Comments Add Comment

मोउरिन्हो भन्छन् – स्वतन्त्रताको सम्मान होस्

५ पुस, काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट बर्खास्त भएका प्रशिक्षक जोसे मोउरिन्होले त्यसबारेमा केही प्रतिक्रिया नदिने बताएका छन् । आफू पूर्वसहकर्मीका बारेमा केही नबताउने र उनीहरुप्रति मनदेखि सम्मान रहेको मोउरिन्होको भनाई छ ।

१७ डिसेम्बर २०१५ मा चेल्सीबाट बर्खास्तमा परेका मोउरिन्हो अहिले १८ डिसेम्बरमा युनाइटेडबाट बर्खास्तमा परे ।

‘म्यानचेस्टर युनाइटेडमा आएको पहिलो दिनदेखि नै मलाई गर्व लागेको थियो । युनाइटेडका समर्थकलाई पनि त्यो थाहा छ भन्ने विश्वास गरेको छु’ उनले भनेका छन्, ‘जब कुनै सम्झौता सकिन्छ तब पूर्व सहकर्मीका बारेमा प्रतिक्रिया नदिने र उनीहरुलाई सम्मान गर्ने मेरो बानी छ ।’

झण्डै साढे २ वर्ष युनाइटेडमा रहेका प्रशिक्षक मोउरिन्होलाई क्लवले खराब नतिजाका कारण बर्खास्त गरेको हो । ५५ वर्षका पोर्चुगाली प्रशिक्षक मोउरिन्हो आफ्नो टिमको पछिल्लो समयको नतिजाबाट दबावमा पनि थिए ।

इंग्लिस प्रिमियर लिगको पछिल्लो खेलमा आइतबार युनाइटेड लिभरपुलसँग ३–१ गोलअन्तरले पराजित भएको थियो । प्रिमियर लिगमा छैंठौँ स्थानमा रहेको युनाइटेडको १७ खेलमा २६ अंक रहेको छ । शीर्षमा रहेको लिभरपुलको ४५ अंक छ ।

युनाइटेडमा हुँदा मोउरिन्होले लिग कप र युरोपा लिगको उपाधि जिताएका थिए । उनलाई बर्खास्त गरेसँगै कार्यवहाक प्रशिक्षकको जिम्मेवारी दिएर युनाइटेडका पूर्वखेलाडी ओले गुनार सोल्स्कजाएरलाई ल्याइएको छ ।

मोउरिन्हो अहिले आफ्नो घर लण्डन गएका छन् । चेल्सी र रियल मड्रिडसमेत सम्हालिसकेका उनले फेरि फुटबलमा नफर्किंदासम्म आफ्नो गोपनियता र खालि समयलाई सम्मान गर्न आग्रह गरेका छन् ।

यस्तो छ मोउरिन्होको भनाइ

म्यानचेस्टर युनाइटेमा आएको पहिलो दिनदेखि नै मैले गर्व महशुस गरेको थिएँ । युनाइटेडका समर्थकलाई यो कुरा थाहा छ भन्ने विश्वास लिएको छु ।

यसअगाडिका क्लबमा जस्तै केही राम्रा मान्छेहरुसँग काम गर्ने अवसर युनाइटेडमा पनि पाएँ । मलाई विश्वास छ, ती मध्ये केही जीवनभर मेरो असल मित्र हुनेछन् ।

व्यावसायिक सिद्धान्तका बारेमा यहाँहरु सबैलाई थाहा छ भन्ने लाग्छ । जब कुनै सम्झौता सकिन्छ तब पूर्व सहकर्मीका बारेमा प्रतिक्रिया नदिने र उनीहरुलाई सम्मान गर्ने मेरो बानी छ ।

मिडियाले पनि म अर्को काममा नफर्कंदासम्म मेरो व्यक्तिगत जीवनको सम्मान गर्ने छन् र सामान्य जीवन बाँच्न सहयोग गर्ने छन् भन्ने विश्वास लिएको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment