Comments Add Comment

पूँजी बजारमा लगानीकर्ताको अनसन : समय बर्वाद मात्र !

२४ मंसिर, काठमाडौं । नेपालको पूँजी बजार सुधार र विस्तारका लागि भन्दै लगानीकर्ताहरुको एक समूहले आइतबारबाट रिले अनसन शुरु गरेको छ । अर्बौ पूँजी भएको बजार लगातार ओरालो लाग्दा लगानीकर्ताले ठूलो नोक्सानी बेहोर्नु परेको भन्दै १० बुँदे मागसहित अनसन शुरु गरेको हो ।

अनसनको दोस्रो दिन लगानीकर्ताहरुले सेयर बजार बुझेको अर्थमन्त्री चाहिएको बताएका छन् । सरकारले पूँजी बजारसम्बन्धी स्पष्ट धारणा तथा नीति ल्याउनुपर्ने, बजार सुधार तथा विस्तारका लागि बिशेष कार्यक्रम ल्याउनुपर्ने, अनलाइन कारोबारमा आम लगानीकर्ताको पहुँच पुर्‍याउनुपर्ने, गैरआवासीय नेपालीलाई पूँजी बजारमा लगानी गर्न दिनुपर्ने, सेयर दलालमार्फत मार्जिन ट्रेडिङ तत्काल खुला गर्नुपर्ने उनीहरुको माग छ ।

विज्ञ भन्छन्- आन्दोलनले असर गर्दैन

स्वतन्त्र विश्लेषकहरुले भने आन्दोलनको भरमा लगानीकर्ताको माग पुरा नहुने बताउँछन् । यसबाट लगानीकर्ताहहरु समय मात्र बर्वाद हुनसक्ने उनीहरुको विश्लेषण छ ।
उनीहरुका अनुसार, लगानीकर्ताहरु वास्तवमै मर्कामा छन् तर, आन्दोलन गरेर समस्या समाधान हुने देखिँदैन । एक विश्लेषकले अनलाइनखबरसँग भने, ‘पूँजी बजारप्रति अर्थमन्त्री नै सकारात्मक छैनन्, अनि कहाँबाट हुन्छ सुधार !’

सुरक्षाका लागि भन्दै नाम उल्लेख नगर्न आग्रह गरेका उनका अनुसार, पूँजी बजारका लागनीकर्ताहरुबीच एकता नभएको कारण पनि सरकारले माग सम्बोधन गर्ने सम्भावना न्यून छ । केहि दिन अघि नेपाल स्टक एक्सचेञ्जको कार्यालय घेराउ गर्न पुगेका लगानीकर्ताहरुले सेयर विश्लेषक विष्णुबावु बस्याललाई कार्यालयभित्रै हातपात गरेका थिए ।
पूँजी बजारमा सुधार र विस्तार चाहने लगानीकर्ताहरुको एउटा समुह आन्दोलनमा होमिरहँदा लगानीकर्ताकै ठूला संघ-संगठन चुपचाप बसेका कारण पनि माग सम्बोधन हुन गाह्रो पर्ने विज्ञहरुको धारणा छ ।

अर्कोतर्फ सरकारले राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति बनाइसकेकाले तत्कालै आन्दोलन गर्नुको आवश्यकता नरहेको सेयर विश्लेषक अमृतराज रेग्मीले बताए । अनलाइनखबरसँग कुरा गर्दै रेग्मीले भने, ‘सरकारी समितिको प्रतिवेदन आउन बाँकी रहेकाले अहिल्यै आन्दोलन गर्नुको औचित्य देखिँदैन ।’

अर्का विज्ञ डा. गोपाल भट्ट पनि आन्दोलनबाट सेयर बजार नसुध्रने बताउँछन् ।

‘कुर्सीमा बस्नेले नै सेयर बुझेनन्’

नेपाल राष्ट्र बैंकका पूर्व कामु कार्यकारी निर्देशक समेत रहेका भट्टले सेयर बजारबारे कुर्सीमै बसेका मान्छेले नबुझेको भन्दै आक्रोश व्यक्त गरेका छन् । पूँजी बजार भनेको एउटा महत्वपूर्ण क्षेत्र भएपनि बुझ्नुपर्ने मान्छेहरुले नै राम्ररी नबुझेका कारण बजार ओरालो लागेको उनले बताए ।

सेयर बजारकै विषयमा विद्यावारिधी गरेका उनले नीति निर्माण गर्ने ठाउँमा बिषय बुझेका मान्छेहरु नआएसम्म सेयर बजार नसुध्रने, आन्दोलनले केही नहुने बताए ।अर्थमन्त्री डा. युवराज खतिवडा र नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीतर्फ इंकित गर्दै उनले भने, ‘सेयर बजार बुझ्नु पर्नेहरु नै जुवा घर भन्दै हिँड्याछन् अनि कसरी हुन्छ सुधार ?’

‘कुर्सीमा बसेकाहरुलाई’ सेयर बजार चलाउन के-के संयन्त्र चाहिन्छ भन्ने समेत थाहा नभएको डा. भट्टको दाबी छ । ‘गुरु गतिलो भएन भने शिश्य पनि अगतिलो हुन्छ, अहिले देखिएको समस्या यही हो’ उनले भने, ‘आन्दोलन गरेर पनि केहि हुनेवाला छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment