+
+

जितगढीमा उजिरसिंहको पूर्णकदको शालिकसँगै नेपालकै ठूलो झण्डा

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २८ गते १३:२०

२८ मंसिर, बुटवल । बुटवलको जितगढी किल्लामा नेपालकै ठूलो राष्ट्रिय झण्डा र स्वर्गीय कर्णेल उजिरसिंह थापाको पूर्ण कदको शालिक राखिने भएको छ ।

नेपाली फौजले अंग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको ऐतिहासिक स्थल जितगढीको महत्वलाई उजागर गर्दै पर्यटकीयस्थलको रुपमा विकास गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिकाले ९ फिट उचाइको तामाको पूर्णदको शालिक र ९ फिट उचाइकै झण्डा बनाएर राख्न थालिएको हो ।

अहिले उजिरसिंहको उत्तरतर्फ फर्केको अर्धकदको सानो शालिक छ । अब दक्षिणतर्फ फर्केको पूर्ण कदको बन्नेछ । दुबै संरचना बनाउन ४४ लाख ५२ हजार ६ सय ८१ रुपैयाँ लागतमा निर्माण कम्पनी हेभेन कन्स्ट्रक्सन प्रालिसँग उपमहानगरले ठेक्का सम्झौतासमेत गरिसकेको छ ।

झण्डा राख्ने टावर र शालिक राख्ने अलग अलग बेसमेन्टको शुक्रबार उपमहानगर प्रमुख शिवरज सुवेदीले शिलान्यास गरेका छन् । दुबै संरचना दुई महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ ।

शालिक राख्न जमिनमाथि साढे दुई मिटर अग्लो र त्यसमाथि २५.७६ वर्ग मिटर उचाईको बेसमेन्ट बन्ने छ भने झण्डा राख्न २५ वर्ग मिटर उचाईको बेसमेन्ट बनाइने इन्जिनियर धर्मराज ढकालले जानकारी दिए ।

बेसमेन्ट माथि नेपालको राष्ट्रिय झण्डा ४२ फिटको उचाइमा फहराउने छ । शालिकको बेसमेन्टको बाहिरी भाग जितगढी किल्लामा रहेका पुराना इट्टा जस्तै देखिने गरी इट्टाको आवरण झल्किने गरी बनाइने छ । झण्डाको माथिल्लो टावर स्टिलबाट र भुइँको बेसमेन्ट कंक्रिटबाट बन्नेछ ।

बेसमेन्ट शिलान्यास गर्दै उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जितगढी किल्लाको बेग्लै ऐतिहासिक र पर्यटकीय महत्व भएकाले यसको संरक्षण, सम्बर्द्धन र विकासका लागि अघिल्लो आर्थिक वर्ष ५० लाख वजेट छट्टाएर काम थालेको र यसपटक एक करोड वजेट विनियोजन गरी गुरुयोजना बनाइरहेको बताए ।

गुरुयोजनामा जितगढी युद्ध संग्रहालय,सूचना केन्द्र, पुरानो बुटवल (वडा नं १)लाई प्राचीन बजार र पुरातात्विक स्थलको रुपमा विकास गर्ने, जितगढीलाई मणिमुकुन्द सेन र नुवाकोट गढीसम्म जोड्ने योजना रहेको प्रमुख सुवेदीले बताए ।

उजिरसिंहको पूर्णकदको शालिक स्थापना र नेपालकै ठूलो राष्ट्रिय झण्डा फहराउन थालेपछि जितगढी किल्लाको मुहार फेरिने र आकर्षक पर्यटकीय स्थलको रुपमा विकास हुने उपमहानगरको विश्वास छ ।

वि.सं. १८७२ बैशाख ७ गते जितगढीमा अंग्रेज-नेपाल युद्धका क्रममा नेपाली सेनाले विजय प्राप्त गरेको २०३ वर्ष पुगेको अवसरमा गत वर्षदेखि उपमहानगरले जितगढी विजय उत्सव दिवस समेत मनाउन थालेको छ ।

हालसम्म उचित संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेकोमा उजिरसिंहको पूर्ण कदको शालिक र नेपालकै ठूलो राष्ट्रिय झण्डा राखिने भएपछि अब जितगढीले मुहार फेर्ने आशा जागेको स्थानीयवासी राजकुमार श्रेष्ठले बताए ।

वडा नंं १ का अध्यक्ष महेन्द्र लिगल श्रेष्ठले किल्ला क्षेत्र अतिक्रमण गरेर बनेका घर र अन्य संरचनाहरुलाई उचित मुआब्जा दिएर हटाइने बताए ।

जितगढीको सामरिक महत्वबारे बेलायत सरकारसंग समन्वय गरी बेलायती नागरिकलाई नेपाल भ्रमणका अवसरमा जितगढी किल्लासम्म ल्याउन पहल गरिने पनि उपमहानगरपालिकाको योजना छ । जितगढीको विकासका लागि प्रदेश सरकारले एक करोड ५० लाख र संघीय सरकारले ५० लाख वजेट विनियोजन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?