परिचित औद्योगिक स्रोतहरूलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले बुधबार यससम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको हो। मस्को रिफाइनरीमा भएको क्षतिको मर्मत सम्भारका लागि कम्तीमा आधा वर्ष लाग्ने उद्योग सम्बद्ध स्रोतले जनाएको छ।

रोयटर्सका अनुसार यस प्रशोधन केन्द्रले सन् २०२४ मा ११.६ मिलियन मेट्रिक टन कच्चा तेल प्रशोधन गरी २.९ मिलियन टन पेट्रोल र ३.२ मिलियन टन डिजेल उत्पादन गरेको थियो। गाजप्रोम नेफ्टद्वारा सञ्चालित यस केन्द्रमा भएको क्षतिबारे रूसी अधिकारीहरूले भने हालसम्म सार्वजनिक रूपमा कुनै टिप्पणी गरेका छैनन्।

युक्रेनले यसै वर्षको वसन्त ऋतुदेखि रूसी तेल प्रशोधन केन्द्रहरू र आपूर्ति शृङ्खलाहरूमाथि आफ्नो आक्रमणलाई तीव्र बनाएको छ। ड्रोन आक्रमणका कारण रूसको पेट्रोल उत्पादनमा ठूलो हिस्सा ओगट्ने केन्द्रहरूको उत्पादन ठप्प वा न्यून भएको छ । जसले गर्दा केही क्षेत्रहरूमा इन्धनको रासनिङ समेत गर्नुपरेको छ।

यस वर्षको सुरुवातदेखि रूसमा पेट्रोलको औसत मूल्य ६.६ प्रतिशतले बढिसकेको छ। जुन १५ सम्मको तथ्याङ्क अनुसार एकै हप्ताको मूल्यवृद्धिका कारण राष्ट्रिय औसत मूल्य ६९.११ रुबल प्रति लिटर पुगेको थियो।

उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले मंगलबार आन्तरिक इन्धन बजारको स्थिति ‘चुनौतीपूर्ण तर नियन्त्रणमा’ रहेको बताएका छन्। उनले पेट्रोल र जेट इन्धनको निर्यातमा पहिलेदेखि नै कायम प्रतिबन्धका साथै अब डिजेल निर्यातमा पनि पूर्ण प्रतिबन्ध लगाउने विषयमा विचार भइरहेको उल्लेख गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?