Comments Add Comment

विज्ञान र प्रविधिमा क्रान्ति आवश्यक छः मन्त्री पोखरेल

२६ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकको समृद्धिका लागि विज्ञान र प्रविधिको क्षेत्रमा क्रान्ति आवश्यक रहेको बताएका छन् ।

शिक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी -आईएईए) ले बुधबार आयोजना गरेको कार्यक्रममा उनले विज्ञान र प्रविधिलाई जीवनका सबै क्षेत्रमा पुर्‍याउन र यसको विकास गर्न नसके समृद्धिको लक्ष्य हासिल हुन नसक्ने बताएका हुन् ।

परमाणु विज्ञान तथा प्रविधिको शान्तिपूर्ण तथा सुरक्षित उपयोग गरी राष्ट्रिय विकासको लक्ष्य हासिल गर्ने विषयक कार्यक्रममा मन्त्री पोखरेलले नेपालमा न्युक्लिएरको रिसर्च सेन्टर खोल्नुपर्ने आवश्यकता रहेको बताए ।

रेडियो आईसोटप्सहरु नेपालमा नैं उत्पादनगरी स्वास्थ्यलगायतका क्षेत्रमा प्रयोग गर्नुपर्ने उनको भनाइ थियो । ‘कृषिमा, उद्योगमा, जीवनका अन्य पक्षहरुमा र राष्ट्रिय सुरक्षामा न्युक्लिएर प्रविधिको प्रयोग गर्न ऐन नभइ अगाडि बढ्न सक्ने स्थिति छैन,’ मन्त्री पोखरेलले भने, ‘न्युक्लिएर ऐन पास गरेर यससँग सम्बन्धित नियामक निकाय तुरुन्तै गठन गरेर अघि बढ्नुपर्छ ।’

पारमाणविक प्रविधिको उपयोग सम्बन्धी विधेयक संसदको आगामी हिउँदे अधिवेशनमा पेश गर्ने जानकारी दिए ।

उनले ऐन पारित गर्न सबै दलको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै ऐन पारित भएसँगै यस क्षेत्रमा नियमनका लागि आवश्यक संरचना गठन गर्न तथा पारमाणविक अनुसन्धान केन्द्र खोल्न सकिने धारणा व्यक्त गरे ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धी ऐन आइसकेपछि स्वास्थ्य क्षेत्रमा थप सुधार हुने र नियमन गर्न पनि सहज हुने धारणा व्यक्त गरे ।

आईएईएका संयोजक शोता कामिसिमाले परमाणु प्रविधिको विश्वभर भइरहेको प्रयोगका सम्बन्धमा प्रस्तुति दिँदै एजेन्सीको स्थापना, उद्देश्य र कामका बारेमा प्रकाश पारे ।

पारमाणविक प्रविधि र रेडियोधर्मी पदार्थको सुरक्षित र शान्तिपूर्ण प्रयोगबाट दिगो बिकासको लक्ष्य हासिल गर्न सघाउ पुर्‍याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्णराज विसीले जानकारी दिए ।

सन् १९७० मा लागू भएको आणविक अप्रसार सन्धिको नेपाल सोही वर्ष पक्ष राष्ट्र भएको थियो भने २००८ मा नेपालले आईएईएको सदस्यता लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment