Comments Add Comment

कालिमाटीमा कृषि राज्यमन्त्रीको अनुगमन, भन्छिन्- धेरै सुधार्न बाँकी रहेछ

१२ पुस, काठमाडौं । कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री रामकुमारी चौधरीले नियम, कानून र मापदण्ड उलंघन गर्ने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउने दावी गरेकी छन् ।

कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमनपछि राज्यमन्त्री चौधरीले कानून सबैलाई समान रुपमा लाग्ने भन्दै उलंघन गरे कार्वाही गर्न सरकार पछि नहट्ने बताइन् ।

जेठ २१ गते मन्त्री चक्रपाणी खनालको नेतृत्वमा अनुगमन गरेपछि सुधारको अवस्था बुझ्न राज्य मन्त्री चौधरी बिहीबार बिहान कालिमाटी पुगेकी हुन् । उनले पहिलेको तुलनामा सरसफाइ र व्यवस्थापनमा केही सुधार भए पनि अरु धेरै सुधार गर्नु पर्ने ठाउँ रहेको बताइन् ।

‘पहिलो पटक अनुगमनमा आउँदा निक्कै अस्त व्यस्त र फोहोर थियो’, राज्य मन्त्री चौधरीले भनिन्, ‘अहिले त्यसमा केही कमी आएको जस्तो देखिएको छ तर, यतिले मात्र पुग्दैन ।’

कालिमाटी मुख्य तरकारी तथा फलफूल बजार भएको भन्दै चौधरीले त्यहाँ जस्तो हुन्छ देशभरी त्यस्तै सन्देश जाने भएकाले बजारको स्तरोन्नतिका लागि सबैले उत्तिकै पहल गर्नु पर्ने बताइन् ।

विकृति अन्त्य गर्न सबैलाई सहयोग गर्न आग्रह गर्दै राज्य मन्त्री चौधरीले भनिन्, ‘अर्को पटक आउँदा सुधारको नमूना देख्न पाइयोस् ।’ राज्य मन्त्री चौधरीले परिक्षण प्रयोगशालाको पनि निरिक्षण गरेकी थिइन् तर, उक्त प्रयोगशाला, प्रयोगशाला जस्तो पनि नभएको उनको टिप्पणी थियो ।

व्यवसायीले भने तरकारी तथा फलफूल बजार सानो भएको, कृषि उपज ढुवानी गर्ने सवारी साधनमा निर्वाध प्रयोगमा समस्या रहेको, मिडियाले विभिन्न आक्षेप लगाएर आफूहरुलाई एकतर्फी पेल्ने काम गरेको जस्ता गुनासा गरेका थिए ।

४५ रोपनी क्षेत्रफलमा फैलिएको कालिमाटीमा ५६३ वटा स्टर रहेका छन् । जेठ २१ गते मन्त्री खनाल र राज्य मन्त्री चौधरीको अनुगमनपछि कारवाहीका लागि सिफारिस गरिएका ९८ जना व्यवसायीलाई कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले स्पष्टिकरण सोधी ५७ जना व्यवसायीको इजाजत खारेज गरेको थियो ।

तर, अदालतको ढोका ढक्ढकाउन पुगेका २६ जना व्यवसायीको भने स्टल खारेज नगराउनु भनि सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment