Comments Add Comment

अदालतबाट हत्कडीसहित फरार अभियुक्त सिन्धुलीमा पक्राउ

१२ पुस, काठमाडौं । जिल्ला अदालत काठमाडौंको हिरासतबाट हत्कडीसहित फरार भएका अभियुक्त शुक्रबार सिन्धुलीमा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले सिन्धुपाल्चोकका लालकाजी तामाङलाई सिन्धुलीको एक गाउँमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । उनलाई शुक्रबार नै काठमाडौंतर्फ ल्याइएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

हवल्दारकै पछाडिबाट गायब !

साइबर अपराधसम्बन्धी जाहेरी परेपछि अनुसन्धानका लागि म्याद लिन परिसरको टोलीले उनलाई अदालत बुझाउँदा उनी हत्कडीसहित थिए । जिल्ला अदालतको फैसला कार्यान्वयन युनिटमा राखिएका उनको जिम्मा लगाएर परिसरको टोली फर्कियो भने अदालतको सुरक्षामा खटिने प्रहरीले भरपाइ बनाउन थाल्यो ।

अदालतका कर्मचारीहरुले कारागार पठाउन पत्र तयार गर्दै थिए । त्यसपछि उनलाई कारागारका अधिकारीको जिम्मा लगाउने तयारी थियो । त्यसबीचमै उनी हत्कडीसहित बुधबार दिउँसो भाग्न सफल भए ।

‘पत्र बन्नलाई ५/७ मिनेट मात्र लाग्थ्यो’, अदालतका एक अधिकारीले भने, ‘तर, अगाडि अदालतका हवल्ज्दारले कागजपत्र मिलाउँदै गर्दा उनी पछाडिबाट लुसुक्क भागेछन् ।’
उनी भागेको थाहा हुने वित्तिकै हल्लीखल्ली मच्चियो । प्रहरीले अनुसन्धान थाल्यो । अनुसन्धानका क्रममा अदालतको सीसी टीभी फुटेज हेर्दा अभियुक्त तामाङको पछिपछि उनका वकिल हिँडेको देखिन्छ । सँगै उनका काका धनबहादुर पनि हुन्छन् ।

चोर हिँडेको २० सेकेन्डपछि वकिल हिँड्छन् । त्यसपछि काका पनि निस्किन्छन् । फुटेजमा उनीहरु देखिने वित्तिकै अभियुक्तका कानुन व्यवसायी रामकुमार आचार्यलाई

प्रहरीले नियन्त्रणमा लिएको थियो । काकालाई पनि प्रहरीले टेकु ल्यायो ।

दुवैमाथि सोधपुछ गर्दा तामाङलाई भगाउन उनीहरुको संलग्नता हुनसक्ने बलियो प्रमाण भेटिँदैन । त्यसपछि उनीहरुलाई प्रहरीले छाडिदिएको थियो ।
किन पक्राउ परेका थिए उनी ?

एक साताअघि एक युवतीले अपशब्द प्रयोग गरेर गालीगलौज समेत गरेको भन्दै साइबर अपराधमा अनुसन्धान गरिदिन माग गर्दै तामाङ र अर्का एक जनाविरुद्ध उजुरी दिएकी थिइन् ।

मुद्दा शाखाका अधिकारीहरुले उनको निवेदन उपर कारबाही गर्ने क्रममा आरोपित दुवै जनालाई बोलायो । त्यसक्रममा दुई पक्षबीच छलफल पनि भयो ।

उनीहरुको बीच छलफल भइरहँदा परिसरमा कार्यरत एक अधिकारीलाई दुईमध्ये एकजनाप्रति शंकास्पद लाग्यो । ‘लामो समयदेखि यहाँ काम गरिरहेका एक जना जुनियर अधिकृतलाई उनी पहिले फरार रहेका व्यक्ति भएको लागेछ’, परिसरका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘त्यसपछि फरार अभियुक्तको सूचीमा हेर्दा दुई मध्येका एक सिधुपाल्चोकका लालकाजी तामाङको नाम भेटियो ।’

प्रहरीले क्राइम रेकर्ड सिस्टम (सीआरएस) मा चेक गर्दा उनको नाम भेटिएको थियो । उनी ०७२ सालमा भएको एउटा चोरीको घटनामा संलग्न रहेछन् ।

त्यसपछि परिसरका अधिकारीहरुले उनलाई नियन्त्रणमा लिई जिल्ला अदालत, काठमाडौंमा पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment