Comments Add Comment

कोशी ब्यारेज छल्न पूर्वपश्चिम राजमार्गको रुट परिर्वतन !

१५ पुस, काठमाडौं । सरकारले पूर्व–पश्चिम राजमार्गको एउटा खण्डमा रुट परिवर्तन गर्ने भएको छ । नेपाल भारत सीमा क्षेत्रमा पर्ने कोशी ब्यारेजलाई छल्ने गरी सप्तरीको कञ्चपनरुपदेखि सुनसरीको पकलीसम्म नयाँ सडक तयार गर्न लागिएको हो ।

हाल पूर्वपूश्चिम राजमार्ग नेपाल भारतको सीमा कोशी ब्यारेज हुँदै अगाडि बढ्छ । अब नेपालकै भूभागमा मात्र पर्ने गरी नयाँ रुटमा राजमार्ग निर्माण गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जानकारी दिएका छन् ।

उनका अनुसार यसका लागि नेपालले सप्तकोशीमा आफ्नै पुल निर्माण गर्नेछ । ‘कोशी ब्यारेजको डेट एक्सपयर भइसक्यो । भोलि आउन सक्ने समस्यालाई हेरेर राजमार्गको एलाइग्नमेन्ट परिवर्तन गरौं भनेर मन्त्रिपरिषदमा प्रस्ताव लैजाँदैछौं,’ महासेठले भने, ‘यो मार्ग बनेपछि पूर्व–पश्चिम राजमार्ग केही छोटिनेछ भने राजमार्गमा भविश्यमा आउनसक्ने खतरा टर्नेछ ।’

वैकल्पिक रुपमा निर्माण हुने मार्गलाई नै राष्ट्रिय राजमार्गको मान्यता दिने मन्त्री महासेठले बताए । नयाँ सडक बनेपछि पनि कन्चपनरुपदेखि सुनसरीको पकली हाल कायम रहेको राजमार्ग पनि पूर्वपश्चिम राजमार्गकै रुपमा कायम रहनेछ ।
राजमार्गको नयाँ रुट बनाउँदा सप्तकोशी नदी पार गर्न ४ किलोमिटरको पुल बनाउनुपर्छ ।

कन्चनरुपबाट यो सडकलाई भोक्राहमा जोड्ने गरी कोशी टप्पु वन्यजन्तु आरक्ष हुँदै निर्माण गर्ने योजना मन्त्रालयको छ छ । यो सडक निर्माण गर्न करि २२ अर्ब खर्च लाग्ने सडक विभागका एक अधिकारीले अनलाइनखबरलाई बताए । उनका अनुसार पुल बनाउन मात्रै ७/८ अर्ब रुपैयाँ खर्च हुन्छ ।

नयाँ सडक चार लेनकै बनाउने योजना छ । भौतिक पूर्वाधार मन्त्रालयका प्रवक्ता शिवहरी सापकोटा नयाँ राजमार्ग निर्माण गर्दा जग्गा अधिग्रहण गर्नुपर्ने बताउँछन् ।

हाल पकलीस्थित कान्छीचोक, नहदा, चतरा, कोशीपुल, उदयपुरको वेलका नगरपालिका हुँदै सप्तरीको कन्चरुप नगरपालिकाको रुपनगरमा निस्किने अर्को सडक निर्माणधीन छ । चतरा नजिकै कोशीमा पुल पनि बनिसकेको छ तर, सरकारले त्यसलाई बेवास्ता गरेर नयाँ सडक निर्माणको योजना बनाएको हो ।

सप्तरीको कञ्चनरुपबाट पूर्वपश्चिम राजमार्ग छाडेर भित्रबाट छिरेको बाटो एकैचोटी राजमार्गको पकलीमै पुग्छ । यस सडकखण्ड अन्तर्गत पर्ने सुनसरी र उदयपुरको सीमाना सप्तकोशीमा पुल समेत निर्माण सम्पन्न भइसकेको छ ।

एसियाली विकास बैंक (एडीबी) को २ अर्ब ५२ करोड ७७ लाख ऋण अनुदान र सरकारको २ अर्ब ४५ करोड ५७ लाख गरी कूल लागत ४ अर्ब ९८ करोड ३४ लाखमा यो सडक निर्माण हुँदैछ, जसलाई कालिका कन्ट्रक्सनले बनाइरहेको छ ।

त्यस क्षेत्रका स्थानीयबासीले यही सडकलाई राष्ट्रिय राजमार्ग घोषणा गर्नुपर्ने माग गरिरहेका छन् तर, सरकार भने त्यसमा सहमत छैन । अब यो सडकभन्दा केही तलबाट नयाँ राष्ट्रिय राजमार्ग बनाउने योजनामा सरकार छ ।

२०६५ सालमा सप्तकोशी नदीमा आएको बाढीले राजमार्गको विभिन्न खण्डमा क्षति पुर्‍याएको थियो । बाँध भत्किएर सुनसरी क्षेत्रका धेरै घरखेत बगाएको थियो । त्यही बेला प्रचण्ड नेतृत्वको सरकारले वैकल्पिक सडक बनाउने निर्णय गरेको थियो ।

तर, अहिले मन्त्रालयले बनिरहेको सडकलाई छाडेर अर्को प्रस्ताव अघि सार्दा स्थानीय बासिन्दा असन्तुष्ट देखिएको सडक विभागका एक अधिकारीले बताए ।

कोशी ब्यारेज सन् १९६२ मा भारत कोलकाताको ‘जोसेफ एण्ड कम्पनी लिमिटेड’ कम्पनीले निर्माण गरेको हो । त्यतिबेला यसको आयु ५० वर्ष तोकिएको थियो । त्यस आधारमा ब्यारेजको आयु सकिएको पनि ६ वर्ष भइसकेको छ ।

कोशी ब्यारेजमा ५६ वटा ढोका छन् । तर, ढोका खुला गर्ने अधिकार भारतसँग रहेका कारण बाढीले नेपाली क्षेत्र वर्षेनी डुवानमा पर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment