Comments Add Comment

आयात बढ्नु होइन, निर्यात नबढ्नु चिन्ताजनकः अर्थमन्त्री खतिवडा

१५ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आयात बढेकोमा चिन्ता नगर्न आग्रह गरेका छन् । तर, निर्यात बढ्न नसक्नु चिन्ताजनक भएको उनले बताए ।
नेपाल आर्थिक पत्रकार समाजको २१ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले आयातको मात्र तथ्यांक केलाउँदा सही निश्कर्ष निकाल्न नसकिने बताए ।

‘हामीले विमान भित्र्यायौं । यसले आयात ह्वात्तैमाथि लैजाला तर, पर्यटक त भित्र्याउनु छ हामीलाई । विमान नभई कसरी भित्र्याउने पर्यटक ?’ उनले भने, ‘विकासको एउटा चरणमा आयात गर्नैपर्छ । आयातबाटै हामीले फाइदा लिन सक्ने अवस्थाको मूल्यांकन पनि गर्नुपर्छ ।’

डा. खतिवडाले विमान खरिदको प्रक्रियामा प्रश्न उठाउनु जायज भएपनि विमानका कारण बढेको ब्यापार घाटालाई सकारात्मक रुपमै लिन आग्रह गरे ।

उनले कस्ता वस्तुहरुको आयात बढेको छ भन्ने ध्यान दिनुपर्नेमा जोड दिए । उपभोग्य वस्तुको आयातले अर्थतन्त्रलाई समस्यामा पार्ने भए पनि मेसिनरी र विकास सम्बद्ध वस्तुको आयातले टेवा नै पुग्ने बताए ।

‘१० वर्षमा १० हजार मेगावाट विजुली उत्पादन गर्ने भनेका छौं, त्यसका लागि २० खर्ब चाहिन्छ । जनविद्युत् निर्माणको दुई तिहाई खर्च आयात गर्ने वस्तुमै निर्भर हुन्छ’ उनले भने, ‘त्यसबाटै हामीलाई १२ खर्बको ब्यापार घाटा त होला । आयात बढ्ला तर मुलुकले दीर्घकालमा त्यसबाट लाभ नै पाउँछ ।’

अहिले मूल चिन्ता निर्यात बढ्न नसकेको भन्दै उनले निर्यात दर बढाउन पहल भइरहेको बताए । ‘अब ब्यापार घाटालाई अंकमा मात्रै नहेरौं, कुन वस्तु कति आयात भए भनेर हेरौं’ अर्थमन्त्री खतिवडाले भने, ‘गाडी बढी आयात भयो भन्न पाउनुहुन्छ, कृषि वस्तुमै परनिर्भर हुनुपर्‍यो भन्न पनि पाइन्छ ।’

लामो द्वन्द्वले प्रतिस्पर्धात्मक क्षमता घटाएको तथा विजुली कटौती, यातायात खर्च वृद्धि लगायतका समस्याले निर्यातको वातावरण विथोलेको उनको विश्लेषण छ ।
मन्त्री खतिवडाले विदेशी लगानी भित्र्याउने वातावरणका लागि नयाँ ऐन संसदमा छिट्टै दर्ता गरिने पनि बताए । देशका लागि वाषिर्क १० खर्बको लगानी आवश्यक रहेको उनको भनाइ छ । ८ अंककको आर्थिक वृद्धिका लागि वर्षमा १२-१४ खर्बको लगानी हुनुपर्ने र त्यसका लागि सरकारले प्रयत्न गरिरहेको उनले बताए ।

अर्थमन्त्री खतिवडाले विश्व बैंकले प्रकाशित गरेको ‘डुइङ बिजनेश’ रिपोर्टप्रति पुनः असन्तुष्टि जनाए । उनकाअनुसार सरकारले गम्भीर ध्यानाकर्षण गराएपछि रिपोर्ट पुनरावलोकनका लागि विश्व बैंकको मिसन काठमाडौंमा आएको बताए ।

‘उपयुक्त श्रम सम्बन्ध विकास गर्ने गरी तय भएको सामाजिक सुरक्षाका केही विषय कर तिर्दा फराममा भर्नुपर्ने विषयलाई लिएर लगानी गर्ने वातावरण कसरी खस्कन्छ भनेर हामीले भन्यौं । बरु पछिल्लो समयमा नयाँ श्रम ऐनका कारण नेपालमा लगानीको वातवरण राम्रो भएको छ,’ अर्थमन्त्री खतिवडाले भने, ‘हामी आएको दुई महिनासम्मको अवस्था विश्लेषण गरेर रिपोर्ट बनेको रहेछ, हामीले आएर धेरै काम गरेका छौं । त्यसैले कम्तिमा लगानीको वातावरणबारे भएको अध्ययनले नोभेम्बरसम्मको अवस्था हेर्नुपर्छ भनेर विश्व बैंकलाई भनेका हौं ।’

कार्यक्रममा अर्थमन्त्री खतिवडाले सेजन पुरस्कारबाट रुद्र खड्का र सुवास योञ्जनलाई सम्मानित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment