Comments Add Comment

मनाङ उपाधिनजिक, संकटालाई हराए लिग च्याम्पियन

८ पुस, काठमाडौं । लिग लिडर मनाङ मर्स्याङ्दी क्लब शहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि नजिक पुगेको छ । अब उसले बिहीबार संकटालाई हराए दुई खेल अगाडि नै उपाधि पक्का गर्ने छ ।

लगातार १०औं जित हात पार्ने क्रममा मनाङले आइतबार विभागीय टोली पुलिसलाई १–० गोलले हराएको हो । ललितपुरको सातदोबोटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा मनाङका लागि विदेशी खेलाडी अडेलजा सोमिडेले निर्णायक गोल गरे । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको पुलिसले दोस्रो हाफमा भने गोल खान पुग्यो ।

खेलको ५२औं मिनेटमा सोमिडेले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । मनाङले अन्तिम समयसम्म आफ्नो अग्रतालाई कायमै राख्दा पुलिसले भने गोल गर्ने राम्रो अवसर खेर फालेका थिए ।

लिगमा १० खेलबाट मनाङले शतप्रतिशत जित हात पार्दै ३० अंक भएको छ । दोस्रो स्थानमा रहेको संकटा क्लबभन्दा पनि पाँच अंकले मनाङ अघि रहेको छ । त्यसकारण पनि मनाङको उपाधि जित्ने सम्भावना प्रवल रहेको हो ।

लिगको दोस्रो स्थानमा रहेको संकटाको १० खेलबाट २५ अंक रहंदा लिगको तेस्रो स्थानमा रहेको थ्रीस्टारको २३ अंक रहेको छ ।

अबको खेल संकटासँग

मनाङले अब ११ औं खेलमा लिगको दोस्रो स्थानमा रहेको संकटा क्लबसँग प्रतिस्पर्धा गर्दै छ । यो खेलमा मनाङले संकटा क्लबलाई पराजित गरेमा दुई खेल अघि नै लिग च्याम्पियन बन्ने छ । यस्तो हुदा मनाङको ३३ अंक हुने छ भने संकटाभन्दा आठ अंकले अघि रहनेछ ।

यता, लिगको तेस्रो स्थानमा रहेको थ्रीस्टारको २३ अंक भएको हुदा उसले जिते पनि मनाङले संकटा क्लबलाई हराएको खण्डमा महत्व हुने छैन । किनभने अबको कुनै

एक खेलमा मात्रै मनाङले जित हात पार्दा र थ्रीस्टारले आफ्नो बाँकी सबै खेलमा जिते पनि अपुग हुन्छ ।

तीन विभागीय टिम उपाधि होडबाट बाहिरिए

मनाङ, संकटा र थ्रीस्टार उपाधि दौडमा रहँदा तीन विभागीय टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब भने तीन खेल अगाडि नै लिगको उपाधि दौडबाट बाहिरिएका छन् ।

१० औं राउण्डको खेल समाप्त हुदासम्म लिगको चौथो स्थानमा रहेको आर्मीको १८ अंक रहेको छ । आर्मीले पाँच खेलमा जित, दुई खेलमा हार र तीन खेलमा बराबरी खेलेको हो ।

१० खेलबाट पाँच खेलमा जित, चार खेलमा हार र एक खेलमा बराबरी खेलेको एपीएफको १६ अंक रहेको छ । एपीएफ लिगको पाँचौ स्थानमा रहेको छ ।

उपाधि जित्ने लक्ष्य बनाएको पुलिसको पनि हालत उस्तै भयो । तीन खेल अघि नै उपाधि दौडबाट बाहिरिएको पुलिसका लागि अबको खेल भनेको उत्कृष्ट चारभित्र पर्ने हुनेछ ।

पुलिसले १० खेलबाट चार खेलमा जित, तीन खेलमा हार र तीन खेलमा बराबरी खेल्दै १५ अंक बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment