Comments Add Comment

योगेश भट्टराईले संसदबाट लिएको घरभाडा फिर्ता गर्ने

१ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले संसद सचिवालयबाट घरभाडावापत लिएको ९० हजार रुपैयाँ फिर्ता गर्ने बताएका छन् ।

ताप्लेजुङबाट निर्वाचित सांसद भट्टराईले २०७४ फागुनदेखि २०७५ मंसिरसम्म दश महिनामा लिएको घरभाडावापतको रकम ९० हजार फिर्ता लिन संसद सचिवालयलाई आग्रह गरेका छन् ।

आइतबार विज्ञप्ति जारी गरी उनले भनेका छन् ‘घरभाडा वापत मेरो नाममा जम्मा भएको २०७४ फागुनदेखि २०७५ मंसिरसम्म १० महिनाको रु ९० हजार फिर्ता गर्न वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई हार्दिक अनुरोध गर्दछु ।’

सांसद भट्टराईले संसद सचिवालयले फारम भराउँदा काठमाडौंमा घर भएको उल्लेख गरे पनि घरभाडा लिने सांसदको सूचीमा आफ्नो नाम प्रकाशित हुँदा आश्चर्यमा परेको बताएका छन् । ‘संसदीय क्षेत्रमा अनुभवको कमी तथा संसद सचिवालयका तर्फबाट अभिलेख व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा म दुख व्यक्त गर्दछु’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment