Comments Add Comment

आजका पत्रपत्रिकाः एसिया प्यासिफिक समिटमा सरकारको १३ करोड खर्च

३ पुस, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको  प्राथमिकतामा मेलम्ची खानेपानी आयोजनाको लफडा परेको छ । काम छाडेर भाग्न खोज्ने कर्मचारी पक्राउ परेकोसँग जोड्दै पत्रपत्रिकाहरुले मेलम्ची अन्योलताबारे समाचार लेखेका छन् । त्यस्तै, नेकपाको स्थायी समिति र कांग्रेसको महासमिति बैठकमा भएका छलफलका विषयले पनि आजका पत्रपत्रिकामा महत्त्व पाएका छन् ।

‘मेलम्ची ठप्प’ शीर्षक दिएर मेलम्चीका कर्मचारी पक्राउबारे समाचार लेखेको कान्तिपुरले नेकपा स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी ओली र प्रचण्डको कार्यशैलीको आलोचना भएको जनाएको छ । समाचार अनुसार अध्यक्षद्वयले पेस गरेको प्रतिवेदनमाथि बोल्दै नेताहरुले त्यसलाई गल्ती ढाकछोप गर्ने प्रयोजनले मात्र आएको र यथार्थमा आधारित नभएको आरोप लगाएका छन् ।

बैठकमा नेता घनश्याम भुसालले चर्को असन्तुष्टि पोखेका थिए । थुक, रगत, खकार, वीर्य टेस्ट गरेर मेरो गुटको हो कि होइन भनेर छुट्याउने ? तपाईं गुटको मात्र नेता हो भने म तपाईंलाई मान्दिनँ, सक्नुहुन्छ भने कारबाही गर्नुहोस् भन्दै आक्रोस पोखेको समाचारमा उल्लेख छ ।

विवादास्पद एसिया प्यासिफिक समिटमा करिब १३ करोड रुपैयाँ सरकारी बजेट खर्च भएको हिसाब पनि कान्तिपुरमा छ ।

अर्थमन्त्रालयको हवाला दिँदै कान्तिपुरले लेखेको छ– सडक टालटुलका लागि १० करोड, सुरक्षाका लागि २ करोड ३० लाख र सरकारका तर्फबाट भएको द्विपक्षीय वार्ता तथा उच्च अधिकारीको स्वागतका लागि ५५ लाख रुपैयाँ खर्च भएको छ । यो रकम क्रमशः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह र परराष्ट्र मन्त्रालयका नाममा निकासा भइसकेको समाचारमा उल्लेख छ ।

अन्य पत्रिकाहरु जस्तै मेलम्ची खानेपानी आयोजनाको लफडामा केन्द्रित नयाँ पत्रिकाले केही फरक जानकारी प्रस्तुत गरेको छ । नयाँ पत्रिकाका अनुसार, एकतर्फी ठेक्का रद्द गरे कम्पनीले राखेको दुई अर्ब धरौटी जफत हुनेछ । त्यसका लागि मेलम्ची खानेपानी आयोजनाले राष्ट्र बैंकलाई सुचित गरिसकेको छ । र, कम्पनीले ठेक्का तोडेको निश्चित हुनेबित्तिकै जफत गरिने आयोजनाले जनाएको छ ।

मेलम्ची विवादसँगै कांग्रेस र नेकपाको बैठकबारे प्राथमिकताका साथ समाचार छापेको नागरिकले भीआईपी उडानका ल्याइएको हेलिकोप्टर खरिद त्रुटिपूर्ण भएको लेखेको छ ।

सरकारी कार्यालयको स्थलगत रिपोर्टिङ आइरहेको अन्नपूर्णले आज काठमाडौं महानगरपालिकाको बेथितिबारे लेखेको छ । स्थलगतका क्रममा कर्मचारी तास खेलिरहेको अवस्थामा भेटिएको समाचारमा लेखिएको छ ।

अन्नपूर्ण लेख्छ– आइतबार दिउँसो ४ बजे काठमाडौं महानगरपालिका टेकु शाखाका कर्मचारी कार्यालयमा तास खेलिरहेका थिए । तास खेल्नेलाई हेरेर साथ दिने वरिपरि उभ्भिएका थिए ।

काम छाडेर क्यान्टिनमा गफ गर्नेदेखि महानगर परिसरलाई पार्किङस्थल बनाइएकोलाई उसले बेथितिका रुपमा प्रस्तुत गरेको छ । रिपोर्टाअनुसार मेयर भाडाको फल्याटमा बस्दै आएका छन् ।

गुट हानथापले कांग्रेस महासमितिको बन्दसत्र प्रभावित भएको, मेलम्ची अनिश्चित बनेकोलगायत समाचारलाई पनि अन्नपूर्णले प्राथमिकताका साथ ‘कभरेज’ गरेको छ ।

राजधानीले प्रदेश समस्या समाधानका लागि कार्ययोजना तयार भएको लेखेको छ भने गोरखापत्रले नेकपा स्थायी समिति बैठकबारे मुख्य समाचार छापेको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment