Comments Add Comment

नेपालमा शारीरिक सुगठन : हेपिएको खेल तर, उपाधिको भेल

४ पुस, काठमाडौं । विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक जितेका महेश्वर महर्जन राष्ट्रिय झण्डा उचालेर भावुक बने । उनका आँखा रसाए । देशका लागि केही गरेँ भन्ने भावनाले गहभरी आँसु बनाएका महेश्वरहरुका लागि देशले भने केही गर्न सकेको छैन ।

महेश्वरले स्वर्ण जितेपछि शारीरिक सुगठनको विषयमा धेरैलाई चासो जागेको छ । अन्यथा, नेपालमा यसलाई न सरकारले गम्भीररुपमा लिएको थियो न जनस्तरमा नै यसको क्रेज ठूलो थियो । धेरैलाई यो तथ्यको जानकारी नै छैन कि नेपालले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा शारीरिक सुगठनबाट धेरै उपाधि जित्दै आएको छ ।

उपाधि जितेपछि सामाजिक सञ्जालमा तस्वीर हालेर बधाई दिन हतारो गर्ने सम्बन्धित निकायका अधिकारीहरु पनि खेलमा सहयोग गर्नुपर्दा भने नाक खुम्च्याउँछन् ।

अवस्था जस्तो भए पनि खेलाडीहरु भने राष्ट्रको पहिचानका लागि तपस्या नै गरेर उपाधि जित्न लागिपरेका छन् । व्यक्तिगत खर्चमा देशको नाम राख्न मेहनत गरेका छन् । त्यो मेहनतअनुसार नै सफलता पनि पाएका छन् । तर, यसरी नै कहिलेसम्म चल्ला त ?

यस्तो थियो सुरुवात

शहीद धर्मभक्त माथेमाले भारतको बङ्गालमा शारीरिक व्यायामशालाबाट सिकेको ज्ञान नेपालमा आएर प्रयोग गर्न थालेपछि नेपालमा शारीरिक सुगठनको अभ्यास हुन थालेको बताइन्छ । त्यो समय राजा त्रिभुवनको व्यायाम शिक्षकसमेत रहेका धर्मभक्तको बाटो पछ्याउँदै युवाहरु शारीरिक ब्यायाममा लागेका थिए ।

२०१० सालमा नेपाल ब्यायाम मन्दिरको नाममा काठमाडौं ज्याठामा व्यायामशाला खोलियो । अहिले उपत्यकामा मात्रै त्यस्ता व्यायामशालाहरु झण्डै दुई सयको संख्यामा छन् । जहाँ अवसर पाउने हो भने महेश्वरजस्ता धेरै खेलाडी निस्कन सक्ने छन् ।

फाट्टफुट्ट भइरहेको अभ्यासलाई एकत्रित गरेर २०३५ सालमा भारत्तोलन तथा शारीरिक सुगठन संघ स्थापना भयो । संघ बनाएर पनि सोचेको जस्तो प्रगति भने देखिएन । जसले गर्दा २०४७ सालमा भारत्तोलनलाई छुट्टै राखेर नेपाल शारीरिक सुगठन संघको नाममा राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तर्गत रहेर काम सुरु भयो ।

त्यतिबेलासम्म अन्तर्राष्ट्रिय स्तरमा नेपालको सहभागिता निकै कम थियो । व्यक्तिगत रुपमा नै युवाहरु अन्तर्राष्ट्रिय सहभागितामा लागिपरेका थिए । देखिने गरेर काम हुन सकेको थिएन ।

२०६२ साल असोजमा राजेशबाबु श्रेष्ठको नेतृत्वमा शारीरिक सुगठन संघ आएपछि केही उपलब्धीहरु देखिन थालेका हुन् । विभिन्न ३० वटा जिल्लामा संघहरु बने । २०६४ सालमा नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ भनेर व्यापकता दिइयो ।

अहिले संघले मिस्टर हिमालय भनेर दुई वर्षमा एक–पटक र मिस्टर नेपाल नाममा शारीरिक सुगठन प्रतियोगिता गराइरहेको छ । जिल्लास्तरमा अन्य प्रतियोगितासँगै नेपाल व्यायाम मन्दिरले गर्ने धर्मश्री शारीरिक सुगठन प्रतियोगिता पनि चर्चामा रहन्छ ।

अन्तर्राष्ट्रिय उपाधिमा अगाडि

देखिने गरी काम हुन थालेको छोटो समयमा शारीरिक सुगठन र फिटनेसमा नेपालको अन्तर्राष्ट्रिय सहभागिता उपाधिका हिसाबले अन्य खेलको तुलनामा राम्रो छ ।

खेलकुद परिषदले जुन तरिकाले हेर्नुपर्ने हो, हेरेको छैन । एक हिसाबले भन्दा हेपाहा प्रवृति नै देखिएको छ-दिनेश राजभण्डारी, उपाध्यक्ष

शारीरिक सुगठनमा नेपालको एसियाली सहभागिता ४३ औँ एसियाली शारीरिक सुगठन प्रतिस्पर्धाबाट सुरु भएको हो । एसियाली शारीरिक सुगठन प्रतिस्पर्धा अहिले ५२ औँ वर्षमा पुगेको छ ।

‘अन्तर्राष्ट्रिय सहभागिता पहिलेदेखि नै सम्मानजनक भइरहेको छ । नेपालका खेलाडीले ४६ औँ एसियाली शारीरिक सुगठनमा रजत पदक जितेका थिए । एसियालीमा मात्रै होइन विश्व शारीरिक सुगठनमा पनि हाम्रो सहभागिता राम्रो भइरहेको छ’ संघका उपाध्यक्ष दिनेश राजभण्डारीले सुनाए ।

सन् २०१० मा भएको दोस्रो विश्व शारीरिक सुगठनमा पनि नेपालका श्याम श्रेष्ठले कांस्य पदक जितेका थिए । २०१४ मा भएको छैठौँ विश्व शारीरिक सुगठनमा बिमललाल श्रेष्ठले रजत पदक जिते । २०१५ मा भएको सातौँमा रुजेश शाहीले अर्को रजत जिते ।

यस्तै, २०१६ मा भएको ५० औँ एसियाली शारीरिक सुगठनमा महेश्वर महर्जनले स्वर्ण पदक नै ल्याए । २०१६ मा नै एथ्लेटिक फिजिक्सतर्फ ननिता महर्जनले कांस्य पदक जितेर महिला सहभागितामा उपाधि कीर्तिमान बनाएकी थिइन् ।

यो पनि पढ्नुहोस बडिविल्डिङमा नेपाललाई ऐतिहासिक सफलता, महेश्वर बने विश्वविजेता

२०१७ मा भएको ५१ औँ एसियाली च्याम्पियनसिपमा कमल भण्डारीले कांस्य पदक नै जिते । ५१ औँ मा नै नेपालकी पहिलो महिला शारीरिक सुगठन खेलाडीका रुपमा चिनिने निर्मला महर्जनले चौथौ स्थान हासिल गरेकी थिइन् ।

ननिताले नवौं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस च्याम्पियनसिप २०१७ मा रजत पदक जितेर दोहोरो पदक ल्याउने पहिलो नेपाली महिला भइन् । त्यहीँ रुजेश शाहीले पनि कांस्य नै जिते । यसपटक महेश्वरको उपाधिमा त पूरै देश झुम्मिएकै छ ।

सम्भावनालाई वेवास्ता

अन्तर्राष्ट्रियस्तरमा राम्रो गरिरहे पनि शारीरिक सुगठन खेललाई उपेक्षित अवस्थामा नै छ । भएका उपलब्धीहरु खेलाडीको व्यक्तिगत मेहनतमा मात्रै निर्भर छन् ।

‘सबैभन्दा ठूलो कुरा त खेलकुद परिषदले जुन तरिकाले हेर्नुपर्ने हो, हेरेको छैन । एक हिसाबले भन्दा हेपाहा प्रवृति नै देखिएको छ । वर्षमा ४ लाख रुपैयाँ दिनुहुन्छ । जबकि अहिले बैंकक गएका खेलाडीको लागि मात्रै झण्डै ६ लाख रुपैयाँ खर्च भएको छ’ संघका उपाध्यक्ष राजभण्डारी भन्छन्, ‘त्यो ६ लाख पनि रजिस्टे«सन, टिकट र खेल सामग्रीका लागि मात्रै हो । डाइटदेखि अन्य कुरा त भिन्नै छ । एक खेलाडीले एकपटक प्रतियोगिताको लागि तयारी गर्न झण्डै ८ लाख रुपैयाँ खर्च गर्छन् ।’

यसपटक त राखेप सदस्यसचिव पारिवारीक शोकमा रहेकाले आफैले पैसा मिलाएर पठाएको उनी बताउँछन् ।

‘बजेट माग्न नै बाँकी छ । वर्षको ४ लाख आउने राखेपबाट यो प्रतियोगिताको एक लाखसम्म त आउला कि ?’ उनले भने ।

खेलाडीहरु पनि आफूहरुलाई गरिएको वेवास्ताले दुखी छन् । पदक विजेता खेलाडीहरु रुजेश या ननिता सबैको विचार एउटै छ, वेवास्ताका बीच पनि देशका लागि केही गर्न पाउँदा खुशी लाग्छ ।

‘अरु खेलका खेलाडीलाई पनि आफ्नै खाले कठिनाइहरु होलान् नै तर, हामीलाई त असाध्यै सकस हुन्छ । एउटा प्रतियोगिताको लागि चार महिना त तपस्या नै गर्नुपर्छ । तैपनि कदर छैन,’ रुजेशले भने ।

अभ्यास गर्ने नै ठाउँ छैन

निजीरुपमा सयौँको संख्यामा फिटनेस सेन्टरहरु भए पनि खेलाडीहरुको लागि प्रतियोगितामा जानको लागि अभ्यास गराउने ठाउँ छैन । आफ्नै खर्चमा कोही कहाँ, कोही कहाँ अभ्यास गर्छन् । ।

‘हामीसँग जिमनाइजिम हल त टाढाको कुरा संघको अफिस कोठा पनि छैन । अहिले अध्यक्षज्यूले नै भइपरिआउने खर्च टार्नुहुन्छ । आफ्नै फिटनेस सेन्टरहरुमा अभ्यास र तयारी हुन्छ,’ राजभण्डारीले भने, ‘अफिसि यल बैठक बस्नुपर्दा कहिले कसकोमा कहिले कसकोमा बसिरहेका छौँ । महेश्वर महर्जनले पनि साथीहरुसँग मिलेर खोलेको आफ्नै जिममा अभ्यास गरेर स्वर्ण पदक जितेका हुन् ।’

सरकारीस्तरबाट केही पनि सोच नआएकोमा उनले दुःख पोखे । ‘कहिल्यै मेडल नजित्ने खेलमा पनि ठूलो खर्च र लगानी भइरहेको छ । हाम्रो खेल ओलम्पिकमा पर्दैन तर राम्रो स्तरमा पुगिरहेको छ । ओलम्पिकमा परिवारसहित जान मिल्ने खेलमा ध्यान दिने तर पदक जितेर देशको नाम राख्ने खेलमा ध्यान दिन नसक्ने किन होला ?’ उनले प्रश्न गरे ।

‘जग्गा दिनुस, हामी जिमनाइजिमको लागि निजी साझेदारीमा लगानी गरेर काम गर्छौं भन्दा पनि सुनुवाइ भएको छैन । जिमनाइजिम हल बनाउन सके शारीरिक सुगठन मात्रै होइन अरु खेलका खेलाडीले पनि फिटनेसका लागि प्रयोग गर्न सक्थे । सबै राष्ट्रिय खेलाडीको लागि नै भनेर काम गरौँ भनेको हो तर भएको छैन’ उनले भने ।

उनी थप्छन्, ‘बजेटको कुराहरु गरेको त वर्षौं भयो । तपाइँहरुको राम्रो छ, तपाइँहरुको खेललाई हेर्छौं भन्नुहुन्छ तर हेरेको देखिँदैन । जे भइरहेको छ, व्यक्तिगत रुपमा नै भइरहेको छ । हामी बाहिर जाने बेला परिषदसँग स्वीकृति लिन्छौँ र उहाँहरुले बिदाइ गर्नुहुन्छ । त्यति औपचारिकता मात्रै भएको छ ।’

खेलाडीहरु सबैको एउटै किसिमको भावना छ । अरु खेलमा जस्तै प्रतियोगितामा जानुअघि क्लोज क्याम्पमा राखिदिएर डाइटहरुको व्यवस्था गरिदिए हुन्थ्यो ।

राज्यको तर्फबाट हेरिदिने गरी केही भइदिए हुन्थ्यो भन्ने उनीहरुको विचार छ । अरु खेलमा बगिरहेको करोडौँ रुपैयाँमा थोरै मात्र यसलाई छुट्याउने हो भने विश्वस्तरमा नेपालको उपस्थिति अझै राम्रो हुने उनीहरुलाई लाग्छ ।

यसै झरेको होइन आँसु

इरान, भारत, थाइल्याण्ड जस्ता देशमा यथेष्ट सुविधा पाइरहेका खेलाडीलाई उछिन्नु चानचुने सफलता होइन ।

‘विदेशमा त माहोल नै फरक छ । उनीहरुलाई मिलेको समर्थन देख्दा हाम्रा खेलाडीको आँखाबाट आँसु आउँछ । राष्ट्रको प्रतिनिधित्व गरेर जाँदा पनि हामी टुहुरा जस्तो भएर जानुपरेको छ । नमज्जा नै हुन्छ’ राजभण्डारी भन्छन् ।

राखेपले बजेट दिने हिसाबले शारीरिक सुगठनलाई ‘डी डिभिजन’ मा राखेको छ । जबकि ‘ए’ भनेर करोडौँ खर्च गरिने खेलले भन्दा यसले राम्रो नतिजा ल्याइरहेको छ ।

‘महेश्वरले स्वर्ण पदक जित्दा राखेप पदाधिकारीलाई जानकारी गराउन टेलिफोन गर्दासम्म उठाएनन् । एसएमएस गरेर भनेपछि बल्ल फोन उठ्यो,’ राजभण्डारीले सुुनाए ।

२७ वर्षदेखि जिमलाइनमा रहेका रुजेश शाही गएको चार वर्षदेखि खेलाडीकै रुपमा सक्रिय छन् । उनी पनि मेडल जित्दा राष्ट्रका लागि केही गरेको भावनाले आँसु झर्ने सम्झन्छन् ।

‘छैठौँ विश्व च्याम्पियनसिपमा भाग लिएर उपाधिविहीन हुनुपरेको थियो । त्यसपछि मिस्टर नेपाल र मिस्टर हिमालयन खेलेपछि सातौँ विश्व च्याम्पियनसिपमा रजत पदक जितेर कीर्तिमान बनाएँ’ उनी भन्छन्, ‘जित्यो भन्दा हामीलाई खुशी मात्रै लागिरहेको हुन्छ तर, मेडल लगाउने बेला जब राष्ट्रिय झण्डा ओढिन्छ तब छाति ढक्क फुल्छ । महेश्वरलाई जस्तै मलाई पनि आँसु आएको थियो ।’

खेलाडीको तपस्या

शारीरिक सुगठनमा लागेका जोसुकै खेलाडीसँग कुरा गर्दा पनि उनीहरु भन्छन्, ‘प्रतियोगिता अगाडि चार महिना त तपस्या नै गर्नुपर्छ ।’

कठीन परिश्रम पर्ने भएकाले लगातार खेल्नुभन्दा आराम लिएर खेल्नुपर्छ । नियमित मेहनत गर्नुपर्छ । जति जे गरे पनि खेलेर खेलाडीले पाउने भनेको त्यही मेडल र प्रमाणपत्र मात्रै हो ।

‘दोस्रो भएर आउँदा राखेपले ६५ हजार र तेस्रो भएर आउँदा ३५ हजार दिएर सम्मान गरेको थियो । त्यही पनि एक वर्षपछि दिएको मलाई याद छ’ ननिताले सम्झिइन् ।

‘अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जान फर्म भर्नेबेला चाहिने ५ सय डलरदेखि प्लेन टिकटसम्म सबै व्यवस्था संघले मिलाएको हुन्छ । पदाधिकारी मिलेर हामीलाई पठाउने गर्नुभएको छ तर, साढे तीन महिनाको तयारीमा हाम्रो व्यक्तिगत नै ८ लाख जति खर्च हुन्छ,’ रुजेशले गुनासो गरे ।

दुःख जति परे पनि बाहिर जाँदा खेलाडी रमाइलो नै मान्छन् । अरु देशको खेलाडीसँग पनि भेट हुन्छ । कुरा बुझ्ने अवसर मिल्छ । देशको लागि केही गर्न सकेँ भन्ने खुशी त छँदै छ ।

‘नुन, पानी छाडेर तयारी गर्नुपर्छ । खानेकुरा असाध्यै विचार गर्नुपर्छ । सबै काम छाडेर खाने, बस्ने, सुत्ने र अभ्यासमा ध्यान दिनुपर्छ । उसिनेका कुरा खाइन्छ । अण्डा दिनमा ३० वटा जति खाइन्छ । चिकेन ब्रेस्ट कम्तिमा एक किलो र हरियो सागपात खाइन्छ । कार्बोहाइड्रेड असाध्यै कम गरिन्छ,’ रुजेशले सुनाए ।

‘एक हिसाबले भन्दा त जोखेर नै खाइन्छ । कति पटकमा कति ग्राम खाने भनेर तालिका नै बनाएर लागिपर्नुपर्छं । साढे चार महिना तपस्या बसेको जसरी तयारी गर्छौं । तर मान्छेहरु नबुझेर जिउ बनायो, बिगार्‍यो भन्छन्’ उनले भने ।

घरबाट साथ र सहयोग नपाउने हो भने शारीरिक सुगठनमा लाग्न असम्भव देख्छन् उनीहरु । ‘खेलको बेला श्रीमती उठेर बिहानैदेखि खाना तयार पारिदिन्छिन् । दिनभर के खाने भन्ने कुरामा विचार गरिदिन्छिन् । परिवारको साथ नपाउने खेलाडीलाई त अप्ठ्यारो हुन्छ’ रुजेशले भने ।

ननिताको अनुभव पनि रुजेशको जस्तै छ । ‘हौसला त सबैले दिनुहुन्छ, तपाइँले सक्नुहुन्छ खेल्नुस् भनिरहनु भएको हुन्छ । तर महँगो खेल भएकाले कठीनाई हुन्छ । मलाई श्रीमान र परिवारले साथ दिनुभएको छ र मात्रै सकेको छु, होइन भने सकिँदैन’ उनले भनिन् ।

अन्तर्राष्ट्रिय स्तरमा बडिबिल्डिङ

इजिप्ट र ग्रिसको प्राचीन इतिहासमा मात्रै होइन, ढुंगे युगका आख्यानहरुमा पनि बलवान शरीरलाई सफलतासँग जोडिएर हेरिन्थ्यो । सुगठित शरीरका लागि मेहनत गर्ने र त्यसलाई प्रयोग गरेर उपलब्धी हासिल गर्ने अभ्यास पुरानै हो ।

सुरुवातदेखि हेर्ने हो भने शारीरिक सुगठन मुख्य त भारत्तोलनसँग नै जोडिएर आउँछ । १९ औँ शताब्दीको अन्त्यतिर जर्मनीका इगेन स्यान्डोले बेलायतमा शारीरिक सुगठन अभ्यासलाई फैलाएको बताइन्छ ।

बडिबिल्डिङमा उपाधि जितेपछि सामाजिक सञ्जालमा तस्वीर हालेर वधाई दिन हतारो गर्ने सम्बन्धित निकायका अधिकारीहरु यस खेलमा बजेट छुट्याउनुपर्दा भने मुख अमिलो बनाउँछन्

उनैलाई खेलका रुपमा त्यसलाई सुरुवात गरेको जस जान्छ र ‘फादर अफ बडीबिल्डिङ’ नाम दिइएको छ । उनैले ४ सेप्टेम्बर १९०१ मा पहिलोपटक शारीरिक सुगठन प्रतिस्पर्धा गराएको पाइन्छ ।

अन्तर्राष्ट्रिय स्तरमा पनि शारीरिक सुगठन खेल हो या होइन भन्ने बारे विभिन्न बहस भइरहेको पाइन्छ । क्युवामा जन्मिएका अमेरिकन अन्तर्राष्ट्रिय शारीरिक सुगठन खेलाडी ली लाब्राडा पुरानो सोचका कारण यस्तो बहस हुने गरेको बताउँछन् ।

शारीरिक प्रस्तुति र प्रतिस्पर्धा खेलकै नियमका आधारमा गरिने भएकाले यसलाई खेल हो कि होइन भन्ने बहस अनावश्यक भएको ली बताउँछन् । उनले यसो भनिरहँदा शारीरिक सुगठनलाई मिस वल्र्ड, मिस युनिभर्स जस्ता प्रतियोगितासँग तुलना गरेर खेल होइन भन्नेहरु पनि कम छैनन् ।

अन्तर्राष्ट्रिय शारीरिक सुगठन तथा फिटनेस संघ, एमेच्योर एथलेटिक संघ, विश्व बडिविल्डिङ गिल्ड, विश्व बडिविल्डिङ फेडेरेसन जस्ता संस्थाहरुले मिस्टर वल्र्ड, मिस्टर युनिभर्स, मिस्टर ग्यालेक्सी, मिस्टर ओलम्पिया जस्ता प्रतियोगिताहरु गराउने गरेको पाइन्छ ।

त्यसमा पनि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले मान्यता दिएको अन्तर्राष्ट्रिय वल्र्ड गेम्स एशोसियसनमा सदस्य रहेको हुँदा अन्तर्राष्ट्रिय शारीरिक सुगठन तथा फिटनेस संघ मान्यताप्राप्त संस्थाका रुपमा रहेको छ ।

यसले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको आयोजनामा हुने साउथइस्ट एसियन गेम्स, एसियन गेम्स, साउथ अमेरिकन गेम्स, एसियन बिच गेम्स, अरब गेम्स, प्यासिफिक गेम्स, अफ्रिकन गेम्स जस्ता प्रतिस्पर्धाहरुमा पनि शारीरिक सुगठन खेल समावेश गरेर प्रतियोगिता गराएको छ । यसले ओलम्पिक काउन्सिल अफ एसिया, सुप्रिम काउन्सिल फर स्पोर्टस्  इन अफ्रिका, दि एशोसियसन अफ पान–अमेरिकन स्पोर्टस फेडेरेसनबाट पनि मान्यता पाएको छ । यसको युरोप, अमेरिका, अफ्रिका र एसियाका विभिन्न १ सय ९० वटा देशमा मान्यताप्राप्त संस्थाहरु छन् ।

नेपालका महेश्वर महर्जनले स्वर्ण पदक जितेको प्रतिस्पर्धा अन्तर्राष्ट्रिय शारीरिक सुगठन तथा फिटनेस संघकै आयोजनामा भएको विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिप भएकोले ठूलो उपलब्धी मानिएको हो ।

शारीरिक सुगठन प्रतिस्पर्धामा निर्णायकले पोस्चर हेर्छन्, जसको लागि सात वटा पोज देखाउनुपर्ने हुन्छ । टाउकोदेखि पैतलासम्म जिउ सुहाउँदो छ कि छैन भन्ने हेरिन्छ । ठूलो बाक्लो शरीर भएर मात्रै जितिँदैन, मिलेको शरीर हुनुपर्छ ।

मसल्सको क्वालिटी हेरिन्छ । शरीरमा बोसोको अवस्था हेरिन्छ । पानीको लेभल कतिको मिलाएको छ भन्ने हेरिन्छ । सबै कुराले मात्रै विजेता बन्न सकिन्छ । सानो कुराले पनि धेरै फरक पार्छ । ७ जना प्रशिक्षक बसेर हेरिरहेका हुन्छन् । उनीहरुले दिएको नम्बरमा आधारमा अघिपछि परिन्छ ।

बडिबिल्डिङ तौल समूहका आधारमा हुन्छ भने त्यसअन्तर्गतको एथ्लेटिक्स फिजिक्स, म्यान फिजिक्स, वुमन फिजिक्स, स्पोर्टस् फिजिक्स उचाइका आधारमा फरक–फरक समूह बनाइएको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment