Comments Add Comment

धरहराको शिलान्यास पुस १२ गते

८ पुस, काठमाडौं । विनाशकारी भूकम्पले भत्किएको धराहराको पुनर्निमाण शिलान्यास पुस १२ गते हुने भएको छ । आउँदो बिहीबार धरहरा परिसरमै एक कार्यक्रम गरी प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गर्ने भएका हुन् ।

शिलान्यासपछि धरहरा पुनर्निर्माणको कामले गति लिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले अनलाइनखबरलाई जानकारी दिए । ‘धरहरा निर्माण क्षेत्रमा प्रोटेक्सन पालिङ (छेकबार) गर्ने काम भइसकेको छ । अब शिलन्यास लगत्तै धमाधम काम शुरु हुनेछ’, उनले भने ।

उनका अनुसार धरहरा परिसरलाई कम्पाउण्डिङ गर्ने, भत्किएको धरहरालाई संरक्षण गर्नेलगायतका काम भइसकेका छन् । मंसिरमै जग खन्न शुरु गर्ने तयारी रहे पनि टेलिकमको अण्डरग्राउण्ड फाइबर, खानेपानीका पाइप विद्युतका तार परिसर क्षेत्रमा परेकाले ढिलाइ भएको मानन्धर बताउँछन् ।

‘टेलिकमको फाइबर पनि त्यतै बिछ्याएर लगिएको रहेछ, खानेपानीको पाइप, विद्युतका अण्डरग्राउण्ड केबलको व्यवस्थापनले केही ढिलो भयो’, उनले भने ।

भत्किएको धरहरालाई संरक्षण गर्न चारैतिरबाट प्रोटेक्सन पालिङको काम भइरहेको छ । ‘धरहराको ठूटोमाथि छत राख्ने काम सकिएको छ, अब चारैतिरबाट १० मिलिमिटरको टेम्परग्लासले घेर्छौं’, उनले भने ।

पुनर्निर्माण प्राधिकरणले जीआईईटिसी–रमन जेभीलाई धरहरा पुनर्निर्माणको जिम्मा दिएको थियो । मानन्धरका अनुसार कम्पनीले ३ अर्ब ४५ करोडमा धरहरा निर्माणको जिम्मा पाएको थियो । धरहरा निर्माणका लागि आवश्यक सामग्री र त्यहाँबाट निस्कने फोहोरलाई टुँडिखेलको दक्षिण भागमा व्यवस्थापन गर्न ठाउँ छुट्याइएको छ ।

यस्तो बन्नेछ धरहरा

२९ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगै‌ंचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् । धरहरा ११ तलाको बन्नेछ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुनछ ।

विसं १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले २ तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । धरहरामा भर्‍याङ चढेर होइन, लिफ्टबाट ‘टप’मा पुग्ने व्यवस्था हुनेछ । धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ ।

अहिले धरहराले ओगटेको ६ रोपनी जग्गासहित गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गर्ने काम भइरहेको मानन्धरले बताए ।

धरहराको पुरानो बाहिरी स्वरुप परिवर्तन गरिने छैन । पुरानो स्वरुपमा आधुनिक सुविधा भएको बलियो धरहरा बनाउन लागेको मानन्धरले बताए।

धरहरा बाहिरबाट हेर्दा पुरानैजस्तो देखिए पनि भित्री भाग आधुनिक हुनेछ । अहिले भग्नावशेष रहेको धरहराको भागलाई संरक्षण गरेर राखी नयाँ धरहरा बनाइने छ । धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट हुने छ ।

बसमेन्टमा तलमाथि गर्नका लागि लिफ्टको व्यवस्था गरिने छ । बेसमेन्टमा बाहिरको प्रकाश प्राकृतिक तवरले भित्र पठाउने व्यवस्था मिलाइएको छ ।

धरहरा परिसरमा दुई तलाको आकर्षक म्युजियम हुनेछ । म्युजियममा पुराना सिक्का र सिक्का छाप्ने मेसिनहरु प्रदर्शनीमा राखिने छ । म्युजियम जाने बाटोमा वाटर फाउन्टेन हुनेछ । वाटर फाउन्टेन ५० फिट अग्लो हुनेछ । नयाँ बन्ने धरहरा अपांगमैत्री समेत हुने प्राधिकरणले जनाएको छ ।

धरहरा छिर्ने बित्तिकै आकर्षक बँगैचा आउने छ । धरहरा परिसरमा लाइब्रेरी, रेष्टुरेन्टलगायतका सुविधाहरु पनि हुनेछन् । धरहरा परिसरमा तीन तले पार्किङ हुने छ । पर्यटकका लागि अब बन्ने धरहरा काठमाडौंको महत्वपूर्ण गन्तव्य बन्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment