+
+
Shares

कांग्रेस महामन्त्रीमा रन्जित कर्णको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको महामन्त्रीमा नेता रन्जित कर्णले उम्मेदवारी घोषणा गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १८:०५

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा नेता रन्जित कर्णले उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन नै गरेर उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

कांग्रेसको १५ औं महाधिवेशन जारी छ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका पूर्वअध्यक्ष समेत रहेका नेता कर्णले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् ।

हाल राष्ट्रिय सभा सदस्य रहेका कर्णले उम्मेदवारी घोषणा गर्दै कांग्रेस कमजोर भएको नभएर कांग्रेसभित्रको संगठनात्मक ऊर्जा कमजोर हुँदै गएको बताए ।

‘कांग्रेससँग विचारको इतिहास छैन भन्ने होइन, त्यो विचारलाई आजको पुस्तासँग जोड्ने प्रयास कमजोर भएको हो’ उनले भनेका छन्, ‘कांग्रेससँग नेता छैनन् भन्ने होइन, नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने ढोका पर्याप्त खुला छैन ।’

यसमा आफ्नो भूमिका के हुने भनेर पनि उनले बताएका छन् ।

‘आज म महामन्त्रीको पद माग्न मात्र आएको होइन, कांग्रेसभित्र एउटा नयाँ बहस सुरु गर्न आएको हुँ’ उनी थप्छन्, ‘हामीले आफैंलाई गम्भीर प्रश्न सोध्ने बेला आएको छ, कांग्रेसको सदस्यता किन संख्या मात्र बनिरहेको छ ? कार्यकर्ता किन निर्णयको साझेदार होइन, निर्देशनको पर्खाइमा बस्नुपर्ने अवस्थामा छन् ?’

नयाँ पुस्ता कांग्रेससँग जोडिन चाहँदा उसलाई कति ठाउँ दिइएको छ भनेर ख्याल गर्नुपर्ने उनको भनाइ छ।

पार्टी बलियो बनाउने हो भने असहज प्रश्नबाट भागेर नहुने भन्दै उनी प्रश्नको जवाफ खोज्न, कांग्रेसको संगठनलाई पुनर्जीवित गर्न, कार्यकर्तालाई अधिकार र जिम्मेवारीसँग जोड्न र नयाँ पुस्तालाई नेतृत्वको साझेदार बनाउन आफू अगाडि सरेको बताउँछन् ।

आफ्नो उम्मेदवारी कुनै व्यक्तिविरुद्ध नभएको र कुनै गुट निर्माणका लागि नभएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?