Comments Add Comment

इन्टरनेशनल ब्याडमिन्टन सिरिज : कस्तो छ नेपालको तयारी ?

१४ मंसिर, काठमाडौं । नेपालमा फुटबल र क्रिकेटबाहेकका खेलमा खासै चर्चा नभए पनि नियमित खेलिने खेलहरु धेरै छन् ।

त्यस्तै खेलमध्ये एक हो, ब्याडमिन्टन । सर्वाधिक खेलिने खेललाई हेर्ने हो भने अग्र भागमा ब्याडमिन्टन आउँछ । रुची भएका र बुझ्नेका लागि निकै रोचक खेल पनि हो, तर पनि गुमनाम जस्तै छ ।

आसन्न ‘नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिज’ले ब्याडमिन्टनको क्रेज बढाउन भूमिका खेल्ने देखिन्छ ।

नेपाल इन्टरनेशनल सिरिज डिसेम्बर चारदेखि आठ तारिखसम्म हलचोकस्थित सशस्त्र प्रहरी बलको कर्भडहलमा हँुदैछ । यो सिरिजमा २० राष्ट्रको सहभागिता रहने छ । प्रतियोगिता विश्व ब्याडमिन्टन वरियतामा समेत आउने हुनाले नेपालको लागि महत्वपूर्ण हुने बताइएको छ ।

प्रतियोगिताका लागि नेपाली खेलाडीहरु लगनखेलको आर्मी कभर्डहलमा अभ्यासमा ब्यस्त छन् । नतिजा कस्तो आउला त ? विगतलाई हेर्ने हो भने प्रतियोगिताको यसअघिका संस्करणमा नेपालले स्वर्णसमेत जितेको छ । यो पटक पनि कुनै स्पर्धामा नेपालले मेडल ल्याउला भन्ने आश छ ।

खेलाडीले गरेको मेहनत हेर्दा आश राख्ने ठाउँ पनि छ । प्रशिक्षक किरण थापा छोटो समयअवधिमा अभ्यास गर्नुपरेको दुःखेसो गर्दै छन् ।

‘यो पटक तयारी त्यस्तो धैरे गर्न पाइएन । दोस्रो दक्षिण एशियाली यु–२१ क्षेत्रीय ब्याडमिन्टन च्याम्पियनसिपले पनि सिनियर टिममा केही प्रभावित भएर अभ्यास ढिलो भयो । पहिले एक महिना अभ्यास हुन्थ्यो भने यो पटक १४–१५ दिन मात्रै हुनेभएको छ’ प्रशिक्षक थापाले भने ।

नम्बर एक खेलाडी रत्नजित तामाङ तयारी ठीकै भइरहेको बताउँछन् । उनले भने, ‘हाम्रो तयारी राम्रै भइरहेको छ । व्यक्तिगत रुपमा हेर्दा म अहिले विश्वमा २४५ औं स्थानमा छु । अझ सुधार गर्न प्रयत्न गर्ने हो, हेरौं के हुन्छ ।’

कभर्डहलकै अभाव

जब प्रतियोगिता नजिँकिदै गर्छ, ब्याडमिन्टन खेलाडीअरुलाई एउटै कुराको चिन्ता हुन्छ, अभ्यास कहाँ गर्ने ?

यो पटक पनि ढुक्कले अभ्यास गर्न नपाएको प्रशिक्षक थापा बताउँछन् । नेपाल ब्याडमिन्टन संघको आफ्नै कभर्डहल छैन । त्यसेले आर्मीको कभर्डहलमा ब्याडमिन्टन खेलाडीले अभ्यास गरिरहेका छन् तर, त्यही कभर्डहलमै आर्मीको महिला तथा पुरुष भलिबल टिमले पनि अभ्यास गरिरहेका छन् । एकातिर भलिबल र अर्कातिर ब्याडमिन्टनको अभ्यास गर्न सहज छैन ।

प्रशिक्षक थापा भन्छन्, ‘अहिले हाम्रो मुख्य समस्या भनेको हलको हो । हाम्रो रंगशालाको कभर्डहल ब्यस्त हुन्छ । आर्मीको कभर्डहल बल्ल तल्ल १५ दिनको लागि मिलाएका छौं । तर जुनियर र सिनियर गरेर अभ्यास गर्दा नपुग्ने भएको छ । हामीसँग दुई वटा कोर्ट मात्रै उपलब्ध छ ।’

‘नेपालले राम्रो नतिजा ल्याउनका लागि ब्याडमिन्टन संघको आफ्नै ब्याडमिन्टन हल हुनुपर्छ । जतिबेला पनि अभ्यास गर्न पाइयोस् । जब प्रतियोगिता आउँछ १०–१५ दिन मात्रै अभ्यास हुन्छ । यस्तो तयारीले कस्तो नतिजा ल्याउनु ? अभ्यास गर्ने हल नभएपछि खेलाडीको स्तर कहाँबाट माथि जान्छ ?’

आशा गरिएको विधाका खेलाडी घाइते

आयोजक नेपालले पदकको आश मिक्स डबल्समा गरेको छ । सिंगलमा निकै अनुभवी र राम्रा विदेशी खेलाडीको पनि सहभागिता हुँदा मिक्स डबल्समा पदकको आश नेपालले राखेको हो ।

प्रशिक्षक थापा भन्छन्, ‘हाम्रो लक्ष्य भनेको मेडल नै हो । मिक्स डबलमा मेडलको आश गरेको छु । पहिलेको भन्दा धेरै सुधार भइरहेको छ । खेलाडीहरुले एकपछि अर्को एक्सपोजर पनि पाइरहेका छन् ।’

मिक्स डबल्समा रत्नजित र नङ्सल तामाङ तथा दिपेश धामी र शोभा गौचनको जोडीले पदक दिलाउन सक्ने प्रशिक्षक थापाको विश्वास छ । तर, रत्नजित तामाङ भने घाइते छन् अवस्था गम्भीर भने होइन ।

मंगलबार कभर्डहल पुगे पनि उनले अभ्यास गरेनन् । ‘खुट्टाको समस्याले गर्दा चाहेको जति गर्न सकिरहेको छैन । राम्रो नतिजा ल्याउनका लागि पूरै प्रयास त गर्ने हो । तर हेरौं के हुन्छ । खुट्टाले नै समस्या निम्त्याउँछ कि भन्ने हो । यसले गर्दा म सन्तुष्ट त छैन’ आफू घाइते भएकोबारे रत्नजितले भने ।

कुन खेलाडीले कुन–कुन विधामा प्रतिस्पर्धा गर्दैछन् ?

पुरुष सिंगल

पुरुष सिंगलमा नेपालका १६ जना खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । नेपालका नम्बर एक ब्याडमिन्टन खेलाडी रत्नजित तामाङले पुरुष सिंगलमा प्रतिस्पर्धा गर्दै छन् । त्यस्तै, दिपेश धामी, विकास श्रेष्ठ, साजन कुमार ताम्राकार, विष्णु कटुवाल, सुदिप सेडाँई, दिपक बोहोरा, नविन श्रेष्ठ, विजित थापामगर, प्रिन्स दाहाल, जीवन आचार्य, प्रफुल्ला महर्जन, गौतम कठायत, रुकेश महर्जन, सुनिल जोशी र इरफान अन्सारीले सिंगल विधामा प्रतिस्पर्धा गर्दैछन् ।

महिला सिंगल

महिला सिंगलमा १० जना नेपाली खेलाडीले भाग लिने छन् । जसमा नेपालकी नम्बर एक खेलाडी नंसल तामाङसहित अमिता गिरी, अनु माया राई, शोभा गौचन, सुनयना मुखिया, जेसिका गुरुङ, रशिला महर्जन, सीता राई, सम्झना शर्मा र सीमा राजवंशी रहेका छन् ।

पुरुष डबल्स

पुरुष डबल्समा नेपालले ८ स्पर्धामा प्रतिस्पर्धा गर्दै छ । रत्नजित तामाङ र दिपेश धामीको जोडीले प्रतिस्पर्धा गर्दै छन् । त्यस्तै, नविन श्रेष्ठ र विजित थापामगर, विकास श्रेष्ठ र प्रिन्स दाहाल, विष्णु कट्वाल र दिपक बोहोरा, साजन ताम्राकार र सुदिप सेडाँईको जोडीले पुरुष डबल्समा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्दै छन् । यस्तै, प्रफुल्ला महर्जन र रुकेश महर्जन, सरोज महर्जन र प्रवीण लिन्थेप तथा इरफान अन्सारी र विलाल वार्सीको जोडीले पनि पुरुष डबल्स विधामा प्रतिस्पर्धा गर्दैछन् ।

महिला डबल्स

महिला डबल्समा नेपालले पाँच विधामा प्रतिस्पर्धा गर्दै छ । जसमा नंसल तामाङ र पुजा श्रेष्ठ, अमिता गिरी र रशिला महर्जन, शोभा गौचन र पुनम गुरुङ, सुनयना मुखिया र जेसिका गुरुङ तथा अनु माया राई र सिता राईले प्रतिस्पर्धा गर्दैछन् ।

मिक्स डबल्स

मिक्स डबल्समा नेपालले सात विधामा प्रतिस्पर्धा गर्दै छ । जसमा तामाङ दिदीभाइ रत्नजित र नंसलको जोडी रहेका छन् । यस्तै, दिपेश धामी र शोभा गौचन, विजित थापामगर र पुजा श्रेष्ठ, विकास श्रेष्ठ र सीता राई, नविन श्रेष्ठ र रसिला महर्जन, सुदिप सेढाईं र जेसिका गुरुङ तथा साजन ताम्राकार र पुनम गुरुङको जोडीले प्रतिस्पर्धा गर्दैछन् ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment