Comments Add Comment

जनकपुरमा ‘सीता’लाई डोलामा राखेर गंगासागर पुर्‍याइयो

२५ मंसिर, जनकपुरधाम । विवाह पञ्चमी महोत्सव अन्तर्गत पाँचौ दिन मंगलबार मटकोर सम्पन्न भएको छ ।

जनकपुरधामस्थित गंगासागरबाट पवित्र माटो उत्खनन गरी मटकोर विधि सम्पन्न गरिएको हो । जानकी मन्दिरबाट माता जानकीसहितको डोला गंगासागरमा पुर्‍याई विधिवत रुपमा पूजापछि गंगासागरको पवित्र माटो उत्खनन गरी मटकोर विधि समापन गरिएको थियो । त्यही माटोलाई विवाहको दिन यज्ञवेदीमा प्रयोग गरिन्छ ।

राजा जनककी छोरी सीताको प्रतीकात्मक रुपमा सजाइएकी सीता मातालाई डोलामा राखेर गंगासागर पुर्‍याइएको थियो । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको विशेष उपस्थितिबीच आयोजित मटकोर कार्यक्रममा हजारौको संख्यामा महिला भक्तजनहरुको भीड लागेको थियो ।

त्यसअघि नेपाल भारतमैत्री महिला समाजको आयोजनामा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । मैथिली गायिका बन्दना सिंहलगायत गंगासागरमा उपस्थित महिलाहरुले लोक भाकामा मटकोर गीत गाएका थिए ।

मिथिलाको वैवाहिक परम्परामा छोरीहरुको विवाहको अघिल्लो दिन मटकोर गर्ने गरिन्छ । त्रेतायुगमा भगवान् सीता र रामको विवाहका लागि यज्ञवेदी निर्माण गर्न उक्त सागरबाट पवित्र माटो उत्खनन गरी लगिएकाले बर्सेनी विवाह पञ्चमी महोत्सवमा यसरी माटो लगिने परम्परा रहेको छ ।

मटकोर कार्यमा श्रद्धालु महिला संलग्न भई विवाहसम्बन्धी सान्दर्भिक गीतलाई लोक भाकामा गाउने परम्परा छ । मटकोर कार्य सम्पन्न भएपछि मिथिलाञ्चलमा बदाम, पुरी र खीर वितरण गर्ने चलन रहेको छ ।

यो परम्परा मात्र मिथिलामा सीमित नरही तराईको जिल्लाहरु तथा छिमेकी मुलुक भारतको विभिन्न प्रान्तमा यही परम्पराअनुसार विवाह हुने गरेको छ । मटकोर कार्यक्रममा जन्तीको रुपमा अयोध्याबाट आएका महिला तथा पुरुष भक्तजनहरुको पनि सहभागिता रहेको थियो ।

दिउँसो करिब ३ बजेदेखि विधित रुपमा शुरु भएको मटकोर कार्यक्रम एक घण्टा पश्चात सम्पन्न भएको थियो । शुरुमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पुजा आजा गरेपश्चात गंगासागरमा करिब आधा घण्टाको आरती पश्चात माटो उत्खनन गरी मटकोर कार्यक्रम सम्पन्न गरिएको थियो ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment