Comments Add Comment

निर्मला हत्याको अनुसन्धानः अपेक्षा बढी, उपलब्धी थोरै

२० मंसिर, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका क्रममा थप ३ जना शंकास्पद व्यक्तिलाई प्रहरीले काठमाडौं ल्याएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानका क्रममा शंकास्पद देखिएका उनीहरुलाई काठमाडौं झिकाइएको हो ।

काठमाडौंबाट पक्राउ परेका भीमदत्तनगर–१८ का प्रदीप रावलको बयानका आधारमा उनीहरुलाई बिहीबार दिउँसो काठमाडौं ल्याइएको प्रहरीले दाबी गरेको छ । ब्यूरोमा राखेर साँझदेखि नै सोधपुछ थाल्ने तयारी रहेको प्रहरी स्रोतको भनाइ छ ।

यसअघि पक्राउ परेका रावल निर्मला पन्तको शव भेटिएको भोलिपल्ट भारत गएका थिए ।

प्रहरीले घटनास्थल आसपास रहेका व्यक्तिहरुबारे अनुसन्धान गर्ने क्रममा रावललाई भेट्टाएको थियो । त्यसक्रममा सीआईबीका प्रहरी नायब उपरीक्षक डीएसपी (हाल निलम्बित) अंगुर जिसीको टोलीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो तर, घटनामा संलग्नता नदेखिएको भन्दै उनलाई छाडिएको थियो ।

रावल काठमाडौं तथा महेन्द्रनगरका विभिन्न होटलमा काम गर्थें । उनको समूहले घटनास्थल वरपर बसेर लागूऔषध सेवन गर्ने गरेको पाइएको प्रहरीको दाबी छ ।

प्रारम्भिक अनुसन्धान गर्ने टोलीले घटनास्थल वरपर सिरिन्ज लगायतका सामग्री फेला परेकाले लागूऔषध सेवनकर्ता पनि घटनामा संलग्न भएको हुनसक्ने आशंका गरेको थियो ।

रावलको परिवार भने भारतको बैंलोरमा छ । महेन्द्रनगरस्थित उनको घरमा अहिले ताल्चा लगाइएको छ । उनी पनि अधिकांश समय महेन्द्रनगर बाहिरै हुन्थे ।

अपेक्षा बढी, उपलब्धी थोरै

निर्मलाको हत्यारा पत्ता लगाउन नसकेको भन्दै आलोचना खेपिरहेको सरकारले पछिल्लो पटक निर्मला हत्याको अनुसन्धानको घेरा साघुरिँदै गएको बताएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले समेत ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्नेहरुले छिट्टै सरकार भेट्टाउने बताए ।

त्यसको मुख्य आधारका रुपमा हाल प्रहरी हिरासतमा रहेका रावलले अभियोग स्वीकार गरेको भनिएको छ ।

तर, अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु भने अहिले नै कुनै निष्कर्षमा पुग्न धेरै हतार हुने मान्छन् । ‘पुरानो इन्भेस्टिगेसलाई पछ्याउँदै थप नेक्सस कोट्याउँदै जाने क्रममा रावलको विषयमा केही कैफियत देखियो’, सीआईबीका एक अनुसन्धान अधिकारीले अनलाइनखबरलाई भने, ‘घटना लगत्तै उनी सम्पर्कबिहीन थिए । पछिल्लो समय काठमाडौंमा देखिएपछि नियन्त्रणमा लिएका हौं ।’

रावल लगायतका युवाहरु निर्मलाको शव भेटिएको स्थान आसपासमा देखिने गरेको थाहा भएपछि अनुसन्धानमा नयाँ सुराक हात लाग्ने अनुमान गरिएको थियो । तर, अहिलेसम्म अनुसन्धानको घेरा साँघुरिएको छ भन्ने बाहेक अरु जवाफ छैन ।

घटनाको अनुसन्धानमा अहिले पनि सीआईबीसहित प्रहरीका टोलीहरु सक्रिय छ । घटनाको अनुसन्धानमा प्रहरीले गरेको लापरबाहीबारे छानबिन गर्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरु बस्न्यातको टोली खटिएको थियो, जसको सुझावको आधारमा तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्ट बर्खास्तीमा परिसकेका छन् ।

तर, निर्मलाको बलात्कारपछि हत्या गर्ने अभियुक्त पक्राउ गर्न नसक्दा सिंगा प्रहरी संगठन, गृह प्रशासन र सरकार समेत दबावमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment