
१४ फागुन, विराटनगर । बम विस्फोट घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेतालाई अदालतले छाडेकै दिन प्रहरीले पक्राउ गरेको छ ।
भारतीय दूतावासको सम्पर्क कार्यालय विराटनगरमा गत वर्ष बम बिस्फोट गराएको आरोपमा आइतबार पक्राउ परेका मोरङका पूर्वइञ्चार्ज जितेन्द्र महरालाई जिल्ला अदालत मोरङले साधारण तारेखमा छाडेकै दिन प्रहरीले पक्राउ गरेको हो ।
२०७४ वैशाख ३ गते भारतीय दूतावासको सम्पर्क कार्यालयाको पश्चिम पट्टीको पर्खालमा कुकुर बम बिस्फोट भएको थियो । बम बिस्फोट घटनामा प्रहरीले महरासहितको समूहलाई प्रतिबादी बनाएर मुद्धा दायर गरेको थियो ।
बम बिस्फोट घटनामा फरार रहेका महरालाई काठमाडौंमा विप्लव समूहले गराएको बिस्फोटमा एक जनाको मृत्यु भएपछि आइतबार पक्राउ गरिएको थियो ।
मंगलबार महरालाई जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।
अदालतबाट छुटै लगतै महरालाई मोरङको पथरी स्थित हरियाली सामुदायिक वनमा बिस्फोट गराएको घटनामा पक्राउ गरेको प्रहरीले जनाएको छ । वनमा २०७४ चैत ११ गते सुतली बम बिस्फोट भएको थियो ।
बिस्फोटमा संलग्नता देखिएपछि महरालाई अनुसन्धानका लागि पुनः नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
कारबाहीमा परेका थिए महरा
सशत्र संघर्ष गरेर आएको प्रचण्ड नेतृत्वको माओवादी हुँदै मोहन बैद्य किरण नेतृत्वको पार्टीमा जोडिएका महराले विप्लव नेतृत्वमा नयाँ पार्टी बनेपछि मोरङ जिल्ला इञ्चार्जको जिम्मेवारी पाएका थिए ।
तर, उनलाई पछिल्लो समय गलत आचरण भन्दै पार्टीले आन्तरिक कारबाही गरेको स्रोतको भनाइ छ ।
विप्लवका एक नेताका अनुसार कारवाहीमा परेका महरा पछिल्लो समय पार्टीको कुनै पदमा छैनन् ।
प्रतिक्रिया 4