Comments Add Comment

कामना अवार्डमा अनमोल र वेनिशा उत्कृष्ट, प्रियंकालाई ‘स्टार अफ दि इयर’को अवार्ड

ललितपुरमा आयोजना भएको ‘चौथो कामना फिल्म अवार्ड’मा नायक अनमोल केसी र नायिका वेनिशा हमालले उत्कृष्ट नायक–नायिकाको अवार्ड जितेका छन् । आज आयोजना भएको अवार्ड समारोहमा नेपाली चलचित्रका कलाकार, पत्रकार, प्राविधिकहरुको उल्लेख्य सहभागीता थियो ।

कामनाले आयोजना गरेको यो अवार्डको चौथो संकरणमा कलाकारको उपस्थिती लोभलाग्दो मान्न सकिन्छ । नायक अनमोल केसीले चलचित्र ‘कृ’ र नायिका वेनिशा हमालले ‘ब्लाइन्ड रक्स’बाट यो अवार्ड जितेका हुन् । यो अवार्डमा ‘लिलिबिली’ उत्कृष्ट चलचित्र बन्न सफल भयो भने यही चलचित्रमा मिलन चाम्सले ‘उत्कृष्ट निर्देशक’को अवार्ड जितेका छन् ।

कार्यक्रममा नेपाली हाँस्य जगतका २ हस्ती मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘लाइभ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरियो । मह जोडीसँगै संगीतकार शम्भुजित बास्कोटालाई पनि ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो । यो अवार्डसँगै नगद १ लाख पनि प्रदान गरिएको थियो । यस्तै, अवार्डमा नायिका प्रियंका कार्कीलाई ‘स्टार अफ दि इयर’ अवार्ड प्रदान गरिएको थियो ।

यस्तै कार्यक्रममा, जुरी अवार्डको रुपमा चलचित्र ‘भूँइमान्छे’लाई अवार्ड प्रदान गरिएको थियो । यस्तै, ‘स्पेशल मेन्सन अवार्ड’को रुपमा सुनिल थापालाई चलचित्र ‘शेरबहादुर’ र रमेश वुढाथोकीलाई चलचित्र ‘भूँइमान्छे’बाट अवार्ड प्रदान गरिएको थियो ।

यस्तै, ‘क्रिटिक्स अवार्ड’ संगीतकार कालिप्रसाद बाँस्कोटालाई प्रदान गरियो । ‘क्रिटिक्स फेसन अवार्ड’ अनु श्रेष्ठ र ‘क्रिटिक्स थिएटर अवार्ड’ विरेन्द्र हमाललाई प्रदान गरियो । करिब ४ घन्टा भन्दा बढी समय चलेको अवार्ड समारोहमा नेपाली कलाकारहरुको प्रस्तुति बेजोड थियो ।

यी बाहेक चलचित्र ‘ऐश्वर्य’मा समावेश ‘तिमी रोएको पल’ बोलको गीतबाट अर्जुन पोखरेलले अवार्ड जित्दा, धिरेन्द्र प्रेमर्षीले चलचित्र ‘संरक्षण’मा समावेश ‘संझनाको सारङ्गी’ बोलको गीतबाट उत्कृष्ट गीतकारको अवार्ड जिते ।
सुगम पोखरेलले चलचित्र ‘ऐश्वर्य’को ‘तिमी रोएको पल’ बोलको गीतबाट उत्कृष्ट पाश्र्व गायनको अवार्ड जित्दा बाणिका प्रधानले चलचित्र ‘ब्लाइन्ड रक्स’मा समावेश ‘उड्यो मन’ बोलको गीतबाट उत्कृष्ट पाश्र्व गायिकाको अवार्ड जितिन् ।

अवार्डमा दिपेन्द्र लामाले ‘घामपानी’ चलचित्रबाट ‘उत्कृष्ट नव निर्देशक र उत्कृष्ट कथाको अवार्ड जितेका छन् । कुशाग्र भट्टराइले चलचित्र ‘पिजडा ब्याक अगेन’बाट उत्कृष्ट बालकलाकारको अवार्ड जित्दा, रमेश रञ्जन झाले चलचित्र ‘संरक्षण’बाट खलनायकको अवार्ड जिते ।

चलचित्र ‘म यस्तो गीत गाउँछु’मा राजाराम पौडेलले ‘उत्कृष्ट हाँस्य कलाकार’को अवार्ड जितेको कार्यक्रममा हरिवंश आचार्य र प्रदिप भट्टराइले चलचित्र ‘शत्रु गते’बाट ‘उत्कृष्ट संवाद’को अवार्ड उचाले । दिपकराज गिरी र प्रदिप भट्टराइले ‘शत्रु गते’ चलचित्रबाट नै ‘उत्कृष्ट पटकथा’को अवार्ड जित्दै गर्दा कविराज गहतराजले चलचित्र ‘२ रुपैयाँ’को ‘कुटुमा कुटु’ बोलको गीतबाट ‘उत्कृष्ट कोरियोग्राफर’को अवार्ड जितेका छन् । यस्तै, चलचित्र ‘छक्का पन्जा २’बाट नायिका बर्षा राउतले ‘उत्कृष्ट सह–अभिनेत्री’को अवार्ड जित्दा ‘उत्कृष्ट सह–अभिनेता’को अवार्ड चलचित्र ‘शत्रु गते’बाट शिवहरि पौडेलले जितेका छन् ।

एलिस कार्कीले चलचित्र ‘लिलिबिली’बाट उत्कृष्ट ‘ब्याक ग्राउण्ड स्कोर’, हिमाल केसीले चलचित्र ‘पिजडा ब्याक अगेन’बाट ‘उत्कृष्ट द्धन्द्ध निर्देशक’, सुरेन्द्र पौडेलले चलचित्र ‘कृ’बाट ‘उत्कृष्ट सम्पादक’, पुरुषोत्तम प्रधानले चलचित्र ‘कृ’बाट नै ‘उत्कृष्ट छायांकार’, मुकेश शाहले चलचित्र ‘लिलिबिली’बाट ‘उत्कृष्ट साउण्ड डिजाइन’ र शंकर थापाले चलचित्र ‘घामपानी’बाट ‘उत्कृष्ट मेकअप’को अवार्ड जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment