Comments Add Comment

छापामा आजः भेट्टाएको नागरिकताबाट कम्पनी दर्ता, ६८ करोड ठगी

४ पुस, काठमाडौं । केही दिनदेखि दुई ठूला दल नेकपा र नेपाली कांग्रेसका बैठकमा केन्द्रित रहँदै अधिकांश राष्ट्रिय दैनिक पत्रिकाहरु आज पनि यही विषयमा अल्झिएका छन् । यद्यपि, केही दिन दैनिक पत्रिकाहरुले यसबाहेकका पृथक खोजमूलक सामग्री पनि छापेका छन् । पूर्वप्रधानमन्त्री तुलसी गिरी निधनलाई पनि आजका पत्रपत्रिकाहरुले स्थान दिएका छन् ।

कान्तिपुर दैनिकले स्वकीय सचिवको तलबसमेत सांसदले लिने गरेको लेखेको छ । संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐनअनुसार सचिवालयका कर्मचारीकै बैंक खातामा तलब पठाउनुपर्नेमा त्यसविपरीत बुझ्दै आइरहेका छन् ।

यसअघि काठमाडौंमा घर हुँदा–हुँदै सांसद्ले नियमविपरीत घरभाडा बुझ्दै आएको सार्वजनिक भएको थियो ।

कान्तिपुरका अनुसार, ऐनको व्यवस्थाविपरीत कर्मचारीको तलबभत्ता सबैभन्दा बढी बुझ्नेमा सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना छन् । संसद् सचिवालयले कर्मचारीको तलबभत्ताबापत महरा र तिमिल्सिनाको खातामा मासिक १ लाख ९७ हजार ५ सय १० रुपैयाँका दरले जनही जम्मा गर्ने गरेको छ ।

सचिवालयले पदाधिकारीका निजी सचिवालयका कर्मचारी र सांसदको स्वकीय सचिवको तलबभत्ताबापत मासिक १ करोड १७ लाख ४६ हजार २ सय ६९ रुपैयाँ भुक्तानी गरिरहेको समाचारमा जनाइएको छ । यो रकम संघीय संसदमा बहाल रहेका ३ सय ३२ सांसदलाई दिने पारिश्रमिकभन्दा ५४ लाख २५ हजारले बढी हो ।

जनकपुरस्थित जानकी मेडिकल कलेजले प्रवेश परीक्षाबिनै एमबीबीएसमा भारतीय भर्ना गरेकोलाई पनि कान्तिपुरले प्राथमिकताका साथ लेखेको छ । चकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) लाई ढाँटेर ३४ भारतीय विद्यार्थी एमबीबीएसमा भर्ना गरेको समाचारमा उल्लेख छ ।

कान्तिपुर लेख्छ–पहिलो वर्षको परीक्षाका लागि आईओएममा फर्म पुगेपछि ती भारतीय विद्यार्थी प्रवेश परीक्षामै सामेल नभएको खुलेको छ ।

नयाँ पत्रिका दैनिकले ‘इन्धनमा महिनामै डेढ अर्ब नाफा’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । समाचार अनुसार, निगमलाई दिनमा ६ करोड नाफा छ ।

भेट्टाएको नागरिताबाट ६८ करोड ठगी गरिएको खबर पनि नयाँ पत्रिकामा छ । समाचार अनुसार, प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीर्आइबी) ले ठगीमा संलग्न विजयनारायण श्रेष्ठलगायत चार जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

बाटोमा भेट्टाएको नागरिकताबाट कम्पनी दर्ता गरी उनीहरुले ६८ करोड रुपैयाँ राजस्व छली गरेको समाचारमा उल्लेख छ । समाचार अनुसार उनीहरुले सो कम्पनीमार्फत् २ अर्ब ४२ करोड रुपैयाँको कारोबार गरेका थिए । तर, एक रुपैयाँ पनि कर तिरेका थिएनन् ।

अन्नपूर्ण पोस्ट दैनिकमा खासै नयाँ समाचार छैन । उसले नेकपा स्थायी समिति बैठकमा नेताहरुले जनाएको असन्तुष्टिदेखि पूर्वप्रधानमन्त्री तुलसी गिरीको निधनसम्मका खबरलाई पहिलो पृष्ठमा छापेको छ ।

राजधानीले समायोजनको फारम भर्न छोडेर कर्मचारी आन्दोलनमा उत्रिएको लेखेको छ । राजधानीको निष्कर्ष छ– राजधानीले सरकारले अध्यादेशमार्फत् कानून ल्याएर थालेको समायोजन प्रक्रिया कर्मचारीकै असहयोगका कारण संकटमा परेको छ ।

नागरिकले जन्मसिद्ध नागरिकका सन्तानले पनि वंशजका आधारमा नागरिकता पाउने लेखेको छ भने गोरखापत्रले नेपालमा अमेरिकी उच्चस्तरीय भ्रमणको सम्भावना रहेको समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment