+
+

विप्लवमाथि प्रतिवन्ध किन ? प्रधानमन्त्रीले भने– प्रचण्ड र मलाई मार्न मान्छे खटाइयो !

पक्राउ परेका कार्यकर्ताबाट माइन्युट प्राप्त भएको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २८ गते २२:४९

२८ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द विप्लवले प्रचण्ड र आफूलाई मार्न मान्छे खटाएको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन् । प्रधानमन्त्रीको यस्तो दाबीलगत्तै मंगलबार क्याबिनेटले सो समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीले आफ्नै सुरक्षामाथि गम्भीर खतराको संकेत गरेलगत्तै गृहमन्त्री बादलको प्रस्तावमा विप्लवमाथि प्रतिबन्ध लगाउने निर्णय क्याबिनेटले गर्‍यो । र, बैठक सकिनासाथ गृहमन्त्री बादल अष्ट्रियातर्फ उडे ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रीहरुको ध्यान आकृष्ट पार्दै भनेका थिए कि विप्लवले प्रचण्ड र आफ्नो हत्या गर्न मानिस खटाएको सूचना सरकारले प्राप्त गरेको छ । पक्राउ परेका कार्यकर्तामार्फत सुरक्षा निकायले हत्यासम्बन्धी लिखित निर्णय नै प्राप्त गरेको प्रधानमन्त्रीलाई उधृत गर्दै स्रोतले अनलाइनखबरलाई बतायो ।

सुरक्षा निकायले पक्राउ गरेका व्यक्तिका साथबाट हत्याको योजनासम्बन्धी सूचना प्राप्त भएको हो कि हैन भनेर हामीले नेपाली प्रहरीका उच्च अधिकारीसँग सोध्यौं । कुन व्यक्तिलाई पक्राउ गर्दा ओली र प्रचण्डको हत्या योजनासम्बन्धी सूचना प्राप्त भएको हो भन्ने प्रश्नमा प्रहरी स्रोतले केही खुलाउन चाहेन ।

प्रहरी स्रोतले अनलाइनखबरसँग भन्यो, ‘उनीहरुले डायरीमा मान्छेको नाम किटेका हुँदैनन्, कोड भाषा प्रयोग गरेका हुन्छन् ।’

प्रहरी उच्च स्रोतका अनुसार प्रधानमन्त्रीले जनपथबाट नभएर गुप्तचर निकायबाट पनि त्यस्तो सूचना प्राप्त गरेका हुन सक्छन् । किनभने, यतिबेला प्रधानमन्त्री ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई पनि आफ्नै मातहतमा राखेका छन् ।

सरकारी स्रोतले प्रचण्ड र ओलीको हत्या गर्ने षण्डन्त्र भएको दाबी गरे पनि पछिल्लो समयमा विप्लव समूहमा ठूला नेता पक्राउ परेका छैनन् । यसअघि पक्राउ परेका खड्गबहादुर विश्वकर्मा प्रकाण्डका साथबाट चन्दा संकलनको सूची फेला परेको थियो । तर, यो निकै पहिलेको घटना हो ।

तर, ललितपुरस्थित ऐनसेलको टावर अगाडि एकजनाको ज्यान जानेगरी भएको बम विस्फोटनपछि भने प्रहरीले विप्लवका पूर्वअंगरक्षक सूर्य भुजेलसमेत तीनजना पक्राउ परेका थिए ।

एनसेलपछि वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा शक्तिशाली बम विस्फोटन गराइएको भए पनि सो घटनामा संलग्नहरु पक्राउ परेका छैनन् ।

यसैवीच सरकारले तीनवटा प्रदेश स्तरमा सुरक्षासम्बन्धी गोष्ठीहरु आयोजना गरेको थियो । ती बैठकहरुमा सबै तहका सुरक्षा अंगका प्रमुखहरु सहभागी थिए । र, त्यहाँ विप्लव माओवादीले पुर्‍याइरहेको सुरक्षा चुनौतीका बारेमा पनि छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?