Comments Add Comment

हुलाकी सडकमा फ्लाइओभर वा अन्डरपास बनाउन विज्ञको सुझाव

१८ मंसिर, वीरगञ्ज । हुलाकी राजमार्ग अन्र्तगत पर्सा–ठोरी सडक खण्डमा जीवजन्तुको आवत जावतका लागि फ्लाई ओभर वा अन्डरपास निर्माण गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

पर्साको ठोरी गाउँपालिका–४ मा स्याउली बस्तीमा जैविक मार्ग (वन्यजन्तु आउजाउ गर्ने करिडोर) रहेकोेले त्यसलाई जोगाउन फ्लाई ओभर वा अन्डरपास आवश्यक देखिएको उनीहरुको भनाइ छ ।

स्याउली बस्ती क्षेत्र पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्भ (बाघ संरक्षण केन्द्र) को संगमस्थल हो । त्यसकारण त्यस क्षेत्रमा जनावरहरु ओहोरदोहोर गर्ने गर्दछन् । शिकारीवास पुल छेउको स्याउलीबस्ती क्षेत्र, नेपाल र भारतको जंगलका बाघ र हात्ती एक अर्काको जंगलमा ओहोरदोहोर गर्ने परम्परागत जैविक मार्गको रुपमा रहेको वन संरक्षणको क्षेत्रमा क्रियाशील विज्ञहरु बताउँछन् ।

स्याउलीवासको जैविक मार्गलाई क्रस गरेर अघि बढेको निर्माणाधीन हुलाकी सडकखण्डको शिकारीवास खोलाको पुल छेउमा फ्लाइओभर वा अन्डरपास नबनाउँदा वन्यजन्तुको मार्ग अवरुद्ध हुने हुँदा मानव र बन्यजन्तुबीचको द्वन्द्व बढ्न सक्ने विज्ञहरु बताउँछन् ।

पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोककुमार राम स्याउलीवास क्षेत्र सदियौंदेखि बाघ, हात्ती लगायत वन्यजन्तुको ओहोर दोहोर गर्ने परम्परागत जैविक मार्ग रहेकोले त्यसको संरक्षण आवश्यक रहेको बताउँछन् ।

‘हुलाकी सडक अन्तर्गत शिकारीबास पुल छेउको भागमा सडक अग्लो बन्छ, जहाँ हात्ती र बाघ लगायत जंगली जनावर ओहोरदोहोर गर्दैनन् । पुलमुनिबाट पनि सबै जनावरहरु आउजाउ गर्न सक्ने अवस्था छैन’ उनले भने, ‘खोलामा दुई वर्ष अगाडि बनाइएको शिकारीवास खोलाको पुलको उचाइ (१८ फिट) भन्दाकम छ, पुल मुनिबाट हात्ती छिर्न सक्दैन ।’

उनी हात्तीको बारेमा विशेष अध्ययनसमेत गरिरहेका छन् । हात्ती छिर्नका लागि २६ फिट उचाइको फ्लाईओभर वा २६ फिटकै अन्डरपास बनाउनुपर्ने सुझाव उनको छ ।

‘हात्ती सचेत प्राणी हुनुको साथै सुँघ्ने र सुन्ने क्षमता बढी भएको जनावर हो । उ आफू सुरक्षित हुनेबारे ढुक्क भएपछि मात्रै यात्रा गर्छ’ सहायक संरक्षण अधिकृत रामले भने, ‘विभिन्न अध्ययनका अनुसार अन्डरपास वा फ्लाईओभर बनाएपनि तत्कालै हात्तीले त्यसको प्रयोग नगरेको पाइएको छ ।’

स्याउली बस्ती क्षेत्रको जंगल बढ्यो भने जनावर बस्ती पस्छ भन्ने स्थानीयको बुझाइ गलत रहेको तराई भू परिधि कार्यक्रम तालका सामुदायिक संरक्षण सहजकर्ता वेदहरी दहाल बताउँछन् । ‘जंगल बढ्यो भने जनावर बस्ती पस्छ भन्ने बुझाइ स्थानीयको छ । तर जंगल बढेर करिडोर बन्यो भने सहजै उताको जनावर यता आउन पाउने, यताको जनावर उता जान सक्छ । आफू हिँड्ने बाटोमा करिडोरमा अवरोध नपुगेको खण्डमा गाउँमा पसेर क्षति गर्दैन ।’

परम्परागत जैविक मार्ग जोगाउन निकुञ्जको कसरत

पहिला घना जंगल भएको जैविक मार्ग स्याउलीबस्ती क्षेत्रको झण्डै ४ सय हेक्टर जंगल मासेर स्थानीयले खेतिपाती गर्दै आएका छन् । पुराना नक्साहरुमा स्याउली वस्ती क्षेत्रको चार सय हेक्टर क्षेत्रफलमा घना जंगल देखिन्छ ।

पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने सो क्षेत्रको जंगल क्रमशः मासिएको छ । जंगली जनावर ओहोरदोहोर गर्ने क्रम घटेको छ । त्यसैले राष्ट्रिय निकुञ्जले जैविक मार्ग संरक्षणका लागि समय समयमा आवश्यक पहलकदमी चालिरहेको छ । राष्ट्रिय निकुञ्जले तीन वर्ष अघि अतिक्रमित ४ सय हेक्टर जमिनमध्ये १ सय हेक्टरमा अतिक्रमण हटाउन सफल भएको थियो । अतिक्रमण हटाउन खोज्दा स्थानीयले चर्को प्रतिवाद गरेका थिए । कठिन प्रयासपछि चार महिना लगाएर अतिक्रमण हटाउन सफल भएको निकुञ्जका अधिकारीहरु बताउँछन् ।

निकुञ्ज प्रशासनले नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा एक सय हेक्टरको अतिक्रमण हटाएपछि त्यसमा तारबार गरिएको छ । २०७३ सालमा अतिक्रमण हटाएपछि रोपिएका बोट बिरुवा हुर्कदैछन् । झाडीहरु पनि बढिसकेको छ । केही वर्षमा घना जंगल बन्ने र पहिलेका जस्तै बाघ, हात्तीलगायतका वन्यजन्तुले सहज ढंगले जैविक मार्ग प्रयोग गर्ने निकुञ्ज प्रशासनको विश्वास छ ।

निकुञ्ज प्रशासनले अतिक्रमित जमिन फिर्ता ल्याएपछि संरक्षण र पुनर्उत्पादनका लागि सहयोग गरिएको तालका सामुदायिक संरक्षण सहजकर्ता वेदहरि दाहालले बताए । ‘निकुञ्जले अतिक्रमण हटाएपछि तरबार गर्न र विरुवा रोप्न ताल कार्यक्रमले सहयोग गरेको हो, शुरुमा २० हजार विरुवा रोपिएको थियो । खासगरी हामी प्राकृतिक पुनर्उत्पादनलाई जोड दिन्छौं’ उनले भने ।

त्यतिमात्रै नभएर भारतको बाल्मिकी रिर्जभको मौराहा रेञ्जपोष्टसम्म पुगेर वारी र पारीका वन क्षेत्र आसपास बस्ने स्थानीयबासिन्दाबीच अन्तर्क्रिया र सूचना आदान प्रदान गर्ने गरिएको छ । ‘महत्वपूर्ण ठाउँ हो है भनेर चिनाउन महिनामा एक पटक छलफल समेत हुने गरेको छ । त्यहाँ आउने समस्याको समाधान कसरी गर्ने गरिएको छ । यताको समस्याका बारेमा उनीहरुसँग नियमित छलफल हुन्छ’ दहालले भने ।

करिब ४ सय हेक्टर अतिक्रमित क्षेत्र रहेकोमा १ सय हेक्टर मात्रै अतिक्रमण हटाउन सकेको निकुञ्ज प्रशासन बाँकी क्षेत्रको अतिक्रमण कसरी हटाउन सकिन्छ भनेर सोच्दैछ ।

पर्सा राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत अमीर महर्जन १ सय हेक्टर जनावरको आउजाउका लागि पर्याप्त नरहेकोले बाँकी अतिक्रमण हटाउन निकुञ्ज प्रशासनले आवश्यक कदम चाल्ने बताउँछन् । ‘स्याउली बस्ती क्षेत्र बाघ, हात्ती लगायतका बन्यजन्तुको आउजाउ बढी हुने महत्वपूर्ण कोरिडोर हो, किनकी त्यो पर्सा र चितवन राष्ट्रिय निकुञ्जको मात्रै नभएर भारतको बाल्मीकी रिजर्भको समेत संगलम स्थल हो’ उनले भने, ’एक सय हेक्टरको अतिक्रमण हटाएर तारबार गरेर संरक्षण गरिएको छ, १ सय हेक्टर जनावरको ओहोरदोहोरका लागि पर्याप्त छैन, जीवजन्तुको आवतजावत अझै सहज बनाउन बाँकी अतिक्रमण हटाएर रिस्टोरेशन गर्ने सोच हाम्रो छ ।’

पछिल्लो गणना अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा १८ वटा बाघ छ । भने चितवनमा ९३ वटा छ । भारतको वाल्मिकी टाइगर रिजर्भ जंगलमा २७ वटा बाघ रहेको बताइन्छ । त्यसैगरी चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गरी ६५ वटाको संख्यामा हात्ती रहेको अनुमान निकुञ्जका अधिकारीहरुको छ । दुवै निकुञ्जमा बाघको गणना गर्ने गरिएको भएपनि हात्तीको गणना गर्ने गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment