Comments Add Comment

मेलम्ची छोडेको इटालियन ठेकदारको घोषणा

२ पुस, काठमाडौं । इटालियन ठेकदार कम्पनी सीएमसीले निर्माणाधीन मेलम्ची खानेपानी आयोजना छाडेको घोषणा गरेको छ । तर, सरकारले भने उसको पत्र बुझ्न अस्वीकार गरेको छ ।

ठेकेदार कम्पनीका प्रतिनिधि आयोजनाको बाँकी काम गर्न नसक्ने व्यहोराको पत्र बोकेर आइतबार मेलम्ची खानेपानी आयोजनामा पुगेका थिए । तर, आयोजनाका अधिकारीहरुले पत्र बुझ्न अस्वीकार गरेका छन् । खानेपानी मन्त्रालयले पत्र नबुझ्न आयोजनालाई निर्देशन दिएको थियो ।

सीएमसीले ‘फन्ड सर्टेज’ भएको भन्दै काम अघि बढाउन नसक्ने पत्रमा उल्लेख गरेको स्रोतको दाबी छ ।

यसअघि उसले यही डिसेम्बर १४ सम्म आफूले दावी गरेको रकम दिन समयसीमा दिएको थियो । तर, सरकारले बाँकी काम सिध्याएपछि मात्रै थप रकम भुक्तानी दिने जवाफ दिएको छ ।

सरकारबाट पैसा नपाएपछि सीएमसीका अधिकारीहरु सुटुक्क भाग्न खोजेका थिए । तर, पूर्वसूचना पाएपछि नेपाल प्रहरीको सहयोगमा ८ जनालाई ठमेलबाट नियन्त्रणमा लिइएको छ

‘सोमबार नै अधिकांशले देश छाड्ने र भोलिपल्ट सरकारलाई पत्र दिने योजना बनेको रहेछ,’ एक अधिकारीले भने ।

थप दुई आयोजना पनि समस्यामा

सीएमसी वित्तीय संकटमा फसेपछि मेलम्चीबाहेकका दुई निर्माणाधीन जलविद्युत आयोजना पनि समस्यामा पर्ने भएका छन् ।

तनहुँ जलविद्युत आयोजना र सोलु–दूधकोशी जलविद्युत आयोजनाको ठेक्का सीएमसीले नै पाएको छ ।

१४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना (हेड वक्र्स) निर्माणका लागि सीएमसी ठेकदारका रुपमा छानिएको थियो । यसमा एशियाली विकास बैंक (एडीबी) कै प्रमुख लगानी छ ।

एडीबीले प्राविधिक रुपमा योग्य ठहर गरेपछि सीएमसीसँग तनहुँमा २० अर्ब ६४ करोड ५२ लाख रुपैया“मा ठेक्का सम्झौता भएको थियो । यो आयोजनाको निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य छ ।

यस्तै ६८ मेगावाटको सोलु–दूधकोसी जलविद्युत आयोजनामा सीएमसीले इन्जिनियरिङ, खरिद र निर्माणको जिम्मा लिएको थियो । निजी क्षेत्रबाट निर्माण गर्न लागिएको आयोजनामा सीएमसीले ८ अर्बको ठेक्का पाएको थियो । अबको ३ वर्षभत्र निर्माण सक्ने लक्ष्य रहे पनि आयोजना अन्योलमा गरेको छ ।

यो पनि पढ्नुहोस इटाली भाग्न खोज्ने मेलम्ची आयोजनाका ८ कर्मचारी पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment